रामपुरमा गहुँ पकेट क्षेत्रका कृषकसंग अन्र्तक्रिया

0
314

सुशीला रेग्मी
रामपुर (पाल्पा), २० चैत
गहुँ पकेट क्षेत्र सम्बन्धी अन्र्तकृया कार्यक्रम रामपुर नगरपालिका वडा नं ४ काँसजरीमा भएको छ । रामपुर नगरपालिकाको एक वडा एक पकेट क्षेत्र अन्तर्गत वडा नं ४ मा गहँु खेतीमा पकेट कार्यक्रम संचालन गरिएको हो । अन्र्तक्रियामा सहभागी कृषकले गहुँ खेती उत्पादन, भण्डारण सम्बन्धमा कृषि प्राबिधिकसंग जानकारी लिएका छन् । रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले उत्पादन भएको गहुँ भण्डारण र नगरपालिकाले गरेको सहयोग कार्यक्रमबारे जानकारी गराउनुभएको छ ।
पकेट समितिका अध्यक्ष टेकबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य रहनुभएको हो । कोभिड १९ को सङ्क्रमणको कारणले गर्दा पनि अहिले रामपुरमा कृषि कार्यमा युवा तल्लिन भएर लागेको बताउदै नगरको दशवटै वडामा उपयुक्त ठाउँ, स्थान पहिचान गरी एक वडा एक उत्पादन कार्यक्रम संचालन गरिएको बताउनुभएको छ । उहाँले कृषिमा मेहनत र लगनशील भएर काम गरियो भने प्रतीफल राम्रो लिन सकिने बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका आर्थिक विकास समिति संयोजक हुमनाथ न्यौपाने, वडा नं ४ का वडा अध्यक्ष एकबहादुर नेपाली, नेपाली कांग्रेस वडा सभापति वसन्तराम ठाडा लगायतले बोल्दै उत्पादन बृद्धि गरी आयस्रोत बढाउन अनुरोध गर्नुभएको छ । पकेट समितिका सदस्य सदिक्षा श्रेष्ठको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन गोपाल श्रेष्ठले गर्नुभएको हो । पकेट कार्यक्रम अन्तर्गत यस आर्थिक वर्षमा रामपुर नगरपालिकाले दुई लाख वजेट विनियोजन गरेको र त्यसबाट बीउ विजन, कृषि यन्त्र उपकरण, मल लगायत विभिन्न कार्यक्रम संचालन गरिएको कृषि प्राबिधिक प्रज्वल केसीले जानकारी दिनुभएको छ । पकेट कार्यक्रम अन्तर्गत ४५ जना कृषक आबद्ध भई दुई सय रोपनी क्षेत्रफलमा गहु खेती गरिएको छ । कृषकले उत्साहजनक रुपमा गहुँ पकेट कार्यक्रममा सहभागी भएर खेती गरेको रामपुर नगरपालिकाका कार्यपालिका सदस्य सिमादेवी रानाले बताउनुभयो ।

SHARE