रामपुर नगरमै पहिलो पटक सार्वजनिक सुनवाई ६ नम्बरले ग¥यो

0
442

सुशीला रेग्मी

माघ २१,२०७७ पाल्पा : रामपुर नगरपालिकामा नै ६ नम्बर वडा कार्यालयले पहिलो पटक चालु आर्थिक वर्ष २०७७÷०७८ को छ महिनाको अवधीमा भए गरेका योजना तथा गतिबिधिबारे सार्वजनिक गरेको छ । वडाले गरेका कार्यक्रम तथा योजनालाई नागरिक समक्ष सुसुचित बनाउन नगरमै पहिलो पटक सरोकारवालाको सहभागीतामा कार्यक्रमबारे जानकारी गराएको छ ।

वडा अध्यक्ष हुमनाथ न्यौपानेले यस आर्थिक वर्षको साउन देखि पुष मसान्त भित्रमा विभिन्न चिठ्ठी, पत्र लगायत चलानी सात सय ६०, दर्ता ३१, नागरिकता सिफारिस ६८ वटा गरिएको बताउनुभयो । जसबाट आन्तरिक आम्दानी एक लाख ५५ हजार ६ सय रुपैयाँ भएको छ । जन्मदर्ता ३९, मृत्युदर्ता १६, विवाहदर्ता आठ, बाइसराई र सम्बन्ध बिच्छेद एक÷एक वटा रहेको वडा अध्यक्ष न्यौपानेले बताउनुभयो ।

वडास्तरिय पुँजीगततर्फ ११, जनताको अपेक्षा मेयरको शुभेच्छातर्फ सात, चालुतर्फ १३, नगरस्तरिय पुँजीगततर्फ दुई गरी जम्मा ३३ योजनाध्ये ३२ वटा योजना सम्पन्न भइ भुक्तानी निकासा भएको र एक वटा योजनाको नगरपालिकाबाट भुक्तानी लिन समस्या परेको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा अध्यक्षले जानकारी दिनुभयो ।

रामपुर नगरपालिका वडा नं ६ का वडावासीले पूर्वाधार विकासलाई अगाडी बढाउन जोड दिएका छन् । विजयपुर बजार देखि कालीगण्डकीको टुटुवाघाट सम्म जाने सडकमा सवारी साधन बाक्लो गुड्न थालेपछि धुलोले त्यस आसपासका वस्तीका नागरिक समस्यामा परेका छन् । सडक धुलाम्य र सवारी साधनको आवाजले ध्वनी प्रदुषण बढ्दै जादा मानव वस्तीमा नराम्रो संग असर पुगेको स्थानीय बुद्धिप्रसाद पंगेनीले गुनासो पोख्नुभयो । उहाँले यस समस्याको समाधानका लागि पटक पटक वडा कार्यालयमा जानकारी गराएको र दीर्घकालिन व्यवस्थापनका लागि नगरपालिकाले ठुलो वजेट विनियोजन गरी धुलो र ध्वनी रहित सडक बनाउन माग गर्नुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवि घिमिरे आचार्यले जनप्रतिनिधि, नगरमा क्रियाशिल राजनीतिक दल, कर्मचारी, नगरवासीको सहकार्य भएकाले विकासका गतिबिधि अगाडी बढेको बताउनुभयो ।

“नमुना रामपुर नगरपालिका बनाउने कार्यमा अगाडी बढेका छौँ, पूर्वाधार विकासका कामहरु वडा तह देखि धमाधम भइरहेको छ, तीन वर्षको अवधीमा रामपुरमा विकास तीव्र गतिमा भइरहेको छ” नगर उपप्रमुख आचार्यले भन्नुभयो ।

जनप्रतिनिधिले काम गर्ने क्रममा नराम्रो गरेमा नागरिकले सधै खबरदारी गर्नुपर्ने र नागरिकको जनभावना अनुसार काम भइरहेको नगर उपप्रमुख आचार्य बताउनुहुन्छ । उहाँले नगरका दशवटै वडामा वडाको माग अनुसार नगरपालिकाले योजना छनौट गरी रकम विनियोजन गर्दै आइरहेको बताउनुहुदै कर्मचारीले निरन्तर खटेर काम गरेकाले प्रतिफल राम्रो हुदै गएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगरपालिका वडा नं ६ का वडा सभापति कृष्णप्रसाद अर्यालले तत्कालका लागि धुलाम्य बनेका सडकमा पानी छर्कने र दीगो व्यवस्थापनका लागि कालोपत्रे गर्ने योजना वडा तथा नगरपालिका संग माग गर्नुभयो । नेकपा वडा कमिटि अध्यक्ष सागरप्रसाद देवकोटाले योजनाका काम उपभोक्ता समितिले इमान्दारिता पूर्वक गर्नुपर्ने र त्यसको निगरानी जनप्रतिनिधिले राम्रो गरे नगरेको निरन्तर गरिराख्नुपर्ने बताउनुहुन्छ ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा रामपुरका सचिव रामप्रसाद गैरे, रामपुर नगरपालिका बिशेष समन्वय समिति सदस्य दिवाकर देवकोटा, वडाका सल्लाहकार विष्णुमाया ढकाल, वडाका सल्लाहकार तथा दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा, विजयपुर बजार व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर थापा, पत्रकार बन्दना पोखरेल लगायतले बोल्दै वडाले गरेको कार्य सन्तोषजनक रहेको बताउनुहुदै वडाले नागरिकप्रति बफादार रहेर काम गरेको बताउनुभयो ।

प्याक्लुक सोहोरा सडक उपभोेक्ता समितिका अध्यक्ष टुकबहादुर राना र मिलनचोक डल्ले चौतारी सडकका अध्यक्ष हुमबहादुर कुमालले आफुले जिम्मेवारी लिएको सडकको मर्मत कार्य भइरहेको बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य यमबहादुर भुजेलले स्वागत र संचालन वडा सचिव बासुदेव ढकालले गर्नुभएको हो । ‘कृषि पर्यटन विकास पुर्वाधार ६ नम्वर वडा विकासको आधार’ भन्ने मुल नाराका साथ वडाले कार्यक्रम गरिरहेको छ । यस वडा कार्यालयले यसभन्दा अगाडी पनि बेला बेलामा वडाले गरेका कार्यक्रम सरोकारवाला समक्ष सार्वजनिक गराउँदै आइरहेको छ ।

SHARE