Friday, June 5, 2026

परियोजना कार्यान्वयन एकाई पाल्पाद्धारा अदुवा बेसार जोनको अनुगमन

0

सुशीला रेग्मी
रामपुर (पाल्पा), ३१ असार : प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई पाल्पा अन्तर्गत सञ्चालन भएको अदुवा तथा बेसार जोन कार्यक्रम तथा परियोजनाले सञ्चालन गरेका गतिविधिहरुको अनुगमन गरिएको छ ।

जोन कार्यक्रम अन्तर्गत संचालन भएका व्यावसायको अवलोकन तथा छलफल कार्यक्रम निस्दी गाउँपालिका वडा नं ५ ढुंगानावेशीमा भएको छ । पाल्पाको निस्दी, रामपुर, पूर्वखोला र बगनासकालीमा सञ्चालन भएको कार्यक्रम अन्तर्गत परियोजनाको सहयोगमा सञ्चालन भएका गतिविधिहरुको जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिको टोलीले स्थलगत अनुगमन गरेको हो ।

गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले सञ्चालन गरेको अदुवा प्रशोधन केन्द्र र जनता माध्यमिक विद्यालय निस्दी ५ ढुङ्गानाबेसीको स्थायी टनेल तथा च्याउ घरको अनुगमन गरेको हो । परियोजनाले गतवर्ष र चालु आर्थिक वर्षमा सहकारीलाई अदुवा प्रशोधन केन्द्रको लागि अदुवा धुने, काट्ने तथा पखाल्ने मेसिन प्रदान गरेको छ । परियोजना एकाईले प्राविधिक शिक्षालयको सहकार्यमा व्यवसायिक कृषि उत्पादन कार्यक्रममार्फत नर्सरी, च्याउ घर र तरकारी खेतीको लागि स्थायी टनेल निर्माणमा सहयोग गरेको जनाएको छ ।

जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिका संयोजक टंकनाथ खनाल नेतृत्वको टोलीले स्थलगत अनुगमन गरी सुझाव संकलन सहित आफ्नो राय प्रस्तुत गरेका गर्नुभएको छ । समन्वय समितिका प्रमुख खनालको अध्यक्षतामाा भएको छलफल कार्यक्रममा सहभागीले अदुवा बेसार उत्पादनमा किसानले जोड दिएपनि बजार उतारचढाव रहदा समस्या परेको गुनासा राख्नुभएको छ । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले सबै किसानलाई समेट्ने गरी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको र अदुवा संगै बेसार खेतीमा थप केन्द्रित हुन सके कृषकलाई बजारको समस्या नहुने बताउनुभयो । उहाँले अदुवा बेसार संगै सुन्तला जात फलफूलमा अनुसन्धान आवश्यक रहेकाले प्रविधिको प्रयोगमा थप लगानी गर्नुपर्ने बताउनुभएको छ ।

 

जिल्ला समन्वय समितिका उपप्रमुख काशिका गैरेले विद्यार्थीहरुको लागि कमाउँदै सिक्दै भन्ने उद्देश्यका साथ सञ्चालनमा रहेको कार्यक्रमलाई व्ययवस्थित बनाएर अघि बढ्न सके थप प्रभावकारी हुने बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले अदुवाको लागि प्राविधिक सहयोग संगै बजारिकरण र विविधिकरण गरेर बजारमा पाल्पाको अदुवा भनेर फरक पहिचान दिने खालको बनाउन सकियो भने आर्थिक क्षेत्रमा मात्र नभई पाल्पाको पहिचान बन्ने बताउनुभयो ।

 

जिल्ला समन्वय अधिकृत जनार्दन अधिकारी, जिल्ला प्रशासन कार्यालय पाल्पाका अधिकृत यज्ञश्वर पन्थी, भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र प्रमुख दुर्गा खनाल, तरकारी जोन सञ्चालन समितिका संयोजक वेदप्रसाद सुवेदी, अदुवा बेसार जोन सञ्चालन समिति (निस्दी, रामपुर, बगनासकाली र पुर्वखोला) का संयोजक हेमबहादुर खाम्चा, सुन्तलाजात जोन सञ्चालन समितिका प्रतिनिधि कृष्ण कुँवर, सुन्तलाजात फलफूल विकास केन्द्रका वागवानी अधिकृत जोगेन्द्र कान्दु लगायतले आफ्नो धारणा राख्नु भएको छ ।

गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाका व्यवस्थापक दिलमाया सारुले निस्दी ५ मा उत्पादन भएको अदुवा आर्गानिक भएको प्रमाणित गरेर प्रशोधित अदुवा जर्मन लगायत विभिन्न देशसम्म पठाईएको र सहकारी आफैले सिधै पठाउने माध्यम नबन्दा बिचौलीयाबाट ठगिनु परेको बताउनुभयो । सहकारीले यसवर्ष ४५ हजार ९५६ किलो अदुवा खरिद गरी बिक्रि गरेको छ । खरिद गरिएको अदुवामध्ये ८०५ किलो प्रशोधन गरेर र अन्यलाई विउ तथा अन्य माध्यमबाट विक्री गरिएको पाइएको छ ।

 

सहकारीका अध्यक्ष अममायाँ मश्राङ्गीले विद्युत आपूर्तिमा समस्या हुँदा प्रशोधनमा समस्या भएको बताउनुभयो । जनता माध्यमिक विद्यालयका वरिष्ठ प्रशिक्षक सुशिल भण्डारीले प्रयोगात्मक कार्यका लागि समस्या भएकोमा परियोजनाबाट भएको कार्यले थप सहज हुने बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई पाल्पाका प्रमुख टुकबहादुर थापाले छलफल कार्यक्रमको सहजिकरण गर्नु भएको हो । परियोजना सञ्चालन संगै दिगोपनाको लागि छलफल गर्दै एकाई अघि बढेको र सिक्दै कमाउँदै कार्यको लागि परियोजनाले जनता माविमा रु दश लाखको ७५ प्रतिशत अनुदान प्रदान गरेको जानकारी दिनुभयो ।

 

अदुवा बेसार कार्यक्रमका लागि विउ, यान्त्रीकरण र प्रशोधनमा परियोजनाले सहयोग गरिरहेको परियोजना कार्यान्वयन एकाई पाल्पाका प्रमुख थापाले बताउनुभयो । गल्धा सामाजिक उद्यमी महिला सहकारीले बिगत तीनवर्ष देखि गाउँमा उत्पादित अदुवा खरिद गरी बजारमा पठाउने गरिरहेको छ । अदुवा प्रशोधन केन्द्र स्थापना भएपछि गाउँको अदुवा गाउँमै प्रशोधन गरेर बजार पठाउँन किसानलाई सहज भएको छ ।

एक असल अभिभावक गुमायौं : नेकपा माओबादी केन्द्र गुल्मी

0

असार २८,२०८० गुल्मीः नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा गुल्मीका इन्चार्ज वीरबहादुर कार्कीले पार्टीका सल्लाहकार सीता दाहालको निधनले पार्टीमा एक असल अभिभावक गुमाउनुपरेको बताउनुभयो ।

जिल्ला पार्टी गुल्मीले बिहीबार आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै कार्कीले सीता दहाल पार्टीभित्र एक असल अभिभावक भएको चर्चा गर्दा उहाँको निधनले पार्टीलाई अपुरणीय क्षती पुगेको बताउनुभएको छ । दाहाल सरल ब्यक्तित्व र पार्टीलाई एकताबद्ध गर्नमा उहाँको ठूलो भूमिका रहेको बताउनुभएको छ ।

जिल्ला सचिव अशोक थापाले सीता दाहाल पार्टीको असल अभिभावक र योजनाकार भएको चर्चा गर्दै उहाँको निधनले पार्टी स्तब्ध भएको बताउनुभएको छ ।

श्रद्धाञ्जली कार्यक्रममा रेसुंगा नगरकमिटी गुल्मीका अध्यक्ष गिरी महाहाकिम,अनेमसंघ का्रन्तिकारी गुल्मीका प्रमुख गीता थापा, जिल्ला स्थित जनवर्गिय संगठनका प्रमुख तथा प्रतिनिधिहरु र कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

बढ्यो सुनको मूल्य

0

असार २८,२०८०काठमाडौ : नेपाली बजारमा आज सुनको मूल्य बढको छ। आज सुन तोलामा ८०० रुपैयाँले बढेको छ।

यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार सुनको मुल्य तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको मुल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु

0

असार २८,२०८० गुल्मीः गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर १ नेटा सिम्लेकी १५ वर्षीय टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बुधबार साँझ घरमै काम गरी रहेको समयमा चट्याङ लागेर घाइते भएकी बलालको उपचारको क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

गुल्मीमा टिकट नकाटी यात्रु राख्ने र बढी भाडा लिए कारवाही

0
जिल्ल प्रशासन कार्यालय गुल्मीको तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
असार २७,२०८० गुल्मीः जिल्ला प्रशासन कार्यालय गुल्मीले गुल्मीमा सार्वजनिक यातायातहरुले टिकट नकाटी यात्रु बोक्ने र तोकिएको भन्दा बढी भाडा लिए कारवाही गर्ने भएको छ ।

 

प्रमुख जिल्ला अधिकारी टेकबहादुर केशीले सोमबार यातायात ब्यवसायीहरुलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर जिल्ला भित्रका सडकमा चल्ने गाडीहरुले यात्रुहरुलाई अनिवार्य टिकट काटेर मात्र यात्रा गराउनुपर्ने पर्ने र तोकिएको भन्दा बढी भाडा असुले कडा भन्दा कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ ।

यात्रुहरुले बढी भाडा लिएको गुनासो प्रशासनमा गरेपछि प्रशासनले उक्त कदम चालेको जनाएको छ ।
त्यस्तै बर्षायामा पहिरोका कारण यातायात अबरुद्ध हुन नदिन हरेक सडकहरुमा डोजर स्टाण्डबाई राख्ने ,सवारी चालकले यात्रुहरुलाई अभद्र ब्यवहार गर्ने र मोवाईल प्रयोग गरी सवारी चलाउने गरेको पाइएकोले अब देखि चालकले मोवाइल चलाउन नपाइने निर्णय भएको छ ।

रातो प्लेटका गाडीहरुले अब देखि यात्रु ओसारपसार गर्न नपाउन ,२० बर्ष पुराना गाडीहरु चल्नबाट पनि रोक लगाउने निर्णय भएको छ । इन्धन डिजेल पेट्रोलको समायोजन अनुरुप सार्वाजानिक गाडीहरुको भाडा पनि समायोजन गरी सो को जानकारी प्रशासनमा पठाउनुपर्ने प्रशासनले जनाएको छ ।

यस्तै चालकले मापसे गरे नगरेको चेक जाँच पनि प्रहरीले नियमित रुपमा कडाईका साथ गर्ने भएको छ ।
सोमबार प्रशासनमा भएको निर्णयलाई कार्यन्वयन नगरे कानून अनुसारको कारवाही गरेरै छाड्ने प्रशासनले चेतावनी दिएको छ ।

 

संस्कृति संरक्षण गर्न मुसिकोटमा पन्चेबाजा वितरण

0

तिलाचन पाण्डे
असार २७,२०८० गुल्मीः मुसिकोट नगरपालिकाले संस्कृति संरक्षण गर्नका लागि होमस्टे र पन्चेबाजा समूहलाई पन्चेबाजा वितरण गरेको छ ।

नगरपालिकाले स्थानीय स्वाँरा होमस्टे , आँपचौर पन्चेबाजा समूह र दिगामचौर पन्चेबाजा समूहलाई संस्कृति संरक्षणमा थप टेवा पुग्ने भन्दै पन्चेबाजा वितरण गरेको नगरपालिकाले जनाएको छ । पालिकाको दूई लाख २७ हजार रकमबाट पन्चेबाजा खरिद गरी वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

पुरानो परम्परा , संस्कृति संरक्षण र उहाँहरुलाई थप ब्यवसायीक बनाउनका लागि पन्चेबाजा वितरण गरिएको नगरप्रमुख जीवन खरेलले जानकारी दिनुभयो ।
स्थानीय परम्परा ,संस्कृति संरक्षण गर्नु र नागरिकहरुलाई आत्म निर्भर बनाउनु नगरको दायीत्व पनि भएको खरेलको भनाई छ ।
कृत्रिम हात खुट्टा प्रदान
यसैबीच मुसिकोट नगरपालिकाले दुर्घटनामा हात खुट्टा गुमाएका तीन जनालाई कृत्रिम हात खुट्टा प्रदान गरेको छ ।

