रामपुरमा जनगणना कार्यालय स्थापना

0
301

सुशीला रेग्मी
बैशाख २,२०७८ पाल्पा : पाल्पाको रामपुर नगरपालिकामा स्थानीय जनगणना कार्यालय स्थापना भएको छ । रामपुर नगरपालिका र निस्दी गाउपालिका हेर्ने गरी रामपुर नगरपालिकामा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको हो ।
रामपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख बिकल काफ्लेलाई फोकल पर्सन तोकेर जनगणनाको काम सुरु गरिएको छ । रामपुर नगरपालिकामा १३ सुपरिवेक्षक र ४२ गणक खटाएर जनगणनाको तथ्याङ्क लिइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए । यसैगरी निस्दीमा ६ सुपरिवेक्षक र २४ गणक खटिने स्थानीय जनगणना अधिकारी बिकल काफ्लेले बताए ।
जिल्ला जनगणना कार्यालय र जिल्लाका अन्य चार स्थानमा स्थानीय जनगणना कार्यालय रहने व्यवस्था अन्तर्गत बिहिवार देखी रामपुर र निस्दी हेर्ने गरी रामपुर, पूर्वखोला, रम्भा र माथागढी हेर्ने गरी ताँहु, तानसेन, तिनाउ र बगनासकाली हेर्ने गरी तानसेन नगरपालिकामा कार्यालय स्थापना गरिएको छ भने रिब्दिकोट र रैनादेवी हेर्ने गरी अमलावासमा स्थानीय जनगणना कार्यालय खोलिएको छ ।
सुपरिवेक्षकको दुई महिना र गणकको एक महिना नियुक्ति रहनेछ । यस जनगणनामा सुपरिवेक्षक तथा गणकले बैशाख २६ देखि जेष्ठ १४ सम्म २० दिन लगाएर लिनेछन् । मुख्य प्रश्नावली फाराम आगामी जेष्ठ २५ देखि असार ८ सम्म १५ दिनमा घरको सबै तथ्यांक लिएर संकलन गरिनेछ भने त्यसपछि सुपरिवेक्षकबाट प्रत्येक स्थानीय तहका सबै वडा कार्यालयबाट सामुदायिक प्रश्नावली मार्फत वडास्तरको आधारभूत स्रोत साधन, क्षमता, पूर्वाधार र विपद् सम्बन्धी विवरण संकलन गर्ने जिल्ला जनगणना अधिकारी घिमिरेले जानकारी दिए ।
चैत्र १ गते चार महिनाको जिम्मेवारी सहित जिल्ला जनगणना कार्यालयको स्थापना भएर काम सुरु भएकोमा तीन महिना अवधीमा काम पूरा गर्ने गरी स्थानीय जनगणना कार्यालयहरु खुलेका हुन् ।

SHARE