
सुशीला रेग्मी
रामपुर (पाल्पा), ८ जेठ :रामपुर अस्पतालमा उपचाररत ७९ वर्षीय ज्येष्ठ नागरिकले कोरोना जितेर घर फर्केकी छन् ।
दश अघि अस्पतालमा उपचारका लागि रामपुर अस्पताल आउनुभएकी रामपुर नगरपालिका वडा नं ३ रजघरा बस्ने केशमाया कंडेलले शनिवार कोरोना जितेर खुशी हुदै घर फर्केकी हुन् । आफ्नो उपचारमा निरन्तर खटेर निको गराउने स्वास्थ्यकर्मीलाई उनले धन्यवाद दिइन ।
“कोरोना पोजेटिभ देखिएपछि सुरुमा धेरै डर लागेको थियो, केही दिन घरमै आइसोलेशनमा बसे, स्वास्थ्यमा थप समस्या आएपछि अस्पताल भर्ना भए, मेरो उपचारमा डाक्टरहरुले धेरै खटेर सन्चो बनाउनुभयो, अहिले म आफुलाई बिरामी हुँ जस्तो पनि लाग्दैन” उनले खुशी हुदै भनिन् ।
कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेशनमा रहेकी कंडेल स्वास्थ्यमा समस्या देखिएपछि दश दिन अघि उपचारका लागि अस्पतालमा आएको र अहिले निको हुदै गएपछि शनिवार घर पठाइएको कोभिड फोकल पर्सन डाक्टर बासुदेव सुवेदीले जानकारी दिए ।
अस्तीदेखी अक्सिजन हटाइएको र स्वास्थ्यमा राम्रो सुधार हुदै गएपछि घर पठाइएको डाक्टर सुवेदी बताउछन् । उनलाई अस्पताल विकास समितिका अध्यक्ष बासुदेव भट्टराई, निमिक्त मेडिकल सुपरीटेण्डेन डाक्टर विजय परियार लगायतले विदाई गर्दै अस्पतालको एम्बुलेन्समार्फत घर पठाइएको हो ।
हाल रामपुर अस्पतालको कोरोना अस्पतालमा पाँच जना बिरामी उपचाररत रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको निमिक्त मेडिकल सुपरीटेण्डेन डाक्टर परियारले बताए ।
कोरोनाका बिरामीलाई नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहन डाक्टर परियारले अनुरोध गरे । रामपुर अस्पतालको कोरोना अस्पतालमा भर्ना भएका बिरामीमध्ये एक जनाको केही दिन अघि ज्यान गएको छ भने एक जनालाई रिफर गरिएको छ ।








