पाल्पाका सबै पालिकामा कोरोना अस्पताल तयार

0
334
फाइल तस्बिर

सुशीला रेग्मी
रामपुर(पाल्पा),२७ वैशाखःपाल्पा दशवटै स्थानीय सरकारले कोभिड १९ सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै अक्सिजन सहितको कोरोना अस्पताल तयार पारी संचालनमा ल्याएका छन् ।
कोरोना सङ्क्रमित बिरामीले अस्पतालको शैया नपाएर मृत्युवरण गरेको खबर देशैभर बढ्न थालेपछि जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले स्वास्थ्यकर्मी, अक्सिजन, स्वास्थ्य सामग्री सहितको कोरोना अस्पताल निर्माण गरी संचालनमा ल्याएका हुन् ।
रामपुर नगरपालिकाले तीन स्थानमा पाँच÷पाँच शैयाको गरी पन्ध्र शैयाको अक्सिजन सहितको कोरोना अस्पताल तयार पारेको छ । वडा नं १ स्थित गाँडाकोट स्वास्थ्य चौकी, वडा नं ९ जब्गादी स्थित टङ्कनाथ स्मृति भवन र १० गेझा स्थित भानुभक्त माविमा पाँच÷पाँच शैयाको कक्ष तयार गरिएको आइसोलेशन व्यवस्थापन तथा सञ्चालन समितिका संयोजक हिमाल मल्लले जानकारी दिनुभयो ।
त्यसैगरी रामपुर अस्पतालमा दश शैयाको अक्सिजन सहितको आइसोलेशन कक्ष तयार पारिदैछ । तत्कालका लागि तयार पारिएका तीन स्थानमा तीन÷तीन वटा अक्सिजनको व्यवस्था गरिएको छ ।
नगरपालिकाले पचास वटा ठुला सिलिण्डर अक्सिजन व्यवस्थापन गर्दैछ । हाललाई भने वीस सिलिण्डर अक्सिजनको व्यवस्था छ । यसैगरी रामपुर अस्पतालले आफ्नै व्यवस्थापनमा दश शैयाको अक्सिजन सहितको आइसोलेशन कक्ष तयार पारेको अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन डाक्टर विजय परियारले जानकारी दिनुभयो ।
रम्भा गाउँपालिकाले तत्कालका वडा नंं ५ ताहँुमा पाँच शैया र वडा नंं १ हँुगीमा पाँच शैया गरी दश शैयाको कोभिड अस्पताल संचालनमा ल्याएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि पालिकाले जोखिमयुक्त क्षेत्रमा शिल गरेको छ । रम्भाका पाँचवटै वडामा कम्तिमा वीस÷वीस शैयाको अक्सिजन सहितको आइसोलेशन कक्ष तयार पारिने गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।
रैनादेवी छहरा गाउँपालिकाले वडा नं ४ स्थित छहरामा दश शैयाको कोभिड अस्पताल तयार पारी संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिनुभयो । यस पालिका पाल्पा जिल्लाका दश पालिका मध्ये कोरोना सङ्क्रमणको दरमा दोस्रो स्थानमा पर्दछ ।
पुर्वखोला गाउँपालिकाले दश शैयाको कोभिड अस्पताल संचालनमा ल्याएको छ । त्यस्तै निस्दी गाउँपालिकाको वडा नं ५ स्थित ढुंगानावेशीमा अक्सिजन सहितको पाँच शैयाको आइसोलेशन कक्ष तयार पारिएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु बताउनुहुन्छ ।

तिनाउँ गाउँपालिकाले वडा नंं २ दोभान स्थित दोभान माविमा दश शैयाको कोभिड अस्पताल निर्माण गरी स्वास्थ्यकर्मी, खानपान, विभिन्न स्वास्थ्य उपचार सामग्री सहितको प्रबन्ध गरी संचालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ति मगरले बताउनुभयो ।
बगनासकाली गाउँपालिकाले वडा नंं २ स्थित पोखराथोकमा दश शैयाको कोरोना अस्पताल संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले पचास वटा अक्सिजन सिलिण्डर खरिद गरिदैछ । यस गाउँपालिकाले बिरामीलाई स्वास्थ्य उपचारमा सहजता ल्याउन घर घरमा पुगेर औषधी उपचार सेवा दिदै आइरहेको छ ।
रिब्दिकोट गाउँपालिकाले पाँच शैयाको कोभिड अस्पताल संचालनमा ल्याएको छ भने पचास शैयाको अक्सिजन सहितको आइसोलेशन कक्ष तयार पारेको छ । सङ्क्रमित बिरामीको मनोबल बढाउन घरमै पुगेर जानकारी लिने काम भइरहेको र अप्ठ्यारो परेमा कोभिड अस्पताल सम्म लैजाने गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसी बताउनुहुन्छ ।
माथागढी गाउँपालिकाले वडा नं ४ मा पन्ध्र शैयाको अक्सिजन सहितको कोरोना अस्पताल संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताउनुभयो ।
“अस्पताल पनि बिरामीले भरिदा शैया नपाएर अकालमै मृत्युवरण गर्नु परेको अवस्था छ, पालिकाले स्वास्थ्यकर्मी, विभिन्न स्वास्थ्य सामग्रीको प्रबन्ध गरी अस्पताल संचालनमा ल्याएको छ, सङ्क्रमित बिरामीको दर बढ्दै गएको खण्डमा थप शैया तयार पार्नेछौँ” अध्यक्ष मगरले भन्नुभयो ।
तानसेन नगरपालिकाले भने जिल्ला अस्पताल पाल्पामा तीस शैयाको अक्सिजन सहितको कोराना अस्पताल निर्माणको काम गरिरहेको नगर प्रमुख अशोककुमार शाही बताउनुहुन्छ । जिल्ला सदरमुकाम तानसेनमा कोरोनाका बिरामीको दर पनि बढ्दो रहेको छ ।–––

SHARE