सामुदायिक रेडियो रामपुरलाई स्वास्थ्य सामग्री सहयोग

0
415

सुशीला रेग्मी
जेठ७,२०७८पाल्पाःपाल्पाको रामपुर नगरपालिकामा रहेको सामुदायिक रेडियो रामपुरलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ ।
होराइजन डेण्टल क्लिनिक रामपुरका संचालक तथा ट्राभल डेन्टिस्ट्री नेपालका अध्यक्ष डाक्टर शंकर श्रेष्ठले रामपुर युवा क्लबको समन्वयमा रेडियोमा कोभिडको महामारीमा जोखिम मोलेर निरन्तर काम गर्ने कर्मचारीलाई मास्क र स्यानीटाइजर प्रदान गरेका हुन् ।
रेडियो घरमा एक कार्यक्रमका बीच सामग्री हस्तान्तरण गरिएको हो । रेडियो संचालक समितिका सदस्य सुन्दर कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा डाक्टर श्रेष्ठले कोभिडको जोखिम परिवेशमा रेडियोको प्रसारण सेवामा नियमित कार्यरत कर्मचारीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको बताए ।
यसअघि पनि डाक्टर श्रेष्ठले रामपुर अस्पतालमा संचालित कोरोना अस्पताललाई पिपिई लगायतका विभिन्न स्वास्थ्य सामग्री, विद्यालयहरुमा स्वास्थ्य सामग्री, निशुल्क मुख तथा दन्त शिविर, विपन्न असहाय बालबालिकालाई शैक्षिक सामग्री सहयोग लगायतका कार्यक्रम गरेका थिए ।
रामपुर युवा क्लबका अध्यक्ष छमबहादुर दरैले यस जोखिम परिवेशमा विभिन्न संघ संस्था, विद्यालय बन्द रहेको अवस्थामा रेडियोका कर्मचारीले निरन्तर आफ्नो सेवामा तल्लिन रही नागरिकलाई समाचार सुचना प्रवाह गरेको देख्दा अत्यन्तै खुशी लागेको बताए ।
कार्यक्रमका अध्यक्ष रेडियो संचालक समितिका सदस्य कंडेलले कोरोनाको जोखिम बढ्दै गइरहेको अवस्थामा कर्मचारीलाई सर्तक रहेर स्वास्थ्य सुरक्षा सामग्री अपनाएर काम गर्न अनुरोध गरे । उनले यस्तो जोखिम परिवेशमा रेडियोका कर्मचारीले जोखिम मोलेरै भएपनि समाचार सुचना प्रवाह गरेकोमा धन्यवाद दिए । कार्यक्रमको संचालन रेडियोका सिफ्ट प्रमुख सिर्जना घिमिरेले गरेकी थिइन् ।

SHARE