सुशीला रेग्मी
रामपुर (पाल्पा), १७ फागुन:पाल्पाको रामपुरमा महिलाहरुका लागि खुल्ला म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । रामपुर नगरपालिका महिला बालबालिका तथा सामाजिक शाखाको आयोजनामा अगामी फागुन २४ गते १११ औँ अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरुलाई लक्षित गरी म्याराथुन दौड आयोजना गरिएको हो ।
महिलाहरुलाई खेल क्षेत्रमा आकर्षित बनाउन नगरपालिकाले म्याराथुन दौड प्रतियोगिता आयोजना गर्न लागेको नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताइन् । रामपुर नगरपालिका भित्र स्थायी रुपमा बसोबास भएका नागरिकले मात्र प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।
प्रतियोगितामा सहभागीताका लागि फागुन २२ गते कार्यालय समय भित्र महिला बालबालिका तथा सामाजिक शाखामा नाम दर्ता गराइसक्नुपर्ने छ । फागुन २४ गते बिहान ८ वजे नगरपालिकाको कार्यालयबाट दौड सुरु गरी बेझाड बजारचोक, नमुना पथ, सानीअमराई बालकल्याण प्रावि, रामपुर अस्पताल हुदै कालीआँप चोक देखि माथि डुम्रीगाउँ चोकबाट पूर्वतिर मोडिएर किसानबारी बजार, कालीगण्डकी आँखा अस्पतालको प्राङ्गण सम्मको क्षेत्र म्याराथुनका लागि तय भएको महिला बालबालिका तथा सामाजिक शाखाका सहायक महिला निरीक्षक पुजा परियारले जानकारी दिइन् । प्रतियोगितामा प्रथम पुरस्कार नगद दश हजार, द्धित्तिय पुरस्कार पाँच हजार, तृत्तिय पुरस्कार दुई हजार पाँच सय र सान्त्वना पुरस्कार सात जनाका लागि एक÷एक हजार र प्रमाण पत्र रहेको छ ।