पाल्पा दरबारमा ‘सानु राजा’ को शालिक अनावरण

0
795

फागुन ६,२०७७ पाल्पा : पाल्पा दरबारको बीच भागमा प्रताप शमशेर जबरा (सानु राजा) को शालिक निर्माण गरिएको छ।

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बुधबार एक कार्यक्रमबीच शालिक अनावरण गरेका छन्। प्रदेश सङ्ग्रहालयको रूपमा रहेको पाल्पामा दरबारमा निर्माण गरिएको सानु राजाको शालिकले यहाँको पर्यटकीय क्षेत्रमा थप टेवा पुग्ने बताए। दरबारको अवलोकन गर्नेक्रममा पर्यटकले यो शालिक हेर्ने र इतिहासबारे जानकारी लिने उनले बताए।

राणाको पालामा पाल्पाका विभिन्न ठाउँमा गढी निर्माण भएका पाल्पाली इतिहासकार निर्मल श्रेष्ठले बताए। उनका अनुसार इतिहास केलाउँदा प्रताप शमशेर जबरा पाल्पा दरबारमा तैनाथवाला भएर बसेका थिए।

श्री ३ जंगबहादुर राणाका कान्छा भाइ धीर शमशेरका १७ भाइ छोरामध्ये जेठा छोरा श्री ३ वीर शमशेर जबराकी कान्छी श्री ३ महारानी तोपकुमारी देवीतर्फका कान्छा छोरा प्रताप शमशेर जबरा ९सानु राजा० हुन्। उनको जन्म वि।सं। १९४३ फागुन १२ गतेका दिन भएको थियो।

जनरल प्रताप पाल्पाका तैनाथवाला भएर वि।सं। १९८२ सालमा पाल्पामा आएका थिए। वि।सं। १९८९ साल माघ २८ गतेसम्म प्रताप पाल्पाका तैनाथवाला भएका थिए।

तैनाथवाला भएर पाल्पा बस्दा उनले तानसेनमा खानेपानीको व्यवस्था, नयाँ झ्यालखाना, बुटवल–तानसेन मोटरबाटो सर्वे गर्नुका साथै पाल्पाका तैनाथवाला भइ आएका बद्री नरसिंह राणाले निर्माण गरेको दरबार पुरानो र जीर्ण भएकोले त्यस दरबारलाई भत्काइ सोही ठाउँमा हालको एकचोक र ४४ वटा कोठाहरू भएको पाल्पा दरबारको निर्माण गराएका थिए।

अहिले यो पाल्पा दरबारलाई लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय सङ्ग्रहालयको रूपमा विकास गरेको छ। तत्कालिन नेकपा माओवादीले १० वर्षे जनयुद्धका बेला आक्रमण गरेर यस दरबारको पुरानो संरचनालाई ध्वस्त बनाएको थियो। पछिल्लो समयमा पुरानै आकारको नयाँ दरबार निर्माण गरिएको छ।

प्रतापको वि।सं। १९९२ साल भाद्र ६ गतेका दिन निधन भएको थियो। ४९ वर्ष ६ महिनाको उमेरमा भारतको दार्जिलिङमा शूलको व्यथाले जनरल प्रताप शमशेर जबराको निधन भएको थियो।

SHARE