
सुशीला रेग्मी
बैशाख ५,२०७८ पाल्पा :सामुदायिक रेडियो प्रसारक संघ अकोराबका अध्यक्ष अर्जुन गिरीले देशका हरेक परिस्थितीमा सामुदायिक रेडियोले खेलेको भुमिका महत्वपूर्ण रहेको बताए ।
पाल्पाको रामपुर नगरपालिकामा अवस्थित सामुदायिक रेडियो रामपुरको अन्र्तक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रममा अकोराबका अध्यक्ष गिरीले सामुदायिक रेडियोले समुदायको हितको लागी आवाज उठाउने भएको हुदा सेवामुखी भावनाले समाज रुपान्तरणमा महत्वपूर्ण भूमीका खेलेको बताए ।
उनले देशका अन्य रेडियोको तुलनामा सामुुदायिक रेडियो रामपुरको भुमिका बेग्लै खालको रहेकोमा जोड दिदै समुदायको मुष्ठिदान र घाँस दाउरा सहयोगबाट संचालित रेडियोलाई स्थानीय सरकारको महत्वपुर्ण सहयोग हुनुपर्ने बताए ।
“सामुदायिक रेडियो प्रसारक संघ अभिभावक हो भन्ने प्रयत्न गरेका छौँ, त्यही अनुसार हामी काम गर्छौ, सामाजिक बिसंगती कुरितीमा स्थानीय तह र जनप्रतिनिधि संगै सामाजिक सेवामा संचारमाध्यम लागेका धेरै उदाहरण छन्” अध्यक्ष गिरीले भने ।
कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले समुदायको रेडियोले समुदायमै सुचना दिने भएकोले स्थानीय सरकारलाई घचघच्याउने र राम्रा नराम्रा कुरालाई बाहिर ल्याउने दायित्व पनि सामुदायिक रेडियो रामपुरले गर्नुपर्ने उल्लेख गराए ।
नगर प्रमुख थापाले सामुदायिक रेडियो रामपुरको संस्थागत विकासका लागि यस आर्थिक वर्षमा सात लाख रकम विनियोजन गरेको बताउनुहुदै यस रेडियोले गाउँका नागरिकलाई सुचना संप्रेषण गरी समाज परिवर्तनमा ठुलो भुमिका खेलेको बताए ।
जनप्रतिनिधिले गतल कार्य गरेको भएमा संचारकर्मीले खबरदारी गरी सहीलाई सही र गलतलाई गलत भनी यथार्थ र सत्यतामा आधारित रहेर समाचार संप्रेषण गर्न नगर प्रमुख थापाले संचारकर्मीलाई अनुरोध गरे ।
कार्यक्रममा अकोराबका बरिष्ठ उपाध्यक्ष विष्णु अवस्थीले गाउँगाउँमा प्रतिनिधी राखेर संचालन गरेको उदाहरणीय रहेको बताउदै नौ सयको हाराहारीमा सदस्य रहेको रेडियो रामपुर साच्चिकै समुदायको आवाज बोल्ने रेडियो भएकोमा जोड दिए ।
कार्यक्रममा अकोराबका उपाध्यक्ष मिलन गाहाले समुदायको सहयोग, पहलमा सुचना सम्प्रेषण सामुदायिक रेडियोको योगदानका विषयमा धारणा राखे ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य प्रेमनारायण आचार्य, कालीगण्डकी सामुदायिक विकास केन्द्रका अध्यक्ष देवेन्द्रप्रसाद पोखरेल, नेकपा एमाले नगर कमिटि सचिव दामोदर पाठक, नेपाली काग्रेस प्रदेश क का सचिव अर्जुनप्रसाद रेग्मी, रामपुर वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष नगिलाल पौडेल, मुस्लिम संघ जिल्ला सभापति हजिलदिन मिँया,रामतुलसी माध्यमिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विष्णुप्रसाद पौडेल लगायतले आफ्ना धारणा राख्दै रेडियोको प्रभाव र महत्वसँगै शुभकामना व्यक्त गरे । कार्यक्रममा अकोराबका अध्यक्ष गिरी लगायतको टिमलाई रेडियोले मायाको चिनो स्वरुप पाल्पाली करुवा, ढाकाटोपीले सम्मान गरेको छ ।
रेडियोका प्रतिनिधी तथा कर्मचारीलाई ज्याकेट, झोला, डायरी तथा महत्वपूर्ण टेलिफोन सहितको पुस्तक प्रदान गरिएको छ ।
विभिन्न समाग्री सौजन्य गर्ने रामपुर वचत तथा ऋण सहकारी संस्था, अन्धकार मुक्ति वचत तथा ऋण सहकारी संस्था, कालीगण्डकी ग्रिल उद्योग, रामपुर, इस्लामपुर ग्रिंल एण्ड आल्मुनियम उद्योग, श्रेष्ठ ग्रिल उद्योग, ढुङ्गाना स्टोर्स तथा भाडा पसल, र न्यु श्रीनगर होटललाई सम्मान गरिएको छ ।
रेडियो संचालक समितिका अध्यक्ष ऋषिराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रामप्रसाद खत्री र धन्यवाद उपाध्यक्ष हमिद अलिमियाँले दिएका थिए । कार्यक्रमको संचालन स्टेशन प्रबन्धक छबि खनालले गरेका थिए ।








