गुल्मी अस्पतालाई पत्रकारद्धारा ६० लाख हस्तान्तरण

0
427

जेठ१०,२०७८गुल्मीः गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि पत्रकार महासंघ गुल्मीले गुल्मी अस्पताललाई ६० लाख प्रदान गरेको छ । सोमबार गुल्मी अस्पतालका डाक्टर उत्तम पच्यालाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले ६० लाख बराबरको चेक प्रदान गरेको जिल्ला शाखा गुल्मीका अध्यक्ष टोपलाल अर्यालले जानकारी दिए ।

पत्रकार महासंघ गुल्मीले जिल्लामा अक्सिजनको अभाव नहोस भनेर बैशाख २५ गतेदेखी जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि सहयोग अभियान संचालन गरेको थियो । सोही सहयोग अभियान मार्फत संकलन भएको ६० लाख रुपैयाँको चेक गुल्मी अस्पतालाई पत्रकारहरुले दिएका हुन् । वैशाख २५ गतेबाट सुरु भएको पत्रकार महासघंको अभियानमा जेठ १० गतेसम्म सम्म संकलन भएको ६० लाख रुपैयाँ अस्पताललाई दिइएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका उपाध्यक्ष रेशम कुँवरले जानकारी दिए ।

“जिल्लामा बिरामीहरुले अक्सिजन नपाएका कारण अकालमै ज्यान गुमाउनु नपरोस् भनेर हामीले अक्सिजन अभियान चलाएका हौँ ।” नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष अर्यालले भने, “अक्सिजन सिलिन्डर भर्नेदेखी हामीले अक्सिजन प्लान्टसम्मका लागि आर्थीक रकम संकलन गर्न सफल भएका छौँ ।”
यसअघि महासंघले ५ लाख रुपैयाँ बराबरको २० वटा ठूला भरिएका अक्सिजन सिलिन्डर अस्पतालाई प्रदान गरेको थियो । रकमबाट काम सुरु हुनका लागि मंगलबार टेण्डर आह्वान हुदै छ । ६० लाख रुपियाँको चेक ग्रहण गर्दै पच्याले पत्रकार महासंघ गुल्मीले देशमै नमुना कार्य गरेको भन्दै धन्यबाद ब्यक्त गरे । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको सिङ्गो टिम सहयोग गर्ने सबै देश बिदेशमा रहेका सम्पुर्ण प्रति आभारी रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका सचिव प्रेम सुनारले जानकारी दिए ।

स्वास्थ्य क्षेत्रमा सुधार आउने आशा

नेपालको स्वास्थ्य क्षेत्र बलियो नहुदाँ कोरोना महामारीका कारणले कैयौँले ज्यान गुमाइरहेका छन् । तर, अधिकांशले कोरोना कारण स्वास्थ्य क्षेत्रमा सुधार आउने आशा राखेका छन् ।

गुल्मीमा रहेको गुल्मी अस्पतालमा कोरोनाका बिरामीलाई आइसोलेशनमा मात्र सामान्य उपचार भइरहेका बेला गुल्मी क्षेत्र नं १ का प्रतिनिधी सभा सदस्य एवं पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा ५ बेडको आईसीयू स्थापनाका २ करोड र अक्सिजन प्लान्ट स्थापना गर्न १ करोड गरी कुल ३ करोड रुपैयाँ रुपैयाँ बजेट विनियोजन भएपछि गुल्मी अस्पताल सुविधासम्पन्न हुने अपेक्षा गरिएको हो । त्यसैमाथि पत्रकारहरुद्धारा संकलन भएको ६० लाखले ठुलो राहात मिलेको छ ।

जिल्लामा सुविधासम्पन्न अस्पताल नहुँदा धेरैजना कोरोना लगायत अन्य बिरामी ठूलो रकम खर्चेर बुटवल, पोखरा, काठमाडौं लगायतका शहरमा लैजानुपर्ने बाध्यता रहेको छ । तर, जिल्लामा आईसीयू बेड र अक्सिजन प्लान्ट स्थापना भएपछि ठुलो राहत मिल्ने अपेक्षा गरिएको छ ।

SHARE