१० जना दरबन्दी रहेको गुल्मी कारागारमा दुई कर्मचारी

0
427

कात्तिक २, २०७६ गुल्मी : गुल्मी कारागारको दरबन्दी १० जना भए पनि दुई जना मात्रै कर्मचारी कार्यरत छन्।  कारागारमा एक कार्यालय प्रमुख, एक नायब सुब्बा, एक खरिदार, एक सह–लेखापाल, एक अहेब, एक कम्प्युटर अपरेटर तथा चार कार्यालय सहयोगीको दरबन्दी कायम गरिएको छ। तर, अहिले कार्यालय प्रमुख र कम्प्युटर अपरेटर मात्र रहेको कम्प्युटर अपरेटर तथा सूचना अधिकारी प्रभात मल्लिकले जानकारी दिए। चार जना करारका कार्यालय सहयोगी रहेका छन्। कारागारका कैदीबन्दीलाई सामान्य स्वास्थ्य उपचारका लागि पनि अस्पताल लानुपर्ने बाध्यता रहेको छ। कारागारको अहेब पद वर्षौदेखि रित्तो छ। दैनिक एक जना कर्मचारी र सुरक्षाकर्मी उपचारकै लागि अस्पताल धाउनुपर्ने कारागार प्रमुख अर्जुनध्वज थापाले बताए। मुटु र दमलगायतका रोगको लामो समय औषधि सेवन गर्ने र छिटो–छिटो उपचार गराउनुपर्ने पनि पाँच जना कैदीबन्दी छन्।  कर्मचारीको अभावले कैदीबन्दीको खानपान र अन्य व्यवस्थापनमा समस्या भएको प्रमुख थापा बताउँछन्। अहिले कारागारमा नायब सुब्बाको पत्र आएको छ। तर, कर्मचारी आइनपुगेको थापाको भनाइ छ।  ‘दुई जना मात्रै कार्यालयमा छौँ। बैठक, तालिम तथा बिरामी परे सहयोगी मात्रै हुने अवस्था छ,’ प्रमुख थापाले भने, ‘पत्र आउँछ कर्मचारी आउँदैनन्।’

SHARE