रोजगार गुमेपछि पाल्पाका युवा बङ्गुरपालनमा

0
479

मंसिर २२,२०७७ पाल्पा : कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैतदेखि लकडाउन गर्‍यो । लकडाउनका कारण स्वदेश तथा विदेशमा धेरैले रोजगारी गुमाउनु पर्‍यो । रोजगारी गुमाउनेमध्येका हुन्, तानसेन नगरपालिका– १४ का रमेश परियार । काठमाडौंस्थित होटलमा कुकम्यानका रुपमा रहेका परियार सात महिनादेखि बेरोजगार भएका छन् ।

रोजगारी गुमेसँगै आफ्नो जन्मथलो कुसेनीमा परिवारसँगै बसोबास गर्दै आएका परियारलाई ग्रामीण आर्थिक विकास संघ रेडा, तानसेन नगरपालिकाको आयोजना र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम सहयोगमा बङ्गुरका पाठापाठी र खोरका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

व्यावसायिकरुपमा बङ्गुरपालन गर्न थालेसँगै उनलाई रोजगारी गुमाएको अहिले कुनै गुनासो छैन । बङ्गुरको स्थानीयस्तरमा नै खपत राम्रो हुने भएकाले बजारको कुनै समस्या नरहेको उनी बताउँछन् । परिवारले अनुदानमा तीनवटा बङ्गुर पाए पनि १० वटा पालन गर्ने योजनामा रहेको उनले बताए ।

एउटा बङ्गुरबाट पाठापाठी उत्पादन गरी रु एक लाख आम्दानी लिन सकिने परियारको भनाइ छ । कोभिड–१९ को प्रतिकार्यका लागि युवा उद्यमशीलता विकास परियोजनाका माध्यमबाट सामाजिक तथा आर्थिक पुनःप्राप्ति कार्यक्रमअन्तर्गत बङ्गुरका पाठापाठी २० युवालाई वितरण गरिएको हो । रोजगारी गुमाएका बेरोगार युवालाई दुई पाठी र एक पाठा गरी तीन वटाका दरले बङ्गुरका पाठापाठी वितरण, खोर निर्माणका लागि रु १० हजार तथा प्राविधिक सहयोग गरिएको ग्रामीण आर्थिक विकास संघका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए ।

सोही स्थानका पदमबहादुर दर्जीले कोभिड–१९ का कारण रोजगारी गुमाए । लामो समयदेखि भारतमा कुकम्यानका रुपमा कायरत दर्जी रोजगारी गुमाएपछि घर फर्किए । निक्कै दुःख कष्ट गरी एक छोरा, एक छोरी र श्रीमतीका साथ पाल्पाको अर्गली घर फर्किए । घरमा आएसँगै पैसाको अभाव भएपछि दर्जी पनि बङ्गुरपालन व्यवसायमा आकर्षित भए । दुई वटा थप गरी पाँचवटा बङ्गुरपालन गर्न थालेका छन् । खोरलाई रु १० हजार आर्थिक सहयोग पाएपछि अझै काम गर्न सजिलो भएको दर्जीको भनाइ छ ।

वर्षमा दुईपटक एउटा बङ्गुरबाट पाठापाठी उत्पादन हुने भएपछि राम्रो आम्दानी हुने आशा दर्जीको छ । विस्तारैविस्तारै बङ्गुरको सङ्ख्या बढाउने सोचमा रहेका दर्जी अब भारतमा पैसा कमाउन नजाने सोचमा छन् ।

स्थानीय बजारमा बङ्गुरका पाठापाठी रु पाँच हजारभन्दा बढीमा कारोवार हुन्छ । बङ्गुरको मासु प्रतिकिलो रु ४ सयमा कारोवार हुँदै आएको छ । यसको मासुको खपत बढ्दो छ । तानसेन नगरपालिका–१० र १४ का रोजगारी गुमाएका र बेरोजगार युवालाई उद्यमी बनाउनका लागि युवालाई बङ्गुरका पाठापाठी एक पाठा, दुई पाठी वितरण गरिएको छ ।

रेडाका अधिकृत डा लेखनाथ अधिकारीले बङ्गुरपालन गर्दा पोषणयुक्त आहाराको उचितरुपमा व्यवस्थापन र प्रजननका समय ध्यान दिँदा यस व्यवसायबाट प्रशस्त आम्दानी गर्न सकिने बताए । उनले स्थानीय बजारमा बङ्गुरको मासुको माग बढ्दो रहे पनि आपूर्तिमा समस्या रहेको बताए ।

नगर प्रमुख अशोककुमार शाहीले तानसेनभित्र सञ्चालित युवा उद्यमशीलताको कार्यक्रम अहिले नमूना बनेको बताए । उनले तानसेनबाट सुरुवात गरिएको कार्यक्रम अहिले अन्य स्थानीय तहलेसमेत अनुशरण गरी कार्यान्वयनमा ल्याएको जानकारी दिए ।

उनले कोभिडका कारण विदेशमा रोजगारी गुमाएका तथा बेरोजगार युवालाई रु दुई करोड ९० लाख बजेट विनियोजन गरिएको बताए । उपप्रमुख लक्ष्मीदेवी पाठकले आफ्नै खेतबारीमा मेहनत गरेको अवस्थामा पैसा कमाउन विदेश धाउनुपर्ने बाध्यता सधैँका लागि अन्त्य हुने बताइन् ।

SHARE