शहीद सूर्यप्रसाद घिमिरेको सपना साकार पार्न ज्ञापनपत्र

0
378

सुशीला रेग्मी

रामपुर (पाल्पा), १ पुष

शहीदको योगदान र सपना साकार पार्न माग गर्दै चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीलाई ज्ञापनपत्र बुझाइएको छ । २०४६ सालको जनआन्दोलनका क्रममा देश र जनताको लागि प्रजातन्त्र ल्याउन लड्दै गर्दा शहीद हुनुभएका सूर्यप्रसाद घिमिरेका धर्मपत्नी राधा घिमिरे, शहीद सुपुत्री तथा रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य र शहीद सूर्यप्रसाद घिमिरे अध्ययन केन्द्रका अध्यक्ष लक्ष्मण भट्टराईले नगर प्रमुख गिरीको कार्यकक्षमा पुगेर ज्ञापनपत्र हस्तान्तरण गरेका हुन ।

ज्ञापन पत्रमा शहीदले देशको नाममा गरेको बलिदानलाई स्मरण गर्दै शहीदको सपना पुरा गर्न तथा शहीद परिवारको विभिन्न समस्यामा सहयोग र्गन अनुरोध गर्दै शहीद सूर्यप्रसाद घिमिरेको शालिक निर्माण गरिदिन उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख गिरीले शहीदको योगदान र सपनालाई साकार पार्ने बताउँदै तत्काल बैठक बसेर शहीद घिमिरेको सालिक निर्माण गर्ने निर्णय गरी काम अगाडी बढाउने बताएका छन । शहीद धर्मपत्नी राधा घिमिरेले देश र जनताको लागि लड्दै गर्दा ज्यान गुमाउनु भएका पतीको नाममा अहिले सम्म कुनै पनि निकायबाट सम्बोधन नभएको हुदा दुख लागेको बताइन ।

शहीद घिमिरेका सुपुत्री तथा रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले रामपुर नगरपालिकाले शहीदको योगदानलाई भुल्न नदिने खालका कार्यक्रम गर्ने जानकारी दिइन ।

“देश र जनताको लागि लड्दै गर्दा बुबाले ज्यान गुमाउनु प¥यो, शहीद सूर्यप्रसाद घिमिरे त एउटा प्रतिनिधि पात्र हो, उहाँहरु जस्ता धेरैले देश र नेपाली जनताको लागि लड्दै गर्दा मृत्युवरण गर्नु परेको छ, शहीद परिवारलाई राज्यले उपेक्षा गरेको र अब शहीदको योगदान र सपना पुरा गर्न सकियो भने देशले निकास पाउनेछ ” नगर उपप्रमुख आचार्यको भनाइ छ ।

शहीद सर्यप्रसाद घिमिरेको नाममा अहिले सम्म कुनै पनि तहबाट सहयोग तथा कार्यक्रम नभएको र शहीदको सपना साकार पार्न अब स्थानीय निकायले कदम चाल्नुपर्ने शहीद सूर्यप्रसाद घिमिरे अध्ययन केन्द्रका अध्यक्ष लक्ष्मण भट्टराईले बताए ।

SHARE