संवेदनशील अंगभित्र लुकाएर ब्राउन सुगर ल्याउने दुई भारतीय पक्राउ

0
353

चैत ४,२०७७ भद्रपुर : झापामा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई भारतीय महिला पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला खोरीवारि थाना मैनागुरी ग्राम बस्ने २७ वर्षीया सुनिता हेमरम र सोही ठाउँकी ३२ वर्षीया अनिता हेमरम रहेका इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी सुनिल दाहालले जानकारी दिए।

सीमा नाकाबाट चोरी निकासीको माध्यमबाट ब्राउन सुगर नेपाल भित्र्याइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई मेचीनगर नगरपालिका १५ ज्यामिरगढी फडानीस्थित कासघारीबाट मंगलबार दिउँसो पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट १५० ग्राम ब्राउन सुगर बरामद गरेको छ। महिलाहरूले ब्राउन सुगर संवेदनशील अंगभित्र लुकाएर ल्याएको प्रहरीले जनाएको छ। बरामद गरिएको ब्राउन सुगरको नेपाली बजार मूल्य करिब ८ लाख रुपैयाँ पर्छ।

पक्राउ परेका महिलाहरूलाई जिल्ला प्रहरी कार्यालय झापा पठाइने र घटनाको विषयमा अनुसन्धान इलाका प्रहरी कार्यालय धुलाबारीबाट हुने प्रहरीले जनाएको छ।

SHARE