विमला ढकाल
मंसिर १७,२०७७ बर्दिया : कात्तिक ११ गते पाटे बाघको आक्रमणबाट नेपाल(भारत सीमा क्षेत्रसँग जोडिएको बर्दियाको मधुवन नगरपालिकामा साला(भिनाजु दुई जनाको ज्यान गयो। नेपाल भारत सीमानजिक मधुवन नगरपालिका ३ मा पर्ने पुरानो भन्सार कार्यालय धनौरानजिक बेलझुण्डी सामुदायिक वनमा पाटे बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको थियो।
बिहानै सामुदायिक वनमा च्याउ खोज्न गएका मधुवन नगरपालिका ३ मुक्तकमैया बस्तीका २७ वर्षीय दिनेश चौधरी दिउँसोसम्म नआएपछि आफन्तहरु खोजी गर्न जाने क्रममा २६ वर्षीय रमेश थारूलाई पनि बाघले आक्रमण गरी ज्यान लियो।
त्यसको एक साताअघि बाघको आक्रमणमा परि सामुदायिक वनमा डालेघाँस काट्न गएकी मधुवन ३ की एक महिलाको ज्यान गएको थियो। यस्तै झण्डै डेढ महिना अघि माछा मार्न गएका मधुवन नगरपालिकाकै एक किशोरको पनि बाघको आक्रमणमा परी ज्यान गयो।
यस्तै, कात्तिक १५ गते बाघकै आक्रमणबाट फेरि एक जनाले ज्यान गुमाए। बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रसँग सीमा जोडिएको गेरुवा गाउँपालिकामा पाटे बाघको आक्रमणबाट गेरुवा गाउँपालिका ४ राजिपुरका ६८ वर्षीय लहानु थारुको ज्यान गयो।
घरनजिकै रहेको खोलामा गोरुलाई पानी खुवाउने क्रममा पाटे बाघले लहानु थारूलाई आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको थियो। यस्तै, केही दिनअघि मात्रै पाटे बाघकै आक्रमणबाट १ महिला घाइते भएकी छन्। पछिल्लो समय बर्दियामा बाघ आक्रमणका घटना बढ्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।
मानव र वन्यजन्तुबीचको द्वन्द्व पनि बढ्दो छ। संरक्षण अभियानमा स्थानीयहरू सकारात्मक हुँदाहुँदै पनि जंगली जनावरको आतंकका कारण वर्षभरिको खाने अन्नपात एकै दिनमा सखाप पारीदिन थालेपछि प्रतिशोधको भावनाले गर्दा मानव–वन्यजन्तु बीचको द्वन्द्व अहिले बढिरहेको बर्दिया निकुञ्जको भनाइ छ।
मान्छे मार्ने बाघ नियन्त्रणमा लिइयो
लगातार बाघ आक्रमणबाट घटना बढ्न थालेपछि बर्दिया राष्ट्रिय निकुञ्जले एउटा पाटेबाघ नियन्त्रणमा समेत लिएको छ। मान्छे मार्ने बाघ तत्काल नियन्त्रणमा लिनुपर्ने वा मार्नुपर्ने स्थानीयले दबाब गरेपछि बर्दिया निकुञ्जको टोलीले गेरुवा क्षेत्रबाघ केही दिन पहिले त्यो बाघलाई नियन्त्रणमा लिएको थियो। उक्त बाघ अहिले निकुञ्ज मुख्यालय ठाकुरद्वारमा खोर बनाएर राखिएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम कुमार थापाले जानकारी दिए।
यस्तै, बर्दियाको मधुवन क्षेत्रमा पनि मान्छे मार्ने बाघ नियन्त्रणमा लिने तयारी भइरहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ। बाघ आक्रमणका घटना बढेसँगै स्थानीयलाई बिहान ९–१० बजेसम्म र साँझ ४–५ बजेपछि जंगलमा प्रवेश नगर्न आग्रह गरिएको डिभिजन वन प्रमुख महेन्द्रराज वाग्लेले बताए। यो समयमा बाघ आहाराका लागि सक्रिय हुने भएकाले जंगल प्रवेश नगर्न उनले स्थानीयबासीमा आग्रह गरेका छन्।