मुसिकोट नगरपालिका वडा नम्वर ७ वामीटक्सारकी २१ वर्षीय रुपा राना सवारी दुर्घटनामा परी वाँया हात गुमाउनुभयो , वडा नम्वर तीनका करिव ३० वर्षिय अशोक सुनार ट्याक्टर दुर्घटनामा परी वाँया खुट्टा गुमाउनुभयो । उहाँको तिघ्रा भन्दा मुनीको खुट्टा छैन । यस्तै सोही वडाकै ३० वर्षका इश्वरी रिजालले पनि सवारी दुर्घटनामा परेर खुट्टा गुमाउनुभयो ।

उहाँहरुलाई नगरपालिकाले तीन लाख रुपियाँको बजेटबाट एक कार्यक्रमका बीच कृत्रिम हात खुट्टा प्रदान गरेको छ ।
उहाँहरुकै माग अनुसार रकम विनियोजन गरेर कृत्रिम हातखुट्टा प्रदान गर्न पाउँदा आफूहरुलाई खुसी लागेको नगरप्रमुख जिवन खरेलले बताउनुभयो । नगरभित्र रहेका अपाङगता भएका ब्यक्तिहरुको साथमा नगरपालिका सधै रहने भन्दै स्थानीय सरकारले सरकार भएको अनुभूति दिने गरी काम गर्ने दाबी गर्नुभयो ।

कृत्रिम हात खुट्टा प्रदान गर्दै खरेलले अपाङगता भएका ब्यक्तिहरुले पनि समाजमा उदाहरणीय काम गरेर देखाउन सक्ने आफूले विश्वास लिएको बताउनुभयो ।
कृत्रिम हात खुट्टा प्राप्त गरेपछि खुसी ब्यक्त गर्दै स्थानीय सर्कार भएको अनुभूति आफूहरुले पाएको बताउँदै दुःख, सुखको सारथी बन्न आग्रह गर्नुभयो ।

आफूहरु पहिले अपाङता भएकै कारण सीमित घेराभित्र रहनुपरेको बताउँदै अव त्यस घेरालाई पार गर्दै सपाङता सरह नै काम गर्न सक्नेमा आफूहरु विश्वस्थ रहेको उहाँहरुको भनाई छ ।
 

प्रधानमन्त्री दाहाल पत्नी सीताको निधन

0

असार २७,२०८०काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ।

 

आज विहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथा बाँस्तोलाले जानकारी दिए। उनले  भने, ’अवस्था गम्भीर बनेर विहान अस्पताल ल्याइएको थियो। ८ बजेर ३३ मिनेटमा निधन भयो।’

 

अस्पतालमा अहिले प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत माओवादीका शीर्ष नेता अस्पतालमा छन्।

उनको पार्थिव शरीर श्रध्दाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 

चन्द्रकोटका कृषकलाई ५० प्रतिशत अनुदानमा कृषिजन्य उपकरण वितरण

0

असार २६,२०८० गुल्मी :चन्द्रकोट गाउँपालिका गुल्मीको चालु आर्थिक बर्षको स्विकृत बार्षिक कार्यक्रम अन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा कृषि जन्य यन्त्र उपकारण वितरण कार्यक्रम मंगलवार सम्पन्न भएको छ।

 

गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा संचालित वितरण कार्यक्रममा उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु, गाउँसभा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा बोल्दै अध्यक्ष युवराज केसिले गाउँपालिका भित्र रहेका कृषकहरुलाई कृषि पेशा प्रति थप आकर्षित गर्दै कृषि व्यवसायलाई आधुनिकीकरण एवम् व्यवायिकीकरण गर्नका लागि पालिकाले हरेक बर्ष जस्तो यस्ता किसिमका कार्यक्रमलाई विशेष ध्यानका साथ कार्यान्वयन गरिएको वताउनुभयो।

 

