दाङमा हात्तीपाइलेको संक्रमण बढ्दो क्रममा

0
446
सांकेतिक तस्बिर

पुस ८,२०७७ दाङ : हात्तीपाइले रोगविरुद्ध प्रत्येक वर्ष औषधि खुवाइँदै आए पनि दाङमा संक्रमणमा कमी आएको छैन। दाङको विभिन्न ठाउँबाट २ हजार ५४२ जनाको नमुना संकलन गरी परीक्षण गर्दा १५८ जनामा अर्थात् ६ प्रतिशतमा हात्तीपाइलेको संक्रमण देखिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ।

दाङमा १० वर्षदेखि निरन्तर हात्तीपाइलेविरूद्धको औषधि खुवाउने अभियान सञ्चालन हुँदै आएको छ। राष्ट्रिय हात्तीपाइले कार्यक्रम प्रिभ्यालेन्स सर्भेको नतिजाअनुसार सबैभन्दा बढी गढवा गाउँपालिकामा संक्रमित फेला परेको छ। वडा नम्बर २ मा ३३० जनाको नमुना परीक्षण गर्दा ६२ जना अर्थात् १८।७९ प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

त्यस्तै, घोराही उपमहानगरपालिका–१० नारायणपुरबाट ३३३ जनाको परीक्षण गर्दा १२ जना, वडा नम्बर १६ बाहुनडाँडाबाट ३०९ जनाको परीक्षण गर्दा पाँच, वडा नम्बर २ रामपुरबाट ३११ जनाको परीक्षण गर्दा १८ जनामा हात्तीपाइले रोगको संक्रमण देखिएको कार्यालयका फोकल पर्सन कमल चन्दले जानकारी दिए।

तुलसीपुर उपमहानगरपालिका–१० टरिगाउँबाट ३०८ जनाको परीक्षण गर्दा आठजना, वडा नम्बर १९ हाडिमेबाट ३२२ जनाको परीक्षण गर्दा आठजनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, राप्ती गाउँपालिकाको सिसहनियाँबाट ३२२ जनाको परीक्षण गर्दा २९ जना र लमही नगरपालिका–६ बाट ३०७ जनाको नुमना परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको फोकल पर्सन चन्दले जानकारी दिए।

SHARE