यस्तै, जंगली जनावरले बालीनाली नोक्सान गरेपछि बर्दियाका किसानहरू चिन्तित बन्न थालेका छन्। जंगली जनावर बँदेल,नीलगाईले हिउँदे बाली, तोरीसँगै तरकारी खेती नोक्सान गरेपछि किसान चिन्तित बनेका हुन्।
जंगली जनावरले आफ्नो बाली क्षति गरेको बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्तीका अधिकांश किसानको दुखेसोे छ। राति जंगली जनावर करेसाबारीमा आउने र बालीनाली क्षति गर्ने गरेको ठाकुरबाबा नगरपालिकाको बकुवाकी स्थानीय विनिता पौडेलले बताइन्।
जंगल एरियामा हुन्छन् धेरै घटना
बाघ हेर्न भनेपछि सबैको मुखमा अहिले बर्दिया झण्डिएको हुन्छ। बर्दिया राष्ट्रिय निकुञ्जमा बाटेबाघको संख्या बढ्दै गएका कारण धेरै मानिसहरू बाघ हेर्नकै लागि भए पनि बर्दिया आउने गरेका छन्। तर, त्यही बाघ अहिले आक्रामक बन्दा बर्दियाबासीले सास्ती खेप्नु परेको छ।
वन र वन्यजन्तु संरक्षणका लागि जुट्दै आएका मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दामा अहिले बाघ गाउँमै पसेर स्थानीयको ज्यान लिने गरेपछि त्रासमा भएको मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दा श्याम थारूले बताए।
बाघले स्थानीय घाँस दाउरा लिन जंगल गएका बेला अथवा जंगल आसपासका गाउँमै पसेर भए पनि मानिसको ज्यान लिने गरेको छ। स्थानीय बासिन्दा जंगल प्रवेश गरेका बेला बाघसँग जम्काभेट हुने भएकाले बाघको आक्रमणका घटना बढेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका पमुख डा।रविन कडरियाको भनाई छ।
धेरैजसो घटना जंगल एरियामै हुने गरेको उनको भनाई छ। बाघ आक्रमणका घटनाहरु बढिजसो जंगल यरिया तथा मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन आसपासमा हुने गरेका छन्। बर्दियाको मध्यवर्ती क्षेत्रमा जंगली जनावरबाट स्थानीय बढि पिडित हुने गरेका छन्। बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो तथ्यांक अनुसार ८७ पाटेबाघ रहेका छन्।
यस क्षेत्रका स्थानीयले बाघ आक्रामक बन्दै भनिरहेका बेला संरक्षणकर्मीले भने बाघ आक्रामक बनेको नभई जम्का भेटका कारण यस्ता घटना घट्ने गरेको बताएका छन्। बाघ आहाराको खोजीमा रहेका तथा बच्चासँगै रहेको र भाले बाघहरू जुधेको बेला मानिस उसको अगाडि परेमा बाघले आक्रमण गर्न सक्छ।
यस्तै, बाघ बुढो हुँदै गयो भने भित्री जंगलहरुमा अन्य बाघसँग जुध्न नसक्ने भएका कारण जंगल किनारमा आएर बस्ने र आहाराका लागि जे अगाडि पर्यो त्यही खाने गर्छ।
मध्यवर्ती क्षेत्रका बासिन्दा घाँस दाउरा लिन तथा अन्य कामका लागि निकुञ्ज तथा राष्ट्रिय वनमा प्रवेश गर्ने गरेकै कारण स्थानीयले अकालमै ज्यान गुमाउने गरेका कतिपय संरक्षणकर्मीको बुझाई छ। वन्यजन्तुको बासस्थान विनास नगर्ने र उनीहरूलाई बाधा नपुर्याउने हो भने मात्रै पनि यस्ता घटनामा कमी आउने संरक्षणकर्मीहरूले बताएका छन्।