रामपुर आधारभुत विद्यालयमा दिवा खाजा सुरु

0
30

सुशीला रेग्मी

माघ १४,२०७७ पाल्पा : पाल्पाको रामपुर नगरपालिका वडा नं ५ मटेरी स्थित रामपुर आधारभुत विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु भएको छ ।
विद्यालयमा नै खाजा बनाएर विद्यार्थीलाई खुवाउन थालिएको छ । मटेरी राधाकृष्ण टोलका संयोजक युवराज रेग्मीको सहयोगमा पहिलो दिन कक्षा बालविकास देखि ८ सम्मका विद्यार्थीलाई विद्यालयमा नै शिक्षक, व्यवस्थापन समिति, कर्मचारीले खाजाका रुपमा खीर तयार पारी खुवाइएको छ ।
खाजा सहयोग गर्नुहुने रेग्मीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु गौतमले खादा ओढाएर सम्मान गरे । रामपुर नगरपालिकाका कार्यपालिका सदस्य सावित्रा गौतमले दिवा खाजाका लागि सामुदायिक विद्यालयमा कक्षा बालविकास देखि पाँच सम्म रामपुर नगरपालिकाले दैनिक एक विद्यार्थी पन्ध्र रुपैयाँका दरले रकम सहयोग गर्ने बताइन् ।
नगरपालिकाले कक्षा बालविकास देखि पाँच सम्मका विद्यार्थीलाई मात्र खाजा सहयोग गर्ने कार्यक्रम रहेपनि विद्यालयले कक्षा ६, ७ र ८ का विद्यार्थीलाई पनि अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षक बीच छलफल गरेर विद्यालयमा नै तयार पारेर खाजा खुवाउने योजना बनाएको प्रधानाध्यापक यशोदा डुम्रे भण्डारीले जानकारी दिइन् ।
यस विद्यालयमा हाल कक्षा बालविकास देखि आठ सम्म एक सय ९० जना विद्यार्थी रहेका छन् । विद्यालयमा हरेक दिन फरक फरक खालको खाजा बनाएर खुवाउन एक जना कर्मचारी समेत व्यवस्थापन गरिएको छ ।

SHARE