
सुशीला रेग्मी
फागुन २०,२०७७ पाल्पा : कालिका आधारभुत विद्यालय रामपुर नगरपालिका वडा नं ४ देविस्थान पाल्पाले विद्यालय स्थापनाको ३३ औ वार्षिकोत्सब तथा ३३ औ अभिभावक दिवस मनाएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष वसन्तराम ठाडाको अध्यक्षतामा बुधवार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, वार्षिक प्रतिवेदन प्रस्तुत तथा सम्मान सहित विविध कार्यक्रम गरी वार्षिकोत्सव सम्पन्न भएको छ ।
विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक सोमबहादुर सेनले प्रस्तुत गर्दै विद्यालयले गरेका गतिबिधिबारे जानकारी गराउँदै शैक्षिक तथा भौतिक विकासमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
वार्षिकोत्सवका अवसरमा समाजसेवी भोटे क्षेत्रीबाट ५७ जना गरिव, जेहेन्दार, विपन्न विद्यार्थीलाई स्कुल पोशाक वितरण गरिएको छ । त्यसैगरी विद्यालयमा स्थापना भएको ४७ वटा अक्षयकोषबाट कक्षा बालविकास देखि ८ सम्म अध्ययनरत एक सय २९ विद्यार्थीलाई टिफिन बक्स, कापी कलम अक्षयकोषदाताले वितरण गरे ।
जापानिज नागरिक काजुमासा काकिमी (ओकेबाजे) ले स्थापना गरेको झोला अक्षयकोषबाट दश जना गरिव, जेहेन्दार, विपन्न विद्यार्थीलाई स्कुल झोला वितरण गरिएको छ । वैदेशिक रोजगारमा रहनुभएका महल क्षेत्रीले ५१ हजार बराबरको रकम आमा भोटे क्षेत्रीमार्फत विद्यालयका अध्यक्ष वसन्तराम ठाडा, प्रधानाध्यापक सोमबहादुर सेन, शिक्षक अभिभावक संघका अध्यक्ष टेकबहादुर क्षेत्रीलाई अक्षयकोष स्थापनाका लागि हस्तान्तरण गरे ।
पत्रकारिताको माध्यमबाट विद्यालयमा पु¥याएको योगदानको कदर गर्दै पत्रकार सुशीला रेग्मी र ईमान सिं रानालाई सम्मान पत्र र पाल्पाली करुवाले सम्मान गरिएको छ । त्यसैगरी कार्यक्रमको अवसरमा सहयोगदाता ओकेबाजे, भोटे क्षेत्री लगायतलाई सम्मान गरिएको छ ।
कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले यस विद्यालयले धेरै विद्यार्थीलाई शिक्षा दिन सफल भएको बताउदै लगनशील भई पढेर भविष्य उज्ज्वल बनाउन अनुरोध गरिन् । साथै नगर उपप्रमुख आचार्यले नगरपालिकाले शिक्षा क्षेत्रमा विभिन्न कार्यक्रम गरेको बताइन् ।
कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष एकबहादुर नेपाली, जिल्ला शिक्षा तथा रामपुर नगर शिक्षा समिति सदस्य देवराज ढकाल, ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख ईश्वरचन्द्र अर्याल, रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्साल, नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्रप्रसाद भट्टराई, नेकपा प्रतिनिधि दुर्गादेवी राना, पूर्व प्रधानाध्यापक तथा अक्षयकोषदाता पशुपति लम्साल, सीताराम माविका प्रधानाध्यापक हरिप्रसाद अधिकारी, समाजसेवी काजुमासा काकिमी (ओकेबाजे), सहयोगदाता भोटे क्षेत्री लगायतले बोल्दै कार्यक्रम सफलताको कामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष टेकबहादुर क्षेत्रीले स्वागत ,शिक्षक रामबहादुर रानाको संचालनमा सम्पन्न भएको हो । विद्यार्थीबाट रमाइलो साँस्कृतिक नाचगान देखाइएको कार्यक्रममा सल्लाहकार समिति सदस्य डिलबहादुर कौसीले धन्यवाद दिए ।








