तिलाचन पाण्डे
चैत ३०,२०७७ गुल्मी : गुल्मीको रेसुंगा बन क्षेत्रमा चैत २५ गतेदेखि लागेको आगो अझै सम्म पनि नियन्त्रणमा आउँन सकेको छैन ।
रेसुंगा क्षेत्रमा एनसेनको टावर रहेको स्थानको तलबाट एक्कासी लागेको आगो बनक्षेत्रमा फैलिएको हो । आगो नियन्त्रणमा लिनका लागि नेपाली सेना , सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
सल्लाको बन रहेकाले आगोले कुन मोड लिन्छ भन्ने बारेमा केही थाहा नहुने, त्यस क्षेत्रमा पानीको समस्या र भीर भएकाले पनि आगोलाई नियन्त्रणमा लिनका लागि निकै समस्या भएको पाण्डेले बताए । रेसुंगा क्षेत्रमा रहेको एनसेन , रेडियो नेपाल र भ्यू टावरलाई फायर लाइन खोली सुरक्षित गरिएको र टावरहरुमा क्षती हुनबाट बचाइएको पाण्डेको दाबी छ ।
बन क्षेत्रमा लागेको आगो के कसरी र कसले लगायो भन्ने बारेमा अहिले सम्म केही जानकारी नभएको र आगो लगाउने ब्यक्तिको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पहिले लागेको आगोलाई नियन्त्रण लिने प्रयास जारी रहेको भन्दै आगो लगाउने ब्यक्तिको पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
बन क्षेत्र, खरबारीमा आगो लगाउँदा नयाँ घाँसहरु पलाउने ,दाउरा र मल पनि हुन्छ भन्ने अन्धबिश्वास अझै पनि कायमै रहेकाले आगलागीका घटनाहरुमा बृद्धि भएको डिभिजन बन कार्यालय गुल्मीले जनाएको छ ।
आगो लगाउने ब्यक्तिहरुको खोजी कार्य जारी रहेको बताउँदै आएपनि अहिलेसम्म फेला परेको र कारवाही भएको भने पाइएको छैन् ।
बनक्षेत्रमा आगो लगाउने ब्यक्तिलाई बन ऐन २०७६को दफा ५० को उपदफा चार बमोजिम ६० हजारसम्म जरिवाना,तीन बर्ष सम्म कैद वा दुबै हुने ब्यबस्था छ ।
बनक्षेत्रमा आगो लगाउने समाजका ब्यक्तिहरुलाई थाहा भएपनि सूचना नदिने कारणले गर्दा समस्या भएको गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले बताइन् । स्थानीयहरुले सहयोग गरी सूचना दिएको खण्डमा आँफूहरु कानून अनुसारको कारवाही गर्न पछाडी नपर्ने उनको दाबी छ ।