रुपन्देहीमा एक अनमीसहित तीन जना संक्रमितको मृत्यु

0
337

कात्तिक २५,२०७७रुपन्देही : रुपन्देहीमा स्वास्थ्यकर्मीसहित थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीकी एक पुरुष, एक महिला र कपिलवस्तुका पुरुष रहेका छन्।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको मधुवनी स्वास्थ्य चौकीमा कार्यरत अनमी ४८ वर्षीया महिलाको सोमबार राति भीम अस्पतालमा मृत्यु भएको हो। उनलाई कार्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

उनको स्वास्थ्यमा समस्या देखिएपछि भैरहवास्थित भीम अस्पतालको आइसियुमा उपचार गरिएको थियो। त्यहीँ उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा। नारायण पोखरेलले जानकारी दिए।

यस्तै सिद्धार्थनगर नगरपालिका–१२ का ७० वर्षीय पुरुषको पनि भीम अस्पतालमै मृत्यु भएको छ। ती पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको प्रवक्ता डा। पोखरेलले जानकारी दिए। कार्तिक १३ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका ती पुरुषमा दमको दीर्घरोग थियो।

यसैबीच लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको फिभर क्लिनिकमा कपिलवस्तुका थप एक संक्रमित पुरुषको पनि मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका–६ का ७९ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको अस्पतलाका सूचना अधिकारी डा। विष्णु गौतमले बताए।

SHARE