सुशीला रेग्मी
चैत २,२०७७ पाल्पा : रामपुर नगरपालिकाले पाँच जनालाई कोरोना बीमा रकम प्रदान गरेको छ ।
गत भदौ २८ गते भित्र सम्म कोरोना पिसीआर परिक्षणमा पोजेटिभ देखिएकालाई नगरपालिकाले गरेको बिमाबापत प्रति व्यक्ति एक लाख रुपैयाँका दरले रकम प्रदान गरिएको छ ।
सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेडका रामपुर शाखा प्रमुख डोलराज श्रेष्ठले नगर प्रमुख रमणबहादुर थापालाई पाँच जनाको कोरोना बीमा रकमको चेक हस्तान्तरण गरे । सो चेक नगर प्रमुख थापाले बिमितलाई हस्तान्तरण गरे ।
१६ जनाको बीमा भुक्तानीमध्ये सोमवार पाँच जनालाई चेक हस्तान्तरण गरिएको र बाँकी रकम सम्बन्धित व्यक्तिको खातामा जम्मा गरिदिने सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखा प्रमुख डोलराज श्रेष्ठले जानकारी दिए ।
रामपुर नगरपालिकाले कोरोना पोजेटिभ देखिएका दुई सय ३० को कोरोना बिमा गरिदिएको थियो । नगरपालिकाका कर्मचारी, पत्रकार, जनप्रतिनिधि लगायत कोरोनाको जोखिम समयमा अग्रभागमा रहेर काम गर्ने नागरिकलाई कोरोना बिमा बापत एक लाख बराबरको रकम बिमा गरिएको हो ।