पाल्पामा कोरोना सङ्क्रमित घट्दै

0
34

सुशीला रेग्मी
रामपुर (पाल्पा), १६ जेठ ः पाल्पामा कोरोना सङ्क्रमितको संख्या घट्दै गएको पाइएको छ । पिसिआर र एन्टिजेन परिक्षणका क्रममा पोजेटिभ हुनेको संख्या अहिले कम रहेको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
“एक हप्ताको अवधीमा पिसिआर र एन्टिजेन बिधिबाट गरिएको परिक्षणमा पोजेटिभ रिपोर्ट २० प्रतिशत सङ्क्रमित घटेको पाइएको छ” उहाँले भन्नुभयो । अघिल्लो हप्ता जिल्लामा कोरोना सङ्क्रमितको संख्या ७० प्रतिशतको हाराहारीमा थियो भने अहिले ५० प्रतिशत रहेको स्वास्थ्य अधिकारी पन्थीले बताउनुभयो ।
जिल्लामा हालसम्म पिसिआर प्रबिधिबाट चार हजार पाँच सय ९२ र एन्टिजेन प्रबिधिबाट एक हजार २० गरी जम्मा पाँच हजार ६१२ सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
जिल्लामा संचालित विभिन्न कोभिड अस्पतालबाट आएको रिपोर्ट अनुसार हालसम्म कोरोना सङ्क्रणबाट पाल्पामा ८८ जनाको निधन भएको कार्यालयको तथ्याङ्क छ ।
होम आइसोलेशनमै निधन भएका नागरिकको तथ्याङ्क भने स्वास्थ्य कार्यालय पाल्पामा पालिकाबाट प्राप्त नभएको जनाइएको छ । कतिपय परिवार, आफन्तले कोभिडबाट होम आइसोलेशन र जिल्ला बाहिरका अस्पतालमा ज्यान गएपनि पोजेटिभ खुलासा नगरेको पाइएको छ ।
कतिपयले अझैपनि कोरोनासंग मिल्दोजुल्दो लक्षण देखा परेपनि परिक्षण नगरिकन बसेको पनि पाइएको छ । कोभिड संग मिल्दोजुल्दो लक्षण देखा परेमा अस्पतालमा आउन र स्वास्थ्यकर्मीको निगरानीमा रहन सङ्क्रमितलाई स्वास्थ्यकर्मीको अनुरोध छ ।
पाल्पाको रामपुर, बगनासकाली, तानसेन, माथागढी, पूर्वखोला, रम्भा, रिब्दिकोट, रैनादेवी छहरा लगायतका स्थानमा कोभिड अस्पताल संचालनमा ल्याइएको छ ।

SHARE