पाल्पामा स्थानीय क्लबसंग उपभोक्ता जागरण कार्यक्रम

0
664

सुशीला रेग्मी

पुस १८,२०७७ पाल्पा : घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जिल्लाका दशवटै स्थानीय तहमा स्थानीय स्तरका क्लबमार्फत उपभोक्ता जागरणका लागि अन्तक्रिया कार्यक्रम संचालन गरिरहेको छ ।
उपभोक्तालाई सचेत बनाउन स्थानीय स्तरका क्लबमार्फत कार्यक्रम संचालन सम्बन्धी छलफल तथा अन्र्तक्रिया कार्यक्रम विभिन्न पालिकाहरुमा भइरहेका छन् । पाल्पाको रामपुर नगरपालिका भित्रका स्थानीय क्लबसंग भएको अन्र्तक्रिया कार्यक्रममा सहभागीले उपभोक्ता तथा व्यापारीलाई सचेत बनाउन सचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिएका छन् ।

बजारमा ऐन नियमावलीलाई मिचेर मनपरी ढंगले सामान बेच्ने व्यापारीलाई सचेत बनाउँदै क्लबले निगरानी गर्ने र यदी कसैले म्याद नाघेका सामान, अखाद्य पदार्थ बिक्रि गर्ने, प्रक्रिया अनुसार व्यवसाय संचालन गरे नगरेको निगरानी गर्ने र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा जानकारी गराउने कार्यक्रममा सहभागी मटेरी युथ युनियन क्लबका सचिव तथा नवदुर्गा माविका शिक्षक दिपेन्द्रप्रसाद भट्टराईले बताए ।

रामपुर नगरपालिकाको समन्वयमा भएको अन्र्तक्रिया कार्यक्रममा नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले उपभोक्ता सचेत नहुँदा र व्यापारीले ऐन नियमावलीलाई मिचेर व्यवसाय चलाउदा आम नागरिक मारमा परेको बताइन् । उपभोक्ता हितको लागि स्थानीय स्तरका क्लबसंग सहकार्य गरेर नगरपालिकाले काम गर्ने नगर उपप्रमुख आचार्यको भनाई छ । रामपुर नगरपालिकाले अनुगमनलाई तीव्रता दिन थालेपछि पहिला भन्दा नगरका बजारमा सामान मनपरी ढंगले बेच्ने, सडक मिचेर व्यापार गर्ने, उपभोक्तालाई ठग्ने क्रम भने कम भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका प्रमुख देविराम भण्डारीले कार्यक्रमको सहजिकरण गर्दै उपभोक्ता नै सचेत नभएकाले व्यापारीले कमसल खालका, म्याद नाघेका, अखाद्य वस्तु बेच्ने गरेको बताए । उपभोक्ता आफै सचेत भएर सामानको लेबल भए नभएको, उत्पादन मिति, खाद्य अखाद्य पदार्थ भए नभएको हेरेर बुझेर मात्र खरिद गर्ने गरेमा सुधार आउने प्रमुख भण्डारी बताउछन् ।

अन्र्तक्रिया कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका बाणिज्य उपाध्यक्ष दुर्गाप्रसाद भट्टराईले उपभोक्ता र व्यापारी दुबैलाई सचेत बनाउन नगरपालिका संग समन्वय गरी संघले पनि सहयोग गर्ने बताए । उपभोक्ता हित संरक्षण समिती मन्चका प्रतिनिधी विष्णुप्रसाद रेग्मीले नियम विपरित व्यापार गर्नेलाई कानुनी कारबाही गर्नुपर्ने र उपभोक्ता आफै नै सचेत भएमा समस्याको समाधान हुने बताए ।

नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका कम्प्युटर अधिकृत थमनबहादुर सारुले गरेका थिए । जिल्लाका दश स्थानीय तहमा स्थानीय स्तरका क्लबमार्फत उपभोक्ता जागरण कार्यक्रम अन्तर्गत रामपुर नगरपालिका सँगै तिनाउ र वगनासकाली गाउँपालिकामा कार्यक्रम संचालन भएको र अन्य पालिकामा कार्यक्रम आयोजना गर्ने तयारी भएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिए ।

कार्यक्रममा स्थानीय क्लबका प्रतिनिधि, उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण समिती, कार्यपालिकाका सदस्य, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

नेपालको संविधान अनुसार धारा ४४ मा उपभोक्ताको अधिकार मौलिक हकको रुपमा रहेकोछ । जहाँ प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार हुनेछ, गुणस्तरहिन वस्तु तथा सेवावाट क्षति पुगेको व्यक्तिलाई कानुन वमोजिम क्षतिपुर्ति पाउने हक हुनेछ भनी उल्लेख गरिएको छ । गुणस्तरीय वस्तु तथा सेवा प्राप्तिको लागि, उपभोक्ताको संवैधानिक अधिकारको संरक्षण तथा सम्वर्दधन गर्नका लागि उपभोक्ता संरक्षण ऐन,२०७५ ल्याइएको छ । गुणस्तरीय वस्तु तथा सेवा उत्पादन गर्ने, वस्तुको लेबल निर्धारण गर्ने, लेबलमा ऐनले तोके बमोजिमका कुरा उल्लेख गर्ने, त्रुटिपुर्ण उत्पादन नगर्ने, आफूले उत्पादन गरेको वस्तु त्रुटिपूर्ण उत्पादन भई त्यस्तो वस्तु बजारमा रहेको कुरा जानकारीमा आएमा त्यस्तो वस्तु संकलन गरी नष्ट गर्ने कार्य गर्नुपर्दछ ।
त्यस्तै वस्तु वा सेवाको उत्पादनको कारण उपभोक्तालाई कुनै किसिमको क्षति भएमा सोको मनासिव क्षतिपूर्ति दिने, वस्तु वा सेवाको गलत वा भ्रामक विज्ञापन वा प्रचार प्रसार नगर्ने, दुई वा दुई भन्दा बढी पदार्थको समिश्रणबाट बनेको वा उत्पादित वस्तुमा रहेका त्यस्ता पदार्थको मात्रा, तत्व वा प्रतिशतको जानकारी दिनुपर्ने, कानून बमोजिम तोकिएका अन्य शर्त पूरा गर्नु नै उत्पादकको दायित्व भित्र पर्दछ ।

SHARE