चन्द्रकोटका कृषकलाई ५० प्रतिशत अनुदानमा कृषिजन्य उपकरण वितरण

0
150

असार २६,२०८० गुल्मी :चन्द्रकोट गाउँपालिका गुल्मीको चालु आर्थिक बर्षको स्विकृत बार्षिक कार्यक्रम अन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा कृषि जन्य यन्त्र उपकारण वितरण कार्यक्रम मंगलवार सम्पन्न भएको छ।

 

गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीको अध्यक्षतामा संचालित वितरण कार्यक्रममा उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु, गाउँसभा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा बोल्दै अध्यक्ष युवराज केसिले गाउँपालिका भित्र रहेका कृषकहरुलाई कृषि पेशा प्रति थप आकर्षित गर्दै कृषि व्यवसायलाई आधुनिकीकरण एवम् व्यवायिकीकरण गर्नका लागि पालिकाले हरेक बर्ष जस्तो यस्ता किसिमका कार्यक्रमलाई विशेष ध्यानका साथ कार्यान्वयन गरिएको वताउनुभयो।

 

कृषकहरुलाई लागत साझेदारीमा यस्ता प्रकृतिका कार्यक्रम संचालन गर्दा उनीहरुले प्राप्त गर्ने यन्त्र उपकरणमा अपनत्व समेत बोध हुने भएकाले यस्ता कार्यक्रमबाट लक्षित समुदायसँग प्रतिफल हासिल गर्न सहज हुने बताउदै अध्यक्ष खत्रीले यो मात्र नभएर गाउँपालिकाको कृषि र पशु व्यवसायलाई थप व्यवस्थित गर्दै लैजान मागमा आधारित अन्य कार्यक्रमहरुपनि संचालन गर्दै आईरहेको र ठूलो परिमाणमा कृषि व्यवसाय गर्ने किसान तथा साना किसान व्यवसायिहरुलाई समेत संवोधन हुने खालका २प्रकृतिका कार्यक्रमहरु संचालन गर्दै आएको बताउनुभयो। कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले कृषिलाई माथि उठाउने र कृषिमा निरन्तर लाग्नेहरुका लागि आगामी दिनमा पालिकाले अझै सहयोग गर्दै जाने बताउनुभयो।

 

उद्यम गर्न चाहाने समुदायमा रहेका सबैलाई समेटेर अघि बढाउने पाखा पखेरामा उत्पादन गर्न चाहानेका लागि पालिकाले आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो। कार्यक्रममा बोल्दै आर्थिक विकास समिति संयोजक वल बहादुर बस्नेतले गाउँपालिकाका विपन्न र कृषिलाई व्यवसायीकीकरण बनाउनको लागि ५० प्रतिशत लागत साझेदारीमा कृषिजन्य यन्त्र उपकरण वितरण गर्न खोजिएको बताउनुभयो।

 

लाभग्राहीहरुको तर्फबाट कार्यक्रममा बोल्दै कृषक घनश्याम गौतमले लम्पी स्कीन जस्ता रोगका कारण जोत्नका लागि गोरुको अभाव रहेको र पछिल्लो समयमा गोरुपालक कृषकहरु समेत कम हुँदै गएको अवस्थामा यस्ता किसिमका उपकरणले किसानलाई थप सहजीकरण गर्ने र कम्तिमा टोल टोलमा यस किसिमका यन्त्रहरु हुँदा खेत बारीमा खनजोत गर्न सहज हुने तथा मिनिमिल जस्ता सामाग्रीले उत्पादित बस्तुहरु कुटानी पिसानी गर्न अव हैरानी खेप्न नपर्ने अवस्था आएकोमा गाउँपालिकालाई विशेष धन्यवाद दिनुभयो।

 

कार्यक्रममा गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशन गरी माग संकलन गरेका कृषकहरुमध्ये कार्यपालिका बैठकबाट छनौटमा परेका १९ जना कृषकहरुलाई मिनिटिलर, १८ जनालाई कम्वाईन (कुटानी पिसानी) मिल तथा ५जनालाई मकै छोडाउने मेसिन (कर्नसेलर) गरी कुल ४२ जना कृषकलाई यन्त्र उपकरणमा साझेदारी गरिएको थियो। कार्यक्रममा स्वागत मनतव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले सबैभन्दा सम्मानित र मर्यादित पेशा कृषि रहेको भन्दै कृषि पेशालाई निर्वाहमुखीबाट उत्पादन मुखी बनाउदै लैजानुपर्ने बताउनुभयो भने उक्त कार्यक्रमको संचालन प्रशासन शाखा प्रमुख शिव ज्ञवालीले संचालन गर्नुभएको थियो।

SHARE