कृषकहरुलाई लागत साझेदारीमा यस्ता प्रकृतिका कार्यक्रम संचालन गर्दा उनीहरुले प्राप्त गर्ने यन्त्र उपकरणमा अपनत्व समेत बोध हुने भएकाले यस्ता कार्यक्रमबाट लक्षित समुदायसँग प्रतिफल हासिल गर्न सहज हुने बताउदै अध्यक्ष खत्रीले यो मात्र नभएर गाउँपालिकाको कृषि र पशु व्यवसायलाई थप व्यवस्थित गर्दै लैजान मागमा आधारित अन्य कार्यक्रमहरुपनि संचालन गर्दै आईरहेको र ठूलो परिमाणमा कृषि व्यवसाय गर्ने किसान तथा साना किसान व्यवसायिहरुलाई समेत संवोधन हुने खालका २प्रकृतिका कार्यक्रमहरु संचालन गर्दै आएको बताउनुभयो। कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले कृषिलाई माथि उठाउने र कृषिमा निरन्तर लाग्नेहरुका लागि आगामी दिनमा पालिकाले अझै सहयोग गर्दै जाने बताउनुभयो।

 

उद्यम गर्न चाहाने समुदायमा रहेका सबैलाई समेटेर अघि बढाउने पाखा पखेरामा उत्पादन गर्न चाहानेका लागि पालिकाले आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो। कार्यक्रममा बोल्दै आर्थिक विकास समिति संयोजक वल बहादुर बस्नेतले गाउँपालिकाका विपन्न र कृषिलाई व्यवसायीकीकरण बनाउनको लागि ५० प्रतिशत लागत साझेदारीमा कृषिजन्य यन्त्र उपकरण वितरण गर्न खोजिएको बताउनुभयो।

 

लाभग्राहीहरुको तर्फबाट कार्यक्रममा बोल्दै कृषक घनश्याम गौतमले लम्पी स्कीन जस्ता रोगका कारण जोत्नका लागि गोरुको अभाव रहेको र पछिल्लो समयमा गोरुपालक कृषकहरु समेत कम हुँदै गएको अवस्थामा यस्ता किसिमका उपकरणले किसानलाई थप सहजीकरण गर्ने र कम्तिमा टोल टोलमा यस किसिमका यन्त्रहरु हुँदा खेत बारीमा खनजोत गर्न सहज हुने तथा मिनिमिल जस्ता सामाग्रीले उत्पादित बस्तुहरु कुटानी पिसानी गर्न अव हैरानी खेप्न नपर्ने अवस्था आएकोमा गाउँपालिकालाई विशेष धन्यवाद दिनुभयो।

 

कार्यक्रममा गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशन गरी माग संकलन गरेका कृषकहरुमध्ये कार्यपालिका बैठकबाट छनौटमा परेका १९ जना कृषकहरुलाई मिनिटिलर, १८ जनालाई कम्वाईन (कुटानी पिसानी) मिल तथा ५जनालाई मकै छोडाउने मेसिन (कर्नसेलर) गरी कुल ४२ जना कृषकलाई यन्त्र उपकरणमा साझेदारी गरिएको थियो। कार्यक्रममा स्वागत मनतव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले सबैभन्दा सम्मानित र मर्यादित पेशा कृषि रहेको भन्दै कृषि पेशालाई निर्वाहमुखीबाट उत्पादन मुखी बनाउदै लैजानुपर्ने बताउनुभयो भने उक्त कार्यक्रमको संचालन प्रशासन शाखा प्रमुख शिव ज्ञवालीले संचालन गर्नुभएको थियो।

मर्भुङ्ग- रुपन्देही सम्पर्क समाज द्वारा थानपती निमाविलाई साउण्ड सिस्टम प्रदान

0

असार २६ ,२०८०गुल्मी :मर्भुङ्ग- रुपन्देही सम्पर्क समाजले ,मालिका गाउँपालिका -८ स्थित थानपती निम्न माध्यमिक विद्यालयलाई साउण्ड सिस्टम प्रदान गरेको छ ।

मंगलबार मर्भुङ्ग – रुपन्देही सम्पर्क समाजका अध्यक्ष थानेश्वर अर्याल ,सदस्य खुमराज खड्काले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिबी खड्कालाई साउण्ड सिस्टम हस्तान्तरण गरेका हुन ।
सिमित स्रोत साधनका बाबजुद सबै आवश्यक सामाग्रीहरु समयमै विद्यालयमा उपलब्ध गराउन सक्ने अबस्था न्युन हुने हुँदा बाह्य संघ-संस्था संग समन्वय गरेर विद्यालयमा साउण्ड सिस्टम उपलब्ध गराएको अध्यक्ष खड्काले बताए ।

