बालसिद्ध प्राविमा निशुल्क दन्त परीक्षण गर्दै शैक्षिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण

0
315

सुशीला रेग्मी
फागुन २१,२०७७ पाल्पा : बालसिद्ध प्राथमिक विद्यालय रामपुर नगरपालिका वडा नं १० स्वामीभन्ज्याङ्ग पाल्पामा निशुल्क दन्त परीक्षण, स्वास्थ्य र शैक्षिक सामग्री वितरण कार्यक्रम भएको छ । रामपुर युवाक्लबको आयोजनामा होराइजन डेण्टल क्लिनिक रामपुर र ट्राभल डेन्टिस्टरी नेपालको सहयोगमा कार्यक्रम भएको हो ।
रामपुर युवा क्लबका अध्यक्ष छमबहादुर दरैको अध्यक्षतामा कार्यक्रम गरी विद्यालयमा कक्षा बालविकास देखि ३ सम्म अध्ययनरत ५२ जना विद्यार्थीलाई लत्ताकपडा, स्वास्थ्य सामग्री, कापी कलम लगायत विभिन्न शैक्षिक सामग्री वितरण गरिएको छ ।
कार्यक्रमको बारेमा होराइजन डेण्टल क्लिनिक रामपुरका संचालक डाक्टर शंकर श्रेष्ठले जानकारी गराउँदै ग्रामीण भेगमा रहेका बालबालिकाको शैक्षिक उत्थानका लागि शैक्षिक सामग्री र उनीहरुलाई स्वस्थ बनाउन दन्त परिक्षण कार्यक्रम गरेको बताए ।
नगरपालिकाको केन्द्रदेखि टाढा रहेको यस विद्यालयमा आएर सबै विद्यार्थीलाई लत्ताकपडा, शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग र दन्त परीक्षण कार्य गरेकोमा आयोजक तथा सहयोगी संस्थालाई विद्यालयका प्रधानाध्यापक लेखप्रसाद श्रेष्ठले धन्यवाद दिए । कार्यक्रमको संचालन रामपुर युवाक्लबका सचिव सुन्दर कंडेलले गरेका थिए ।

SHARE