असार २,२०७८ गुल्मीः इश्मा गाउँपालिका वडा नम्बर एक र दुइका स्थानीयलाई बर्षायाम सुरु हुन् थालेपछि चिन्ताले सताउन थालेको छ ।
छल्दीखोला किनारमा घर भएका उनीहरुलाई खोलाको गिटी बालुवा अत्याधिक मात्रामा निकाल्दा चिन्ताले सताउन थालेको स्थानीय चुराबहादुर मुखियाले बताए । बस्ती जोखिममा रहेकाले यसलाई नियन्त्रण गर्नका लागी कसैले चासो नदिएको उनको गुनासो छ ।
खोला अत्याधिक मात्रामा दोहन हुँदा खेतमा जाने कुलो भन्दा झन्डै पाँच देखि सात मिटर तल खोला हुनु र कुलो नै सत्यनास हुनु दुःखद भएको ७४ बर्षीय जीबलाल खनालको पनि गुनासो छ । खेतमा अहिले रोपाइँ गर्न नपाइने चिन्ता र खोला दोहनले खेत नै कटान गरिदिने उनमा चिन्ता छ ।
खेती योग्य जमिन र बस्ती बचाउनमा कसैले वास्ता नगरेको खनालका ४० बर्षीय छोरा खिमानन्दको पनि गुनासो छ । त्यस क्षेत्रमा करिब १० रोपनी खेत भएकाले रोपाइँ गर्न नपाइ खेत बाँझै हुने हो की भन्नेमा उनलाई चिन्ता छ ।
खेतीयोग्य जमिन र बस्ती बचाउन लाग्नुपरो भन्दा गाउँपालिकाले निर्माण ब्यबसायीले गरिदिन्छ भन्ने र निर्माण ब्यबसायीले गाउँपालिका भन्ने गरेको उनको गुनासो छ ।
प्रतिबेदन एकातिर ,खोला दोहन अर्कातिर
इश्मा गाउँपालिकाले २०७७ असोजमा गरेको प्रारम्भिक वाताबरणीय प्रभाब मुल्याङकन प्रतिबेदनमा खोला किनारबाट ०.५ मिटर गहिराई सम्मबाट ढुङगा ,गिटी बालुवा निकाल्न पाउने ब्यबस्था छ ।
निर्माण ब्यबसायीहरुले सम्भौता विपरीत पाँच गुण भन्दा बढी खोला उत्खनन गरेको गाउँपालिकाका प्राबिधिक झलक खत्रीले बताए ।
यस्तै नियम अनुसार खोला किनारको पाँचसय मिटर वरपर उत्खनन गरिएको नदीजन्य पदार्थ डम्पिङ गर्न र उत्खननमा डोजर ,स्काभेटर प्रयोग गर्न पाइदैन । तर यहाँ खोला किनारमै डम्पिङ र ठूला ठूला डोजरहरु र स्काभेटर प्रयोग गरी नदी जन्य सामग्री उत्खनन भइरहेको छ ।
बस्ती र खेतीयोग्य जमिन जोखीममा परेको उजुरी छैन
इश्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बिष्टले बस्ती र खेतीयोग्य जमिन जोखीममा परो भनेर पालिकामा कसैले उजुरी नगरेको बताए । आफूहरुले आइइई गरेर ठेक्का लगाएको दाबी गर्दै नियम विपरीत गरेको भए ठेकेदार नै जवाफदेही हुनुपर्ने उनको भनाई छ ।
बस्ती र खेतीयोग्य जमिन जोखीममा भए सम्बन्धित ठेकेदार नै जवाफदेही बन्नुपर्ने उनको दाबी छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपाचन्द्र भट्टराइले कुनै स्थानीय तहहरुले मापदण्ड बिपरीत खोला दोहन भयो भनेर जानकारी नगराएकाले समस्या भएको बताए ।
स्थानीय तहहरुले लगाएको ठेक्कामा उहाँहरुले नियमन गर्नु पर्ने र नसके प्रहरी प्रशासनलाई खबर गर्नुपर्ने उनको भनाई छ । अबदेखि आफूले जिल्लाका कुनै खोला किनारमा ठूला ठूला डोजर र ट्रिपरहरु प्रबेशमा रोक लगाउने बताए ।
गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले सबै अनुगमन र नियन्त्रण गर्ने जिम्मेवारी स्थानीय तहको भएको बताइन् । आवश्यक परे प्रहरी प्रशासनलाई खबर गर्नुपर्नेमा उनको जोड छ ।