 

त्यस्तै यता मर्भुङ्ग -रुपन्देही सम्पर्क समाजले पनि आफ्नो गाउँ ठाउँको विद्यालयमा सानो भए पनि सहयोग गर्न पाएकोमा खुसी लागेको जनाएको छ ।

 

मालिका गाउँपालिका -८ मर्भुङ्ग घर भैइ हाल विभिन्न सिलसिलामा बुटवल बस्दै आएका भर्भुङ्गेहरुले स्थापन गरेको यो सम्पर्क समाजले , सामाजिक क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको छ ।

गुल्मीमा ४८८ रोपनी बाँझो जग्गामा चक्लाबन्दी खेती

0

तिलाचन पाण्डे
असार २५,२०८० गुल्मी : गुल्मीमा ४८८रोपनी बाँझो जग्गामा चक्लाबन्दी खेती सुरु गरिएको छ ।

जिल्लाका विभिन्न स्थानीय तहमा गरी कूल ४८८ रोपनी जग्गामा चक्लाबन्दी खेती गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यन्वयन इकाई गुल्मीका प्रमुख गंगाकुमारी पोखरेलले जानकारी दिइन् ।

धुर्कोट २ पिपलधारामा सुभसन्देश उपभोत्ता सहकारी संस्थाका १२ जनाले बाँझो ६० रोपनी जग्गामा सुन्तला खेतीे , मदाने गाउँपालिका ६ पुर्कोटदहमा कंकेदेउराली बिउँ उत्पादन समूहका २३ जनाले ६८ रोपनी बाँझो जग्गामा सुन्तला खेती, सत्यवती गाउँपालिका वडा नम्वर४ को लिम्घामा सत्यवती कृषक समूहका ९ जनाले १०० रोपनीमा कागती खेती , कालीगण्डकी गाउँपालिका ३ मा हिमालयन कृषि तथा पशुपन्छी फर्मले २०० रोपनी जग्गामा कफी खेती र रेसुङगा नगरपालिका ३ मा ६० रोपनी जग्गाको क्षेत्रफलमा तरकारी खेती मार्फत चक्लाबन्दी खेती गरिएको पोखरेलले बताइन् ।

कृषि यन्त्रहरुको प्रयोग गरी चक्लाबन्दी खेती गरिएको कार्यालयले जनाएको छ । यसरी चक्लाबन्दी गरी खेती गर्दा उत्पादनमा वृद्धि हुने,लागत ,समयको पनि बचत हुने र स्थानीय स्तरमै रोजगारीको अवसर पनि सृजना हुने कार्यालयका सूचना अधिकारी नारायणी गाहाले दाबी गरिन् ।

प्रत्येक चक्लाबन्दी खेती गर्ने कृषक , तथा समूहलाई कार्यालयको तर्फबाट कूल लागतको ५० प्रतिशत अर्थात १२ लाख रुपियाँ उपलध गराइने छ । ५० प्रतिशत रकम कृषक वा कृषक समूहको लागत रहने कार्यालयले जनाएको छ । जसमा स्थानीय तहको पनि लगानी रहने कार्यालयले जनाएको छ ।

फलफूलको चक्लाबन्दीमा सुन्तला जातमा कलमी बिरुवाहरु लगाइएको छ भने कफीमा जालीभित्रको घरमा तयार गरिएको नर्सरीका बिरुवाहरु रोपण गरिएको गाहाले जानकारी दिनुभयो । बिरुवाहरु स्वच्छ मान्यता प्राप्त नर्सरीका भएकाले कुनै शंका नरहेको गाहाको दाबी छ ।


कलमी सुन्तलाका बिरुवाहरुले करिव तीन वर्षबाट उत्पादन दिन सुरु गर्ने र कफीका बिरुवाहरुले पाँच वर्षमा उत्पादन दिन सुरु गर्ने गाहाले बताइन् ।

गत वर्ष जिल्लाका विभिन्न स्थानीय तहमा पाँच वटा चक्लाबन्दीमा खेती गरेको कार्यालयले जनाएको छ । गतवर्षको चक्लाबन्दीमा यस वर्ष साना सिंचाइमा कार्यालयले सहयोग गरेको गाहाले बताइन् ।