तिलाचन पाण्डे
असार१,२०७८गुल्मीः मदन भण्डारी राजमार्ग सडक अन्र्तगतको कल्भर्ट गत बर्षको असार १९ गते स्थानीयहरुले घर र बस्ती जोखिममा रहेको भन्दै तोडफोड गरे ।
सो राजमार्गको इश्मा गाउँपालिका वडा नम्वर एक हस्तिचौर झरना, गुर्वा खोलामा रहेको ह्युम पाइप कल्भर्ट डोजर लगाई तोडफोड गरेको झण्डै एक बर्ष भयोे ।
स्थानीयहरुले घर जग्गा डुवानमा पर्न लागेको भन्दै डोजर लगाई तोडफोड गरेपनि त्यसको नियामक निकायले भने अहिले सम्म निर्माण वा मर्मतमा केही चासो देखाएको छैन् ।
कैयौं पटक त्यस क्षेत्र भएर ओहोर दोहोर गर्ने प्रहरी प्रशासनले पनि आँखा चिम्लेर बस्यो,त्यहीको इश्मा गाउँपालिकाले पनि कुनै चासो देखाएको पाइएन । न त कल्भर्ट तोडफोड गर्नेलाई कारवाही भयो न त कल्भर्ट निर्माण ।
बस्ती डुवानमा पर्न लागेको र खेत नै बगरमा परिणत हुन लागेकाले आफूहरुले कल्भर्ट तोडफोड गरेको स्थानीय रामप्रसाद पाण्डेले बताए ।
‘माथिबाट ठूलो बाढी आयो, घरहरु नै डुवानमा पर्न लागे र खेत पनि बगरमा परिणत हुन लागेपछि कल्भर्ट तोडफोड गरेको उनको भनाई छ ।’
अहिले बर्षायाम सुरु हुन लाग्यो त्यस क्षेत्रमा सवारी आवत जावत गर्नका लागि निकै समस्या छ तर पनि सो कल्भर्ट निर्माण गर्नमा कसैको ध्यान गएको छैन् ।
मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घासले पनि सो कल्भर्ट निर्माणका लागि कुनै चासो देखाएको छैन् । एक बर्षसम्म पनि यसै आँखा चिम्लेर बस्नु दुःखद पक्ष रहेको सरोकारवालाहरु बताउछन् ।
यता योजना कार्यालयका योजना प्रमुख शशांक मिश्राले तत्कालका लागि मर्मत गरी चलाउने सोचमा रहेको बताए । दीर्घकालिन सोचसहित अगाडी बढ्नका लागी बिभाग संग पनि छलफल भइरहेको उनको दाबी छ । कल्भर्ट तोडफोड गर्नेलाई कारवाही हुन्छ की हुदैन भन्ने प्रश्नमा उनले प्रमुख जिल्ला अधिकारी संग छलफल गरेर मात्र भन्न सक्ने बताए ।
यता गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले बिस्तृत रुपमा बुझेर अगाडी बढने बताइन् ।
तत्कालिन तम्घास सिमलटारी कार्यालयलबाट छल्दी खोला देखी १४ किलोमिटर सडक पिचका लागी टेण्डर भएको थियो । कुल १६ करोड ५८ लाख ८० रुपैँयामा सो १४ किलोमिटर सडक पिच भएको थियो । सो सडकको निर्माण एसबिए ,प्यासिफिक ,सुनिल समिर जेभीले २०७६ पुस १६ गते निर्माण सम्पन्न गरेको थियो ।
सोही सडक अन्र्तगतको कल्भर्ट करिब आठ लाख ६२ हजार ८० रुपैयाँमा निर्माण भएको योजना कार्यालय तम्घासका सब इन्जिनियर बिवस बास्तोलाले जानकारी दिए ।