
सूर्य सुनार
असार८,२०७८ गुल्मी :गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको आठौँ गाउँसभामा उपाध्यक्ष मिना भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्र, कृषि, पर्यटन विकास र रोजगारी सिर्जना प्रमुख प्राथमिकतामा राखि नीति तथा कार्यक्रम ल्याएको छ । बहुवर्षीय योजनाहरु, गौरवका योजनालाई निरन्तरता दिँदै विदेशबाट कोरोनाको कारण स्वदेश आएका युवाहरुलाई सिपको आधारमा रोजगारी दिइने, सम्पदाहरुको दिगो विकासमा ध्यान दिने, गाउँपालिकालाई२०७८÷७९ मा खरको छाना मुक्त गर्ने, पहल गर्ने नीति तथा कार्यक्रम उल्लेख गरिएको छ ।
किसानहरुको बजार सुनिश्चित गर्न अर्गानिक उत्पादन प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, कृषि, स्थानीय कच्चा पदार्थमा आधारित साना तथा घरेलु उद्योग र पर्यटन प्रवद्र्धनसगं विषेश जोड दिई रोजगारी सिर्जना गर्न प्रत्येक वडामा एक वडा एक पहिचान कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । त्यस्तै गाउँपालिकाका प्रत्येक वडामा मोटरबाटो निर्माण गरिने, गाउँपालिका संग विद्यालय कार्यक्रम ल्याइएको , संचारकर्मी संग गाउँपालिका कार्यक्रम ल्याइएको, गाउँपालिकाको वृत्त चित्र निर्माण गर्ने र नागरिकको स्वास्थ्य उपचारमा गाउँपालिकाले विषेश प्राथामिकता राखेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले बताए ।
गाउँपालिका अध्यक्ष अशोककुमार थापालाई स्वास्थ्यमा समस्या भएपछि उनी कार्यक्रममा उपस्थित हुन सकेनन । तर उनले भिडियो कन्फोरेन्स मार्फत कार्यक्रमलाई सम्बोदन गर्दै शुभकामना व्यक्त गरेका थिए ।











