Friday, June 5, 2026

चार प्रदेशमा आज चट्याङसहित भारी वर्षाको सम्भावना

0
फाइल फोटो

साउन ८,२०८० काठमाडौं : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा सोमबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। यसबाहेक देशका अन्य भू–भागमा पनि वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशभर आंशिकदेखि सामान्य बदली छ। मधेश प्रदेशका एकदुई स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशसहित अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

भारी वर्षाकाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयबाट हुने क्षतिबाट बच्न सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

छत्रकोट गाउँपालिका पूर्ण पोषण मैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा

0

तिलाचन पाण्डे
साउन ६,२०८० गुल्मीः छत्रकोट गाउँपालिकालाई पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थायुक्तगाउँपालिका घोषणा गरिएको छ ।

शनिबार एक कार्यक्रमकाबीच गाउँपालिकाका १४ वटै स्वास्थ्य संस्थाहरुले पोषण सम्बन्धी सबै सूचकहरु पूरा गरेकाले गाउँपालिकाका अध्यक्षतथापालिका स्तरिय पोषण कार्यक्रमको गुणस्तर सुधार सुनिश्चितता कार्यसमितिका अध्यक्ष रामप्रसाद पाण्डेयले पालिकालाई पोषण मैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गर्नुभएको हो ।

२०७९ जेठ १६ गते वडा नम्वर २ को पल्लिकोट स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको अभियानले आज सार्थकतापाएको स्वास्थ्य शाखाका प्रमुख श्यामसुन्दर पोखरेलले जानकारी दिनुभयो ।

महिलाहरु गर्भवती भएपश्चात नियमित जाँच ,सुत्केरी जाँच, आइरनको मात्रा पूरा, संस्थागत सुत्केरी, बच्चा जन्मेको एक घण्टाभित्रमा स्तनपान, पूर्ण स्तनपान, समयमै थप खानाको सुरुवात ,भिटामिन ए र जुकाको औषधि, बालभिटा, झाडा पखलाको समयमा जिंकचक्की र पुनर्जलिय झोलको प्रयोग र २६ हप्तासम्म आइरन तथा फोलिक एसिड चक्की पाएका किशोरीहरुको संख्या ९० प्रतिशत भन्दा माथि भएको अवस्थामा पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका लागि आवश्यक सूचकहरु पूरा हुने पोषणमैत्री स्वास्थ्य संस्था कार्यन्वयन निर्देशिका २०७९ मा उल्लेख छ ।

निर्देशिकाअनुसार लामो समय देखी स्वास्थ्यकर्मी , स्वास्थ्य संस्था,महिला स्वास्थ्य स्वंयसेविका,स्वास्थ्यशाखा ,पालिकातथा स्वास्थ्य संस्था स्तरीय पोषण कार्यक्रमको गुणस्तर सुधार समिति एंव लक्षित समुदायमा प्राविधिक सहकार्य गरी यस अवस्थामा गाउँपालिका पुगेको पोषणविद् लिलबहादुर नेपालीले जानकारी दिनुभयो ।

यस अभियानमा १२ वटा अनिवार्य मापदण्ड र १६ वटा पोषणमैत्री सूचकहरु रहेकाले त्यी सबै कार्य पूरा गरी पालिकालाई घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।


यस अभियानमा पालिका अन्र्तगतका सबै स्वास्थ्यकर्मी ,जनप्रतिनिधिहरु र सरोकारवालाको ठूलो साथ र सहयोगले मात्रै अभियानले पूर्णता पाएको शाखाले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्णबहादुर खत्रीले पालिकालाई घोषणामा मात्रै सीमित नराखी दीर्घकालिन रुपमाकायम राख्नुपर्नेमा जोड दिनुभयो ।

पालिका अध्यक्ष रामप्रसाद पाण्डेले स्वास्थ्य क्षेत्रलाई पालिकाले पहिलो प्राथमिकता दिएकाले घोषणलाई दीर्घकालिन रुपमाकायम राख्ने गरी कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
घोषणा कार्यक्रममा सहयोग गर्ने स्वास्थ्य संस्थालाई सम्मान गरिएको थियो ।

 

 

गुल्मीमा राहदानी बनाउनेको संख्या वार्षिक दोब्बरले वृद्धि

0
जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउनेको भीड । तस्विर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
साउन ६,२०८० गुल्मीः गुल्मीमा गत साउनदेखी असार मसान्तसम्म १५ हजार ८६ जनाले राहदानी बनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार गत साउन महिनामा एक हजार २४६, भदौमा एक हजार ५८,असोजमा एक हजार ९७, कार्तिकमा एक हजार ६०,मंसिरमा एक हजार २७२, पुसमा एक हजार ३७४, माघमा एक हजार ३६५ फागुनमा एक हजार ३२३ ,चैतमा एक हजार ३०३ ,वैशाखमा एक हजार १५५, जेठमा एक हजार ६६० र असारमा एक हजार १७२ जनाले राहदानी बनाएको प्रशासन जिल्ला प्रशाासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नरेश गिरीले जानकारी दिए ।
राहदानीबाट यस समय अवधिमा सात करोड ३१ लाख ९० हजार राजश्व संकलन भएकोे प्रशासनले जनाएको छ ।

