पाल्पाका स्थानीय तहलाई हेफरको रु डेढ करोड सहयोग

0
328

सुशीला रेग्मी
रामपुर (पाल्पा), २९ जेठ :हेफर ईन्टरनेशनल नेपालले कोभिड १९ को महामारीमा जोखिम न्युनिकरणका लागि पाल्पाका विभिन्न पालिकालाई रु एक करोड ४९ लाख रकम सहयोग गरेको छ ।
सहयोग रकम अन्र्तगत शुक्रवार रामपुर नगरपालिका, निस्दी र पूर्वखोला गाउँपालिकालाई एकै पटक रकम हस्तान्तरण गरिएको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा एक कार्यक्रमका बीच तीनवटा पालिकालाई रकम हस्तान्तरण गरिएको हो । रामपुर नगरपालिका, निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिकालाई पन्ध्र÷प्रन्ध्र लाखका दरले पालिका प्रमुखलाई रकम हस्तान्तरण गरिएको हो ।
पाल्पा जिल्लाका दशवटै स्थानीय तहलाई काम गरेको आधारमा र कोभिडको प्रभाव हेरी पुरानो परियोजना, नयाँ परियोजना तथा समुदायको संख्याको आधारमा मापदण्ड निर्धारण गरी राहत रकम हस्तान्तरण गरिएको छ । पाल्पाका रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा, रिब्दिकोट र तिनाउँ गाउँपालिकासंग रु पन्ध्र÷प्रन्ध्र लाखका दरले कार्यक्रम संचालनका लागि पालिकाको कोभिड व्यवस्थापन तथा प्रकोप व्यवस्थापन खातामा रकम पठाइएको हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक अनन्त सिलवालले जानकारी दिए ।
उनका अनुसार प्रोजेक्ट सुरु गरेको माथागढी गाउँपालिकामा रु दश लाख, पहिला नै संस्थाले काम गरेको र सहकार्य भएको बगनासकाली र रैनादेवी छहरा गाउँपालिकामा रु चार लाख ५० हजार ÷ चार लाख ५० हजार सहयोग गरिएको छ ।
तानसेन नगरपालिकामा भने संस्थाले रु चालिस लाख रकम सहयोग गरेको छ । सो रकम नेपालमा संस्थाले वितरण गर्ने सहयोग रकममध्ये पालिकाभरी सबैभन्दा ठुलो रकम हो । पाल्पाको सदरमुकाम भएको र उपचारका निम्ति धेरै स्थानीय सदरमुकाम नै धाउने भएको हुदा स्वास्थ्य उपचारमा सहजता होस् भनी धेरै रकम सहयोग गरेको संस्थाले जनाएको छ ।
मास्क, सेनीटाईजर, खाद्य सामग्री खरिदमा नभई अस्पताल निर्माण, सिलिण्डर खरिदमा लगाउन संस्थाले अनुरोध गरेको छ । रामपुर नगरपालिकामा पछौटेपन उन्मुलन समाज (बेस) नेपाल, निस्दी गाउँपालिकामा जनविकास परिचालन केन्द्र र पूर्वखोला गाउँपालिकामा समाज उत्थान सहयोगी संस्था संगको साझेदारीमा काम गरिनेछ ।
रकम हस्तान्तरण कार्यक्रमका अध्यक्ष तथा रामपुर नगर प्रमुख रमणबहादुर थापाले जोखिम र विपद्को बेला पूर्व तयारीमा ध्यान नदिदा समस्या परिरहेको र आफु र आफ्ना आफन्तलाई समस्या परेपछि पीडाको महसुस हुने गरेको बताउनुहुदै कोरोना महामारीबाट बच्न सर्तक रहन सबैलाई अनुरोध गरे । कोरोनाको महामारी बढ्दै गइरहेको हुदा विकास निर्माणका कामलाई भन्दा पनि स्वास्थ्यलाई प्राथमिकता दिएर काम गर्नुपर्ने समय रहेको हुदा रामपुर नगरपालिका पनि यसमै केन्द्रित रहेको नगर प्रमुख थापाले बताए ।
निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जुन लक्ष्य र उद्धेश्यका साथ सहयोग प्राप्त भएको छ सोही अनुसार काम गर्ने बताए । पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले दोस्रो कोभिडको भेरिएन्ट देखिएपछि पालिकाले विकास वजेटलाई पनि कोरोना रोकथाममा खर्चेर काम गरेको बताए हेफरबाट प्राप्त भएको सहयोग रकम सही ठाउँमा सदुपयोग गर्ने बताए ।
पछौटेपन उन्मुलन समाज (बेस) नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेयले सहभागीलाई स्वागत गर्दै कोभिड नियन्त्रणको लागी स्थायी पूर्वाधार निर्माण गर्न त्यसको आधार तयार पार्नुपर्ने बताए । कार्यक्रमको संचालन रेडा पाल्पाका कार्यक्रम संयोजक प्रेमबहादुर गोदारले गरेका थिए ।
साथै हेफर ईन्टरनेशनल नेपालले देशभरीमा दश करोड ३० लाख रकम सहयोग गरेको छ । जसमध्ये लुम्बिनी प्रदेशमा संस्थाको कार्यक्षेत्र रहेको ३८ पालिकामा पाँच करोड तीन लाख रकम सहयोग गरिने कार्यक्रम छ ।

SHARE