रामपुरमा आलु रोप्ने मेसिन भित्रिएपछि कृषकमा उत्साह

0
1690

सुशीला रेग्मी

रामपुर (पाल्पा), ११ मङ्सीर

पाल्पाको रामपुर नगरपालिकामा मेसिनबाट आलु रोप्ने प्रबिधि भित्रिएपछि कृषकमा उत्साह बढेको छ । आलु पकेट क्षेत्रका रुपमा विकास हुदै गरेको रामपुर नगरपालिका वडा नं ६ मा नगर प्रमुख रमणबहादुर थापाले आलु रोपेर मेसिनको शुभारम्भ गर्नुभएको छ । मेसिनबाट आलु रोप्दा समयको सदुपयोग र लागत कम परेकाले आलु रोप्ने कार्य अत्यन्तै राम्रो लागेको नगर प्रमुख थापा बताउनुहुन्छ ।

“नागरिकको आर्थिक स्तर बढाउन कृषि उत्पादनमा जोड दिएका छौँ, कृषि उत्पादनलाई भण्डारण गरेर राख्नका लागि रामपुरमा तीन सय मेट्रिकटन क्षमताको शित भण्डार निर्माण कार्य भइरहेको छ” नगर प्रमुख थापाले भन्नुभयो । उहाँले बुटवल भैरहवाबाट गाडीमा आलु ठुलो परिमाणमा रामपुरमा भित्रिने गरेकोमा अब अन्य बजारमा पठाउने गरी उत्पादन बढाउन कृषकलाई अनुरोध गर्नुभयो ।

रामपुर नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत वडा नं ६ लाई आलु पकेट क्षेत्रका रुपमा अगाडी बढाइएको छ । प्रदेश सरकारको सहयोगमा आलु ब्लक कार्यक्रममार्फत ६०० रोपनी क्षेत्रफलमा र वडाको पकेट क्षेत्र कार्यक्रम गरी करिव एक हजार दुई सय रोपनी क्षेत्रफलमा आलु लगाउने कार्यक्रम रहेको वडा अध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभएको छ ।

आलु रोप्ने मेसिन कृषि ज्ञानकेन्द्र पाल्पामार्फत ५० प्रतिशत अनुदान सहयोगमा आलु ब्लक क्षेत्रलाई परेको हो । आलु खेतीका लागि रामपुर नगरपालिका कृषि शाखा कार्यालय मार्फत अनुदान सहयोगका कार्यक्रम संचालन भइरहेको शाखा प्रमुख रामहरी पाण्डेले बताउनुभयो ।

रामपुरमा भित्रिएको नयाँ प्रबिधिबाट आलु रोप्न थालिएपछि अवलोकन गर्ने कृषकको बाक्लो उपस्थिती देखिन्थ्यो । विजयपुर कृषि सहकारीको समन्वयमा नगरको एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत वडा नं ६ मा आलु खेती गरिएको हो । दिनभर चार जना खेतालाले गर्ने काम मेसिनको सहायताबाट २० मिनेटमा नै सम्पन्न हुने भएपछि आलु रोप्न लागत र मेहनत कम पर्ने भएको छ । आलु ब्लक क्षेत्रमा ६ वटा समुहमा खेती गरिएको विजयपुर कृषि सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश रेग्मीले जानकारी दिनुभयो । कृषकले जनकदेव र कार्डिनल जातको आलु लगाउँदैछन् ।

SHARE