पाल्पामा निषेधाज्ञा लम्बियो

0
236

सुशीला रेग्मी
रामपुर (पाल्पा), २३ जेठ :पाल्पामा जारी निषेधाज्ञाको समय पुनः थप गरिएको छ । जेठ २४ गते सम्म कायम गरिएको निषेधाज्ञालाई एक हप्ता थप गरी ३१ गते सम्मका लागि थप गरिएको हो ।
आईतवार जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार बन्द रहेका वाणिज्य बैंकहरु बिहान ७ वजेदेखि १० सम्म खोलिने भएको छ । अन्य वित्तिय संस्थाका सेवाहरु भने पूर्ण रुपमा बन्द गरिने छ ।
कोभिड विरुद्धको खोप लगाउने स्थान पालिका भित्रका सबै वडामा व्यवस्थापन गर्ने निर्णय समेत भएको छ । खोप ६०–६४ वर्ष भनिएकोमा खोप कम उपलब्ध भएकाले ६२–६४ उमेरका लागि मात्र लगाइने निर्णय भएको समितिले जनाएको छ ।
बैठकको निर्णय अनुसार अत्यावश्यक दैनिक उपभोग्य खाद्य सामग्री दूध, फलफूल, तरकारी, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीका पसलहरु दिनमा एक पटक विहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन गर्न दिइने छ ।
औषधी तथा अत्यावश्यक सेवाहरु भने २४ घण्टा खुल्ने जनाइएको छ । निषेधाज्ञा अवधिभर अति आवश्यक सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइने छ । जसमा एम्वुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुका दाना, दूध, फलफूल, तरकारी, माछा, मासू, पानी,ग्याँस, पेट्रोलियम पदार्थ खुल्ला रहनेछन् ।
यस्तै निर्माण सामग्री बोकेका सवारी साधनहरु, औद्योगिक कच्च पदार्थ बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी जान आउन प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ्य सामग्री बोकेका सवारीहरु, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु, प्रेस पास तथा परिचय पत्र वाहक सञ्चारकर्मीहरुले प्रयोग गरेका सवारी साधनहरु बाहेक पाल्पा जिल्लाभर सञ्चालन हुने यात्रुवाहक, सार्वजनिक तथा निजी सवारी साधनहरुको सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले जारी गरेको आदेश उल्लंघन गरेमा कैद र जरिवाना समेत गर्ने निर्णय भएको छ ।

SHARE