पाल्पामा पनि शुक्रबारदेखि एक हप्ता निषेधाज्ञा

0
352

बैशाख १५,२०७८ पाल्पा: पाल्पामा एक हप्ता निषेधाज्ञा लगाइने भएको छ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को महामारी पाल्पामा पनि ह्वात्तै फैलिएपछि यसको रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञा लगाइने भएको हो। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको छ।

वैशाख १७ गते शुक्रबार राति १२ बजेदेखि २४ गते राति १२ बजेसम्म जिल्लाभर लागु हुने गरी निषेधाज्ञा लगाउने निर्णय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए।

निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन पाउने छैनन्। एम्बुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुपक्षीका दाना, दूध, फलफूल, तरकारी, माछा मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ निर्माण सामग्री, औद्योगिक कच्चा पदार्थ, चिकित्सक तथा स्वास्थ्यकर्मी ड्युटी जानआउन प्रयोग गर्ने, औषधि तथा स्वास्थ्य सामग्री, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सवारी साधन सञ्चालन हुन पाउने छन्।

यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन हुन नपाउने प्रजिअ पाण्डेले बताए। पाल्पा जिल्ला भएर अन्य जिल्ला जाने सवारी साधनले पाल्पाका कुनै पनि ठाउँमा यात्रु चढाउन वा ओराल्न पाउने छैनन्।

खाद्य पसल विहान ६ बजेदेखि ११ बजे खुला रहने छन्। अन्य कुनै प्रकारका पसल खोल्न पाइने छैन्। औषधि पसल २४ सै घण्टा खुला रहने छ। स्वास्थ्य, सुरक्षा, संचार, विद्युत, खानेपानी, दमकल, बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने सेवाबाहेक सरकारी तथा गैरसरकारी कार्यालय तथा निकायबाट प्रदान गरिने सबै प्रकारका सेवा बन्द हुने उनले बताए।

SHARE