
सुशीला रेग्मी
वैशाख ७,२०७८ पाल्पाः पाल्पाको रामपुर नगरपालिका वडा नं २ को अत्रबासमा निर्माण हुने दृश्यावलोकन स्तम्भकोशिलन्यास गरिएको छ ।
दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन यमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले शिलन्यास गरिन् । नगर उपप्रमुख आचार्यले दृश्यावलोकन स्तम्भको शिलन्यास गर्नुहुदै निर्माण कार्यलाई सम्पन्न गर्नका लागि नगरले पहिलो प्राथमिकतामा राखी पूर्ण सहयोग गर्ने बताइन् । नगरको एक वडा एक गौरवको योजना अन्र्तगत सुरुवात भएको यस योजना छिट्टै नै सम्पन्न गर्ने उनी बताउँछिन् ।
वडा सदस्य बालकुमारी थापाको स्वागतबाट सुरु भएको कार्यक्रममा वडा अध्यक्ष ताराबहादुर थापाले गतवर्ष नै योजना सुरु गर्ने भनिएपनि कोभिडको कारणले समयमा नै योजना सुरु गर्न नसकिएको बताउँदै अब निर्माण कार्यलाई तीव्र रुपमा अगाडी बढाउने बताए ।
नगरको एक वडा एक गौरवको योजना अन्र्तगत १२ लाख रकमबाट आगामी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ चार तलाको दृश्यावलोकन स्तम्भ निर्माण कार्य सुरु गरिएको निर्माण समितिका अध्यक्ष लक्ष्मण थापाले जानकारी दिए ।
दुर्गादेवी मन्दिर व्यवस्थापन समितिका सचिव ईमान सिं थापाको धन्यबाद ज्ञापनमा कार्यक्रमको संचालन केशव थापाले गरेका थिए ।
दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न गर्न करिव ६० लाख रकम लाग्ने अनुमान गरिएको छ । दृश्यावलोकन स्तम्भ निर्माण गर्न स्थानीय मनबहादुर सार्कीले एक रोपनी पाँच आना जग्गा सहयोग गरेका हुन् ।
यस क्षेत्रमा रहेको दुर्गादेवी मन्दिरको व्यवस्थापन र पार्क निर्माण लगायत विभिन्न पूर्वाधार विकास गरी पर्यटकिय क्षेत्र बनाउने योजना रहेको छ । कालीगण्डकीवेशीका विभिन्न स्थानको अवलोकन गर्न र पर्यटक भित्र्याउने लक्ष्यका साथ दृश्यावलोकन निर्माण कार्य सुरु गरिएको हो ।








