रामपुरमा आलु खेती अनुगमन

0
728

सुशीला रेग्मी

पुस २२,२०७७ पाल्पा : आलु ब्लक क्षेत्र रहेको पाल्पा रामपुर नगरपालिका वडा नं ६ मा लगाइएको आलु खेती अनुगमन गरिएको छ । नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत वडा नं ६ मा लगाइएको आलु खेती प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य सहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमन टोलीमा नगर प्रवक्ता तथा वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपाने, कृषि शाखा प्रमुख रामहरी पाण्डेय, प्राबिधिक प्रज्ज्वल केसी, वडा सदस्यहरु थिरलाल ढकाल, यमबहादुर भुजेल, वडा सचिव बासुदेव ढकाल, ईन्जिनियर शंकर कंडेल, विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश रेग्मी, पत्रकार लगायतको टोलीले अनुगमन गरेको हो ।

कृषि ज्ञानकेन्द्र र वडा कार्यालयको सहयोगमा ब्लक कार्यक्रम अन्र्तगत करिव छ सय रोपनी भन्दा बढी क्षेत्रफलमा आलु खेती गरिएको छ । विदेश गएर गाउँ फर्केका र कोभिड १९ को मारमा विभिन्न पेशा, व्यवसाय गुमाएका युवाहरुले सामुहिक आलु खेती गरेका छन् ।
आलु ब्लक कार्यक्रम अन्र्तगत सातबिसे, विजयपुर, कौवा, प्याक्लुक, कंडेलवारी कुलो क्षेत्रमा लगाइएको आलु अनुगमन गरिएको छ । आलु खेतीले रामपुरमा कृषि पर्यटन बढाउने र कृषकको आयस्तर उकास्ने प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य बताउँछन् ।
रामपुरमा बाहिरबाट आलु भित्रने क्रम न्युनिकरण गर्न आलु खेती उत्पादनमा जोड दिएको र कृषकले उत्पादन गरेको आलुले बजार नपाएको खण्डमा वडा कार्यालयले व्यवस्थापन गर्ने नगर प्रवक्ता तथा वडा अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए । वडा कार्यालयले तीन वर्ष देखि आलु खेतीमा कृषकलाई सहयोग गर्दै आइरहेको छ ।

SHARE