फोन गर्न तीन घण्टा उकालो चढ्छन् मुड्केचुलावासी

0
319

कात्तिक १५, २०७६ जाजरकोट . डोल्पाको मुड्केचुला गाउँपालिका–६ का लेखबहादुर बुढा आफन्तसँग फोन सम्पर्क गर्न तीन घण्टा उकालो कोठाना लेक चढ्छन्। आफन्तको खबर वुझ्न र घरको कुरा जानकारी गराउनका कोठाना लेक चढ्छन्। ‘मजस्तै यहाँका मानिसहरु फोन गर्न तीन घण्टा हिमाल चढ्नैपर्ने बाध्यता छ,’ उनले दुखेसो पोखे, ‘के गर्नु रु आफन्तको खबर सुन्न मन लाग्छ।’ मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाही पनि कार्यालयलगायतका कामका लागि फोन गर्नु परे यही लेकमा पुग्ने गरेको बताउँछन्। ‘दैनिक फोनमा धेरै काम पर्छ,’ उनले भने, ‘त्यसैले कोठाना डाडामा पुग्नु वाध्यता छ।’ फोन नभएकाले स्थानीय सरकारका कामदेखि प्रहरी चौकीमा समेत सूचना, आदानप्रदान गर्न मुस्किल भएको छ। अग्लो हिमाल र अग्ला डाँडामा रहेको ठूला रुखको टुप्पोमा गएपछि त्रिपुराकोटमा रहेको टावरले सामान्य काम गर्ने नर्कुका सोमराज शाहीले बताए। फोन नहुँदा कुनै पनि काम परे हिँडेर गई खबर गर्नु परेको छ। जाजरकोटसँग सिमाना जोडिएको मुड्केचुला गाउँपालिका जुम्लाको पनि सीमाक्षेत्र हो। यस क्षेत्रबाट सदरमुकाम जान दुई दिन लाग्ने गर्दछ। मुड्केचुला गाउँपालिकामा नेपाल टेलिकमको मोबाइल फोन जसोतसो चल्थ्यो। तर, नेपाल दूरसञ्चार प्राधिकरण र चिनियाँ स्याटलाइट कम्पनी डिस्याटबीच भएको सम्झौता सकिएपछि चिनियाँ पक्षले स्याटलाइट बन्द गर्दा मुड्केचुला गाउँपालिका र काईके गाउँपालिकामा सञ्चार सेवा पूर्णरुपमा बन्द भएको छ। गत असोज २५ देखि बन्द सेवा अझै सञ्चालन हुँदै छाँटकाट नभएको स्थानीयको गुनासो छ। सेवा बन्द भएसँगै यहाँका करिब १५ हजार नागरिक सञ्चार सम्पर्कविहीन भएका छन्। चीनको डिस्याट कम्पनीसँगको सम्झौता सकिएको कारण बन्द भएको र अब केन्द्रीय कार्यालयको निर्णय अनुसार नै सेवा सञ्चालन हुने दूरसञ्चार कार्यालय डोल्पाका निमित्त प्रमुख नवराज भट्टराईले बताए। मुड्केचुला गाउँपालिकाका लागि ल्याइएको नेपाल टेलिकमका सामग्रीहरु रुकुमको त्रिवेणीमा करिव दुई वर्षदेखि थन्किएको छ। भारतीय कम्पनीले जाजरकोटलगायत डोल्पाका अधिकांश ठाउँमा नेपाल टेलिकम टावर निर्माणको जिम्मा लिएको छ। तर, बेलैमा काम नगर्दा समस्या हुँदै आएको गाउँपालिका अध्यक्ष शाहीले बताए। पटक पटक ताकेता गरे पनि टावर निर्माण कम्पनीले नटेरेको उनको भनाइ छ।थाहाबाट

SHARE