सूर्य सुनार, गुल्मी असार २०
नेपाल शिक्षक महासंघ रेसुङ्गा नगरपालिका गुल्मीले रेसुङ्गा नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । आइतबार रेसुङ्गा नगरपालिकाकी उपप्रमुख सिता भण्डारीलाई बालमन्दिरमा एक कार्यक्रमका बिच ज्ञापन पत्र बुझाएको हो । नेपाल शिक्षक महासंघ रेसुङ्गा नगरपालिका गुल्मीले रेसुङ्गा नगरपालिकाका सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाई योग्यताको आधारमा पारिश्रमिक दिनुपर्ने जस्ता विषयमा ज्ञापन पत्र बुझाएको हो ।
नेपाल सरकारले आर्थिक वर्ष ०७८÷०७९ को बजेट मार्फत सामुदायिक विद्यालयमा कार्यरत विद्यालयका कर्मचारी, लेखापाल, कार्यालय सहयोगी, बालविकास शिक्षकको पारिश्रमिक स्थानीय सरकार संगको समन्वयमा उपलध्ध गराउने भनिएकोमा संघिय सरकारले ताकेबमोजिमको न्यूनतम पारिश्रमिक तथा पद, तह, योग्यता र क्षमताका आधारमा थप पारिश्रमिक गराउन ध्यानकर्षण गराएको शिक्षक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष प्रेमनारायण भण्डारीले बताउनुभएको छ ।
रेसुङ्गा नगरपालिका उपप्रमुख सिता भण्डारीले शिक्षकहरुले उठाएका माग राम्रो भएको बताउदै यस बारे कार्यपालिकाको बैठकमा थप छलफल गरी माग सम्बोधन तर्फ लाग्ने बताउनुभयो ।
साथै नगरपालिकाले कुनै हालतमा भएपनि उनीहरुको श्रमको आधारमा पारिश्रमिक उपलध्ध नगराए नगरपालिकामा धर्ना बस्ने र थप आन्दोलनका कार्यक्रम संचालन गरिने बताइएको छ ।