रामपुरमा लैङ्गिक हिंसामा परेका विपन्नलाई सहयोग

0
635

सुशीला रेग्मी
रामपुर (पाल्पा), २१ असार
रामपुर नगरपालिकाले लैङ्गिक हिंसामा परेका विपन्नलाई सहयोग गरेको छ । स्थानीय तहमा गतवर्ष नै लैङ्गिक हिंसा निवारण कोष नियमावली निर्माण गरेको नगरपालिकाले नगरमा परेका निवेदनको छानबिनको आधारमा विभिन्न वडाका सात जना लैङ्गिक हिंसा पिडित व्यक्तिलाई कोषबाट रकम सहयोग गरिएको हो । नियमावली कार्यान्वयनमा तत्काल राहत तथा उद्धार समिति निर्माण गरेर त्यस्ता प्रकृतिका लैङ्गिक हिंसामा परेका विपन्न समुदायलाई सहयोग गर्ने गरी कोष संचालनमा आएको हो ।
लैङ्गिक हिंसा निवारण कोष संचालन नियमावली बमोजिम हिंसामा परी विभिन्न अवस्थाले अन्यको साहारामा रहेका तथा घरखर्च चलाउन समस्या भएका उनीहरुलाई स्वास्थ्य उपचार तथा दैनिक उपभोग्य वस्तु खरिदको लागि नगद रकम सहयोग गरेको नगरपालिका तत्काल राहत तथा उद्धार समितिका संयोजक तथा नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो ।
तत्काल राहत तथा उद्धार समितिले रामपुर नगरपालिका वडा नं ८ बस्ने मतिसरा दमैलाई औषधी उपचार सहयोग स्वरुप नगद १० हजार, रामपुर ५ निवासी पदं कुमारी श्रेष्ठलाई खाद्यान्न व्यवस्थापनमा १० हजार, रामपुर नगरपालिका ४ बस्ने गोपी दमैलाई खाद्यान्न व्यवस्थापन र औषधी उपचारमा १० हजार रकम नातीनातीनाको लालनपालन गर्दै आउनुभएकोमा बालबालिकालाई पोषणयुक्त खानेकुरामा चार हजार गरी १४ हजार रकम वितरण गरिएको छ ।
त्यस्तै रामपुर नगरपालिका वडा नं ४ कै हुमाकान्ती दमेनीलाई खाद्यान्न व्यवस्थापन तथा औषधी उपचारमा १६ हजार, रामपुर ३ बस्ने भेमकुमारी न्यौपानेलाई खाद्यान्न व्यवस्थापन र बालबालिकालाई पोषणयुक्त खानेकुरा गरेर १४ हजार रूपैयाँ सहयोग गरिएको महिला बालबालिका तथा समाज कल्याण शाखाका सिर्जना रेग्मीले जानकारी दिनुभयो ।
त्यस्तै रामपुर नगरपालिका ५ बस्ने डिलमाया घर्तिलाई खाद्यान्न व्यवस्थापनमा १० हजार रुपैयाँ र रामपुर ४ बस्ने ठगिसरा सोमैलाई औषधी उपचार सहयोग, खाद्यान्न व्यवस्थापन र कानुनी सहायता बापत गरी २६ हजार रुपैयाँ सहयोग गरिएको हो ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले समस्या भोग्न बाध्य नागरिकको तत्कालको हितको लागि नगरपालिकाले सहयोग गरेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले हिंसा सहन बाध्य नागरिकको अवस्थामा केही सहज तुल्याउन हिंसा निवारण कोषले सहयोग गरेको बताउदै प्राप्त रकमको सही सदुपयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रमको संचालन समितिका सदस्य–सचिव पुजा परियारले गर्नुभएको हो ।

SHARE