
सुशीला रेग्मी
मंसिर १२,२०७७ पाल्पा : पाल्पा रामपुर नगरपालिकाका जनप्रतिनिधिले आलु खेती सुरु गरेका छन् ।
रामपुर नगरपालिका वडा नं ५ मटेरीमा नगरका कार्यपालिका सदस्यहरु मिलेर आलु खेती सुरु गरिएको छ । वडा नं ५ का अध्यक्ष हिमाल मल्ल र वडा सदस्य विष्णुप्रसाद बस्यालले संयुक्त रुपमा आलु लगाएर कार्यक्रम सुरु गरेका छन् ।
नगरपालिकाका कार्यपालिका सदस्यहरुले कृषि उत्पादनलाई बढाउन आलु लगाउने कार्यक्रम गरेको जनाएका छन् । कार्यपालिका सदस्यहरु साबित्रा गौतम, दुर्गादेवी भण्डारी गौतम, सिमादेवी राना, बालकुमारी थापा, गिता क्षेत्री, सबिता पुलामी र देवबहादुर दर्जीले सामुहिक रुपमा आलु लगाएका हुन् ।
आलु खेतीको नगर प्रमुख रमणबहादुर थापाले अनुगमन गर्दै जनप्रतिनिधि आफै कृषि कार्यमा लागेको देख्दा खुशी लागेको बताउँदै नगरका बाँझो जग्गामा माटो सुहाउँदो खेती गरेर आयस्रोत लिन सकिने बताए । आलु लगाउने तरिकाबारे नगरपालिकाका कृषि शाखा प्रमुख रामहरी पाण्डेय, कृषि प्राबिधिक प्रज्ज्वल केसी, पशु शाखा प्रमुख तुल्सीराम काफ्लेले प्रयोगात्मक सीप सिकाए ।
नगरपालिकाले कृषिका गतिबिधिलाई जोड दिएको छ । नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन र कृषिबाटै नगरको आर्थिक समृद्धि बढाउन युवालाई अनुदान, वीउ विजन, मेसिनरी सामग्रीमा अनुदान सहयोगका कार्यक्रम उपलब्ध गराएको छ ।









