तानसेनमा ८५ वर्ष पुगेकालाई सम्मानसहित स्वास्थ्य परीक्षण

0
862

माघ २७,२०७७ पाल्पा : तानसेन नगरपालिकाले ८५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ।

नगरभित्रका २६७ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। उनीहरूको स्वास्थ्य परिक्षण पनि गरिएको छ। औषधिसहित कोसेलीस्वरूप कपडा, पौष्टिक खाना प्रदान गरिएको छ। उनीहरूलाई ब्यालाङ्केट, ज्याकेट, जुत्ता, मोजा, टोपी, लाई भिटा राखिएको झोला सम्मानस्वरूप प्रदान गरिएको हो।

जीवनको क्रियाशील समयमा समुदायको विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको नगर प्रमुख अशोक कुमार शाहीले बताए। वृद्धवृद्धाको जीवनलाई राम्रोसँग अध्ययन गर्न सके भावीपुस्ताको जिन्दगीमा सफलता मिल्ने उनले बताए।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत सम्मान गरिएको तानसेन नगर समितिका सदस्य गुराँस आत्रेयले बताए। सोही अवसरमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेसहितको स्वाथ्यकर्मीको टिमले वृद्धवृद्धाको स्वास्थ्य परिक्षण गरेको थियो। सुगर, प्रेसर परिक्षण गर्दै आवश्यकताअनुसार औषधि वितरण गरेको आत्रेयले बताए।

सम्बन्धित वडामा पुगेर उनीहरूलाई सम्मान गरिएको हो। वडासम्म आउन नसक्ने ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने र सामग्री प्रदान गरिएको नगरका वरिष्ठ अधिकृत दुर्गा थापाले बताए।

SHARE