रामपुरका आलु कृषकलाई प्रबिधि तालिम

0
367

सुशीला रेग्मी

पुस २४,२०७७ पाल्पा :आलु ब्लक क्षेत्रका कृषकलाई आलु खेती सम्बन्धी प्रबिधि सिकाउन थालिएको छ । आलुको ब्लक क्षेत्र रहेको रामपुर नगरपालिका वडा नं ६ का कृषकलाई उत्पादन बढाउन खेती गर्ने प्रबिधि तथा ज्ञान सीप सिकाउन थालिएको छ । विजयपुर कृषि सहकारी संस्था रामपुरको आयोजना तथा कृषि ज्ञानकेन्द्र तानसेन पाल्पाको सहयोगमा एक कार्यक्रम आयोजना गरी आलु खेती सम्बन्धी सीप सिकाउन थालिएको हो ।

संस्थाका अध्यक्ष ओमप्रकाश रेग्मीको अध्यक्षतामा भएको तालिमको उद्घाटन नगर प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले गरे । उनले आलु खेतीबाट कृषकलाई घाटा नहुने हुदा राम्रै उत्पादन लिन सकिने बताउदै आलुले बजार पाउदैन कि भन्ने चिन्तामा नरहन कृषकलाई आग्रह गरे ।
आलु खेतीका अलवा अन्य कृषि खेती गर्न चाहने कृषकलाई वडाले सहयोग गर्ने उनले बताए ।

संस्थाका उपाध्यक्ष घनश्याम देवकोटाको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सचिव एकराज ढकालले गरेका थिए । कार्यक्रममा सिताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णकुमार अर्याल, वडा सचिव बासुदेव ढकाल, संस्थापक अध्यक्ष सुर्यप्रसाद रेग्मी लगायतले बोल्दै तालिम सफलताको शुभकामना दिए ।

तालिमको सहजिकरण नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेयले गरेका थिए । उनले आलु बालिमा लाग्ने रोग, किरा, मलजल, भण्डारण र बजारीकरण सम्बन्धमा कृषकलाई ज्ञान सीप सिकाए ।
आलु ब्लक क्षेत्र भित्र रहेका कृयकलाई तालिम दिईएको हो । रामपुर नगरपालिका वडा नं ६ मा कृषि ज्ञानकेन्द्रको सहयोगमा आलु ब्लक कार्यक्रम अन्तर्गत छ सय रोपनी र रामपुर नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत वडा नं ६ को सहयोगमा आलु खेती गरिएको छ । वडा नं ६ भित्र करिव एक हजार दुई सय रोपनी क्षेत्रफल भित्र आलु खेती गरिएको छ ।

SHARE