रामपुरमा ज्येष्ठ नागरिक मिलन केन्द्र बन्ने

0
363

सुशीला रेग्मी
वैशाख ८,२०७८ पाल्पा :पाल्पा रामपुरको ऐतिहासिक, धार्मिक, पर्यटकिय क्षेत्र रामघाटमा ज्येष्ठ नागरिक बसोबासका लागि ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण कार्य सुरु गरिएको छ । रामपुर नगरपालिका वडा नं ५ स्थित कालीगण्डकीको रामघाटमा निर्माण हुन लागेको केन्द्रको बुधबार एक कार्यक्रमका बिच शिलन्यास गरिएको छ ।
लक्ष्मीनारायण गुठी संचालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनालले नवनिर्मित ज्येष्ठ नागरिक मिलन केन्द्र भवनको शिलन्यास गरे ।
प्रदेश सभा सदस्य खनालले ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरेर उनीहरुको थप सुरक्षा र सम्मानको निम्ति समितिले गरेको कार्य धेरै महत्वपूर्ण रहेको बताउँदै समयमा नै भवन निर्माण कार्य सम्पन्न गर्न निर्माण समितिलाई अनुरोध गरे ।
साथै उनले रामपुर नगरपालिका भित्र थु्रपै पर्यटकिय, धार्मिक, ऐतिहासिकस्थल रहेपनि रामघाटको महिमा र महत्व चर्चित रहेको बताउदै यस क्षेत्रलाई विभिन्न किसिमले पर्यटन विकास गर्न जरुरी रहेको बताए ।
ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणका लागि यस आर्थिक वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत २५ लाख वजेट विनियोजन भएपछि निर्माण कार्य सुरु गरिएको हो ।
आगामी असार मसान्त भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ छ कोठा, एक हलसहित दुई तलाको भवन निर्माण गरिदैछ । माथिल्लो तलामा हल रहनेछ भने तल्लो तलामा प्राथमिक स्वास्थ्य उपचार कक्ष, खाजा नास्ता खाने ठाउँ निर्माण गरिनेछ । ढल्कदो उमेरमा मनलाई आनन्दित पार्न र साथीसंग दुख सुखका कुराकानी गरेर दैनिकी बिताउनका लागी मिलन केन्द्रको भवन निर्माण गर्न लागेको गुठीका अध्यक्ष रेग्मी बताउछन् ।
त्रेतायुगमा भगवान् रामचन्द्रले बनवास जाने क्रममा रामघाटमा आएर स्नान गरेको हुदा यस क्षेत्रलाई कालीगण्डकीवेशीमा बिशेष महत्वका रुपमा लिने गरिन्छ । रामघाटमा ज्येष्ठ नागरिक मिलन केन्द्र बन्ने भएपछि स्थानीयमा खुशीयाली छाएको छ ।
कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले ज्येष्ठ नागरिक मिलन केन्द्रको भवन निर्माणका लागि पहिला जग्गा व्यवस्थापन गर्न समस्या परेपछि रामपुर नगरपालिका वडा नं ५ बेझाड बजारमा रहेको राधाकृष्ण मन्दिरमा नगरपालिकाले विभिन्न सामग्रीको बन्दोबस्त सहित मिलन केन्द्र स्थापना गरिदिएको बताइन् ।
भवन निर्माण सम्पन्न भएपछि राधाकृष्ण मन्दिरमा रहेको मिलन केन्द्र रामघाटमा सार्ने योजना रहेको बताउदै नगर उपप्रमुख आचार्यले केन्द्र, प्रदेश र स्थानीय तहको सरकारबाट विनियोजित वजेटले रामपुरको विकासमा टेवा पुग्ने, ज्येष्ठ नागरिक मिलन केन्द्रका लागि केन्द्र सरकारबाट प्राप्त वजेटमा रामपुर नगरपालिकाले दश प्रतिशत रकम विनियोजन गर्ने बताइन् ।
कार्यक्रममा शहीद बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष देवराज ढकाल, रामपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष हिमाल मल्ल, वडा नं ६ का वडा अध्यक्ष हुमनाथ न्यौपाने, नेपाली कांग्रेस रामपुर नगर सचिव चिरन्जीवी सिग्देल, नेकपा एमाले नगर ईन्चार्ज राजुप्रसाद श्रेष्ठ, पूर्वी पाल्पा सक्रिय आमा समुहका अध्यक्ष रिता गौतम लगायतले रामपुरमा ज्येष्ठ नागरिक मिलन केन्द्र अति आवश्यक रहेको बताउदै रामघाटको ऐतिहासिक, धार्मिक महत्वका सन्दर्भमा चर्चा गरे ।
लक्ष्मीनारायण गुठी संचालन समितिका सदस्य अर्जुनप्रसाद रेग्मीले स्वागत गरेको कार्यक्रमको संचालन ज्येष्ठ नागरिक मिलन केन्द्रका संयोजक दुर्गाप्रसाद पोखरेलले गरेका थिए ।
पूर्वी पाल्पा सक्रिय आमा समुह रामपुर नगरपालिका ५ को व्यवस्थापनमा मन्दिर परिषरमा कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य खनाल र रामपुर नगर उपप्रमुख आचार्यले लक्ष्यवति दिप प्रज्वलन गरे ।
रामनवमी पर्वमा रामघाटमा प्रत्येक वर्ष पुजाआजा हुदै आइरहेको छ । पछिल्लो समय रामघाटलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गरिन थालेपछि अवलोकन गर्न आउने आन्तरिक पर्यटकको चहलपहल पनि बढ्दो छ । रामनवमीका दिन रामघाट परिषरमा निर्माण गरिएको शिव मूर्तिमा बसेर फोटो खिचाउनेको बाक्लै उपस्थिती देखिन्थ्यो ।

SHARE