आर्थिक वर्ष २०७८।०७९मा सात हजार ४०९ जनाले राहदानी बनाएका थिए भने जसबाट तीन करोड ७१ लाख ६७ हजार राजश्व संकलन भएको थियो ।

आर्थिक वर्ष २०७७।०७८ मा दुई हजार २४५ जनाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासन फाँटका नायव सुब्बा प्रेमराज खनालले जानकारी दिए । सो समयमा राहदानीबाट १ करोड ८६ लाख ६० हजार रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

१० हजार बढीले लिए नयाँ नागरिकता
गत साउन महिनादेखी असार मसान्तसम्म्म जिल्ला प्रशासन कार्यालय गुल्मीबाट वंशजको आधारमा १० हजार ३६७ जनाले नागरिकता लिएका छन् । यस्तै बैबाहिक अंगितकृत अन्र्तगत १५ जना , जन्मको आधारमा नागरिकता प्राप्त गरेका बाबु आमाका छोराछोरीलाई बंशजको आधारमा ४ जना , नाबालक परिचयपत्र ५७९ जनाले लिएका प्रशासन कार्यालयले जनाएको छ ।यस अवधिमा छ हजार ४५१ जनाले नागरिकताको प्रतिलिपि लिएको प्रशासनको विवरणमा उल्लेख छ ।

१८ हजार बढीले दर्ता गरे परिचयपत्र

एक वर्षको अवधिमा १८ हजार १८३ जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका छन् । जसमध्ये छ हजार ५६६ जना महिला र ११ हजार ६१७ जनाले विवरण दर्ता गराएका हुन् । यस अवधिमा ७२५ जनाले राष्ट्रिय परिचयपत्र लिएको प्रशासनको वार्षिक विवरणमा उल्लेख छ ।

विपि स्मृति दिवसको अवसरमा गुल्मीमा सरसफाई

0

अजय खड्का
साउन ६,२०८०गुल्मी :नेपाली काँग्रेस जिल्ला कार्यसमिति गुल्मीले तम्घासमा सरसफाई कार्यक्रम गरेको छ । जननायक वीपि कोइरालाको ४१ औ स्मृति दिवसको अवसरको तम्घास लगाएत चिदिचौर खेल मैदान सरसफाई गरेको छ । चिदिचौर खेलमैदान सरसफाईका क्रममा क्रिकेट खेलाडीहरु पनि सहभागि भएका थिए ।

सरसफाई कार्यक्रममा बोल्दै नेपाली काँग्रेस गुल्मी सभापति खिलध्वज पन्थीले समुन्नत समाज, देश बनाउने सन्दर्भमा वी।पि कोइरालाको योगदान सम्झदै भन्नुभयो–“नेपाली काँग्रेस मात्रै यो मुलुकको एउटा शक्ति हो जसले मात्र समाज रुपान्तरणको यात्रमा र समुन्नतीको यात्रामा काम गर्न सक्छ” ।

 

वी।पि स्मृतिको अवसरमा जिल्लाको ९३ वटै वडामा रहेका नेपाली काँग्रेसका एक क्रियाशिल सदस्य बराबर एक विरुवा रोप्ने कार्यक्रम पनि रहेको सभापति पन्थीले बताउनुभयो ।

साथै रेसुङ्गा नगरपालिकाको नगरप्रमुख समेत रहनुभएका पन्थीले सरसफाईमा हातेमालो गर्न आएका क्रिकेट खेलाडिहरुको अभ्यास गर्ने ठाउँ निर्माणको मागलाई सम्बोधन गर्नै प्रतिवद्धता गर्दै खेल क्षेत्र र त्यसको संरचनाको लागि झण्डै एक करोड रुपैयाँ खर्च गर्न लागिएको बताउनुभयो ।

सरसफाई कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेस सदस्य तथा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्री, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, महाधिवेशन प्रतिनिधी, नगर कमिटि, जनप्रतिनिधि लागाएतको उपस्थिति रहेका थियो ।

