कालीगण्डकी गाउँपालिकाले सबै नागरिकको स्वास्थ्य बिमा गरिदिने

0
755

असार ०९, २०७८: स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले नागरिकको स्वास्थ्य बिमा गर्ने भएको छ। आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा गाउँपालिकाभरिका सबै नागरिकको स्वास्थ्य बिमा गर्ने उल्लेख छ।

आगामी आर्थिक वर्षदेखि उक्त कार्यक्रम कार्यान्वयनमा आउने छ। पाँचजनाको एक परिवारका लागि बिमा खर्च ३ हजार ५०० लाग्ने छ। उक्त रकम गाउँपालिकाले ब्योहोर्ने भएको हो। पहिलो चरणमा अति विपन्न, दलित, अल्पसंख्यक, सिमान्तकृत, एकल महिला, हाल कोरोनाबाट मृत्यु भएका र संक्रमितको परिवारको बिमा गरिने गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए।

गाउँपालिकामा करिब पाँच हजार घरपरिवार छन्। सबैको बिमा गर्दा करिब दुई करोड रुपैयाँ लाग्नेछ। बिरामी पर्दा १० हजार तिरेर उपचार गर्न नसक्ने कतिपय परिवारले बिमापछि निःशुल्क एक लाखसम्मको उपचार पाउने थापाले बताए।

यस्तै, गाउँपालिकाले क्यान्सर, मुटु, मिर्गौला, सिकलसेल एनिमिया, स्पाइनल इन्जुरी, पार्किन्सन, अल्जाइमर र हेड इन्जुरीको उपचारका लागि अति गरिब परिवारलाई आर्थिक सहयोग गर्ने योजना ल्याएको छ। पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर लगायतका विभिन्न रोगका विशेषज्ञ सेवासहित घुम्ती शिविर सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिइने छ।

गाउँपालिकाले सबै गाउँवासीको विद्युत् महसुल समेत तिरिदिने भएको छ। न्यूनतम अर्थात् २० युनिटभन्दा तल आउने बिलको गाउँपालिकाले भुक्तानी दिने अध्यक्ष थापाले बताए। यो नीति चालू आर्थिक वर्षदेखि लागू भएको हो। आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने छ। थाहाबाट

SHARE