रामपुरमा चैते धान रोपाई सुरु

0
964

सुशीला रेग्मी
चैत २०,२०७७ पाल्पा : पाल्पाको रामपुर नगरपालिकामा चैते धान रोपाई सुरु गरिएको छ ।
चैते धान पकेट क्षेत्र रहेको रामपुर नगरपालिका वडा नं ४ स्थित तल्लो वडमान खेतमा तीन सय रोपनी भन्दा बढी क्षेत्रफलमा धान रोपिदैछ । शुक्रवार वडमान खेतमा अन्र्तक्रिया तथा रोपाई शुभारम्भ कार्यक्रम गरिएको छ ।
तल्लो वडभान कृषक समूह रामपुर नगरपालिका वडा नं ४ पाल्पाको आयोजना तथा रामपुर नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । समुहका अध्यक्ष ओमबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य थिइन् । उनले पछिल्लो समय चैते धान लगाउने कृषक कम हुदै गएको बखत बडमानका कृषकले निरन्तर रूपमा खेति गर्दै आएको बताइन् ।
तल्लो वडमान क्षेत्रमा बिगत वर्षदेखि चैते धान खेतिमा पकेट कार्यक्रम संचालन भएको छ । यसवर्ष तीन सय दुई रोपनी क्षेत्रफलमा नगरपालिकाको सहयोगमा पकेट कार्यक्रममार्फत धान रोपाई गर्ने कार्यक्रम अनुसार कृषकले रोपाई थालनी गरेको कृषि शाखा प्रमुख रामहरी पाण्डेयले बताए ।
चैते धान रोपाई कार्यमा कृषक उत्साहजनक रूपमा लागेका छन् । कार्यक्रमका अवसरमा रामपुर नगरपालिकाका आर्थिक विकास समिति संयोजक हुमनाथ न्यौपाने, वडा नं ४ का वडा अध्यक्ष एकबहादुर नेपाली लगायतले बोल्दै परम्परा देखि गरिदै आएका खेतिलाई संरक्षण गर्दै खेति गरेकोमा कृषकलाई धन्यवाद दिए ।
पकेट समुहमा ३० जना कृषक आबद्ध छन् । समुहका सचिव पविसरा पचभैयाको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन समुहका पुर्व अध्यक्ष बलबहादुर पोखरेलले गरेका थिए ।

SHARE