रामपुरमा कोभिड अनुदान कार्यक्रम सम्बन्धी युवासंग अन्र्तक्रिया

0
25

सुशीला रेग्मी
रामपुर (पाल्पा), २५ चैत
रामपुर नगरपालिकाको आयोजनामा कोभिड प्रभावित भई वैदेशिक रोजगारीबाट गाउँ फर्केका कृषकहरुलाई उत्पादन सामग्रीमा अनुदान सम्बन्धी अभिमुखीकरण तथा अन्र्तक्रिया कार्यक्रम भएको छ । नगरपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत तथा कोभिड विशेष कार्यक्रम संयोजक रामहरी पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रमणबहादुर थापा रहनुभएको हो । कार्यक्रमका अध्यक्ष निमिक्त प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले कोभिड प्रभावित कार्यक्रमका सन्दर्भमा जानकारी गराउनुभएको छ । उहाँले वैदेशिक रोजगारीबाट कोभिडको मारमा फर्केका युवालाई लक्षित गरी गाउँमै बसेर कृषि व्यवसाय गर्न प्रोत्साहन गर्ने गरी कोभिड बिशेष कार्यक्रम नगरपालिकाले संचालन गरेको बताउनुभएको छ ।

प्रमुख अतिथि नगर प्रमुख थापाले कोभिडको कारण विदेश पुगेका धेरै युवाको रोजगारी खोसिएर गाउँ फर्केकालाई व्यवसायमा नगरपालिकाले प्रोत्साहन गर्दै अनुदान सहयोग गरेको बताउनुभएको छ । नगर प्रमुख थापाले मेहनत गरियो भने सफलता पाईने बताउदै आगामी आर्थिक वर्ष देखि युवा स्वरोजगार अनुदान कार्यक्रम १२ लाखबाट बढाएर १५ लाख बनाउने योजना रहेकाले कृषिमा केही गर्छु भन्नेका लागि नगरले सहयोग गरिरहेको बताउनुभएको छ । उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले विदेशमा श्रम र पसिना बगाएर गाउँ फर्केका युवालाई अग्रपंक्तिमा राखेर काम गरिरहेको बताउनुहुदै कृषि गर्नेलाई नगरले प्रोत्साहनका विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । आर्थिक विकास समिति सदस्य कमलराज भट्टराईले पशुविज्ञ डाक्टर अभाव हुदा पशुको औषधि उपचारमा समस्या देखिने गरेको बताउनुभएको छ । पशु सेवा शाखा प्रमुख तुल्सिराम काफ्लेको स्वागतबाट सुरु भएको कार्यक्रममा नगरपालिकाका लेखा अधिकृत रेणुराम ज्ञवालीले कोभिड बिशेष कार्यक्रममा छनौटमा परेका कृषकलाई सम्झौता प्रक्रिया बारेमा जानकारी गराउदै कार्यक्रममा छनौटमा परेका कृषकको नामावली जानकारी गराउनुभएको छ ।
कार्यक्रमको संचालन कृषि शाखाका प्राबिधिक प्रज्वल केसीले गर्नु भएको हो । कार्यक्रममा छनौटमा परेका कृषकले बंगुर, कखुरा, बाख्रापालन र तरकारी खेती लगायत विभिन्न कृषि कार्य गर्न नगरपालिकाले दिएको सानो अनुदानले मात्रै व्यवसाय सुरु गर्न अप्ठ्यारो परेको बताउनुभएको छ । कोभिड विशेष अनुदान कार्यक्रम अन्तर्गत २० हजारका दरले अनुदान उपलब्ध गराईने छ । यस आर्थिक वर्षमा ९० जना युवा कोभिड विशेष कार्यक्रममा छनौटमा परेका छन् । बिमा कार्यक्रमका सम्बन्धमा नेपाल बाख्रापालन महासंघका केन्द्रिय उपाध्यक्ष सुर्यप्रसाद रेग्मीले जानकारी दिनुभएको कार्यक्रम कृषि शाखाको सभाहलमा चलेको हो ।

SHARE