रामपुरमा भ्युटावर निर्माण हुँदै

0
479

सुशीला रेग्मी
चैत २,२०७७ पाल्पा :पर्यटकिय क्षेत्र पाल्पाको रामपुरमा भ्युटावर निर्माण सुरु गरिएको छ ।
रामपुर नगरपालिका वडा नं ४ को बरडाँडामा निर्माण हुन लागेको भ्युटावरको सोमवार शिलन्यास गरिएको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले भ्युटावरको शिलन्यास गर्दै पर्यटकिय क्षेत्रको विकासको लागि नगरपालिकाले वजेट विनियोजन गरी भ्युटावर निर्माण गर्न लागेको बताए ।
उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बजार वस्ती देखि माथिल्लो भेगमा रहेको यस क्षेत्रबाट कालीगण्डकी वेशीका धेरै ठाउँको दृश्यावलोकन गर्न र पर्यटक भित्र्याउनका लागि भ्युटावर निर्माण कार्य सुरु गरिएको बताइन् ।
रामपुर नगरपालिकाको सहयोगमा बहुवर्षिय योजना अनुरुप करिव ५० फिट अग्लो (चार तला) को भ्युटावर निर्माण गर्न रु १६ लाख रकमबाट काम थालनी गरिएको समितिका अध्यक्ष अमिर रानाले बताए । उनका अनुसार निर्माण कार्य सम्पन्न गर्न करिव ६० लाख रकम लाग्ने अनुमान गरिएको छ ।
पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न भ्युटावर निर्माण हुने भएपछि स्थानीयमा खुशीयाली छाएको समाजसेवी वसन्तराम ठाडा बताउँछन् ।
यस क्षेत्रमा पहिले बाक्लो वस्ती रहेपनि पछिल्लो समय भने बजार नजिकै बसाइसराई जान थालेपछि गाउँमा बसोबास गर्ने नागरिक कम छन् । अहिले भने भ्युटावर निर्माणको योजना परेपछि जग्गा खरिद गर्न ग्राहकहरु आउने गरेको स्थानीय निसार अहमदले बताए ।
भ्युटावर निर्माण कार्यले गाउँमा विकासको लहर अगाडी बढेको अनुभुती भएको स्थानीय अनिता रानाले बताए ।
भ्युटावर निर्माण गरिने क्षेत्रमा पार्क लगायतका विभिन्न पर्यटकिय पूर्वाधार निर्माण गर्ने समितिको योजना छ ।
समितिले अबको पाँच वर्षभित्र काम सक्ने गरी निर्माण कार्य अगाडी बढाएको जनाएको छ । भ्युटावर निर्माण क्षेत्रमा अन्य पूर्वाधार विकासका लागि स्थानीय बसन्तराम ठाडा, चेतनाथ पंगेनी, विष्णुबहादुर सेनबाट दुई÷दुई आना जग्गा सहयोग गरे ।
समितिका अध्यक्ष रानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रहिम मियाँले गरेका थिए । पण्डित चेतनाथ पंगेनीले वैदिक विधिबाट पुजापाठ गराएको कार्यक्रममा स्वागत रामपुर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष एकबहादुर नेपालीले गरेका थिए ।

SHARE