गुल्मीको अर्बेनीमा बाँदरबाट खेती जोगाउन रुखमै घर

0
रुखमा बनाइएको अस्थायी टहराबाट बाँदर नियाल्दै ठानीश्वर न्यौपाने

तिलाचन पाण्डे
साउन ६,२०८० गुल्मीःसुन्दा पनि अचम्म लाग्न सक्छ मानवले रुखमा घर बनाएर बसे भन्दा । तर गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्वर २ अर्बेनी खर्कका ६७ वर्षीय ठानीश्वर न्यौपानेले बाँदरबाट मकै खेती जोगाउनका लागि रुखमै घर बनाएर बस्नुभएको छ ।

आफूले लगाएको मकै खेती बाँदरबाट जोगाउनका लागि निकै मुस्किल भएपछि रुखमै घाम पानीबाट बच्नका लागि अस्थायी टहरा अर्थात घर निर्माण गरेर बाँदर धपाउँन बाध्य भएको न्यौपानेले बताउनुभएको छ । अग्लो रुखमा अस्थायी टहरा बनाएर बस्दा धेरै परसम्म बाँदर आएको देख्न सकिने भएकाले मकै खेती जोगाउँन आफूले रुखमा घर बनाएको बताउनुभयो ।

आफू घरमा एक्लै भएको ,दुई हलको बारीमा लगाएको खेती जोगाउन निकै कठिन भएकाले रुखमै अस्थायी टहरा बनाएर बाँदर हेर्नु र धपाउनु वाहेकको विकल्प नभएको न्यौपानेले बताउनुभयो । उमेरले नेटो काट्दै गएको समयमा जेनतेन लगाएको बालीपनि घरमा ल्याउन नपाइने चिन्ताले सताएको भन्दै स्थानीय सरकार पनि दुःखी गरिबको पक्षमा नरहेको उहाँको गुनासो छ ।

स्थानीय ,प्रदेश र सघिय निर्वाचनमा भोट माग्नका लागि बिन्ती बिसाउनेहरु अहिले आफूहरुको स्वार्थ पूरा भएपछि फर्केर नआउने गरेको उहाँको आक्रोश छ । अझै करिब एक महिना मकै बाली जोगाउन रुखमै बास बस्नुपर्ने अवस्था भएको भन्दै उहाँले यस अवधिसम्म बाँदर धपाउनका लागि स्थानीय सरकारले ब्यबस्था गरिदिए मात्र कृषकहरुलाई सरकार भएको अनुभूति हुने बताउनुभयो ।


यस्तै स्थानीय युवा खिमानन्द न्यौपानेले पनि बाँदरले कृषकले लगाएको अन्नबाली नष्ट गरिदिने गरेकाले कृषकहरु सधै मारमा पर्ने गरेको बताउनुभयो । यस्तै समस्याका कारण खेती योग्य जमिन बाँझो हुन थालेको र बसाइँसराइँ गर्नु वाहेकको बिकल्प नभएको उहाँको भनाई छ ।

यता कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले कृषकहरुले लगाएको अन्नबाली जंगली जनाबरहरुबाट जोगाउन समस्या भएको बताउनुभयो । जंगली जनाबरहरुलाई मार्न पनि कानूनले बन्देज लगाएको भन्दै संघिय सरकारले नै उचित ब्यबस्थापन गर्ने नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । तत्कालका लागि गाउँटोलका स्थानीयहरु मिलेर बाँदरलाई धपाउनु बाहेकको विकल्प नभएको पनि उहाँको भनाई छ ।

जिल्ला समन्वय समिति गुल्मीको सभामा पनि बाँदर लगायत अन्य जंगली जनाबरले किसानहरुले लगाएको अन्नबाली नष्ट गरिदिने गरेकाले उचित ब्यबस्थापन गर्ने नीति बनाउनुपर्नेमा स्थानीय सरकारहरुले जोड दिएका थिए ।

 

बरामद भएको सुनमा अनुसन्धान जारी , भन्सार एजेन्टसहित ६ जना प्रहरीको फन्दामा

0

साउन ४,२०८० काठमाडौं : राजस्व अनुसन्धान विभागले बुधबार बरामद गरेको सुन आज राष्ट्र बैंकले जोख्ने भएको छ। आज बिहान १० बजे राष्ट्र बैंकले सुन जोख्न लागेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारसमेत पार गरिसकेको एक क्विन्टल सुन बुधबार बरामद भएको थियो। ​ आठ वटा कार्टुन बक्समा ल्याइएका स्कुटरका १ सय ६० वटा ब्रेक सुको जाँचपास भन्सार कार्यालयले गरेको थियो। जसको तौल १ सय ५४ केजी उल्लेख रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले जानकारी दिए।

गत जुलाई १६ तारिखमा हङकङबाट आएको क्याथे प्यासेफिकको उडानमा स्कुटरको ‘ब्रेक सु’ को आवरणमा सुन ल्याइएको खनालको भनाइ छ। तीन दिन विमानस्थलको भन्सार गोदाममा राखेर बुधबार बेलुका सुन निकालिएको थियो।

नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना हो। यसअघि ०७४ भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ केजी सुन काठमाडौंको क्षेत्रपाटीबाट समातिएको थियो।

बुधबार समातिएको सुन बुढानीलकण्ठ ठेगाना उल्लेख गरिएको ‘रेडी ट्रेडर्स प्रालि’ का नाममा आएको थियो। सुन नक्कली फर्म खडा गरी त्यसकै नाममा प्रज्ञापनपत्र खोलेर ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको राजस्व अनुसन्धान विभागले जनाएको छ।

सुन ओसारपसारमा संलग्न रहेका ६ जनालाई पक्राउ गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानले जानकारी दिए। पक्राउ पर्नेमा एक भन्सार एजेन्ट पनि छन्। उनीहरुमाथि थप अनुसन्धान भइरहेको ढुंगानाको भनाइ छ। अनुसन्धानपछि थप जानकारी दिने उनले बताए।

बाँदर धपाउन राखेको पासोमा परेर दुई जना गम्भीर घाइते

0

साउन ४,२०८०पाल्पा : बाँदर धपाउन राखेको धरापमा करेन्ट लागेर पाल्पामा दुईजना महिला गम्भीर घाइते भएका छन्।

जिल्लाको तानसेन नगरपालिका वडा नं। ७ स्थित लामीडाँडामा मकै जोगाउन थापिएको विद्युतीय धरापमा परी स्थानीय महिला घाइते भएका हुन्।

घाइते हुनेमा ३१ वर्षीया विजिता आले र ३८ वर्षीयाा तिलु थापा रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बारीमा घाँस काट्न जाने क्रममा उनीहरू बादँरलाई राखेको पासोमा परेका हुन्।

घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते महिलाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रही निरीक्षक भुपेन्द्र थापाले जानकारी दिए।

बढ्यो सुनको मूल्य

0

साउन ३,२०८०काठमाडौं : आज सुनको मूल्य वृद्धि भएको छ । तोलामा छ सय रुपियाँले बढेर एक लाख १३ हजार एक सय रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य एक लाख १२ हजार ५५० र चाँदीको मूल्य १४ सय ९० रुपियाँ कायम भएको छ ।

मङ्गलबारको तुलनामा चाँदीको मूल्य तोलामा १० रुपियाँले बढेको हो ।

रहरले शहर , कोरोना कहरले गाँउ फर्किएर कृषि क्रान्ती

0
कृषि पेशामा रमाउँदै पन्थ। तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
साउन ३,२०८० गुल्मीः छत्रकोट ४ का ३७ वर्षीय चिरन्जिवी पन्थ २०७५ सालमा गुल्मीबाट छोराछोरीलाई राम्रो शिक्षा दिने र ब्यवसाय गर्ने रहरले बुटवल झर्नुभयो ।

गुल्मीमै बिद्युत क्षेत्रमा काम गर्दै आउनुभएका पन्थलाई समय अनुसार पारिवारीक संगै अन्य आवश्यकताहरु बढ्दै गएकाले ठूलो ठाउँको आवश्यकता भयो र बुटवलमा झरेर साँझेदारीमा होटल खोल्नुभयो । होटलबाट राम्रो आम्दानी हुँदै थियो तर बिडम्वना कोरोनाको लहर देशभर छायो र बिस्तारै होटलहरु बन्द हुँदै गए । त्यपश्चात उहाँले गाउँमै फर्किएर ब्यबसायीक रुपमा कृषि पेशामा लाग्ने सोच गर्नुभयो ।

गाउँमा फर्किएर उहाँले आफनै १७ रोपनी जग्गामा आठ हजार पाँचसय अकबरे खुर्सानीका बिरुवा रोप्नुभयो र खुर्सानी बिक्रीबाटै गत वर्ष पाँच लाख रुपियाँ खर्च कटाएर बचत गर्नुभयो । त्यस पश्चात उहाँले अहिले २० रोपनी स्थानीयको जग्गा लिजमा लिएर २२ हजार बन्दाका बिरुवा रोप्नुभएको छ । त्यस संगै उहाँका दुई वटा लैना गाई र दुई भैसी छन् । उहाँले हाल दैनिक २८ लिटर दुध बिक्री गर्नुभएको छ । त्यसबाट पनि राम्रो आम्दानी भएको उहाँको भनाई छ । यसलाई वृद्धि गरेर दैनिक एक सय लिटरसम्म दुध बिक्री गर्ने गरी आफूले योजना बनाएको उहाँले बताउनुभयो ।

गाउँमै कृषि क्षेत्रमा पाँच हजारको लगानीमा ५० हजारसम्म आम्दामी लिएकोे उदाहरण प्रस्तुत गर्नुहुँदै उहाँले युवाहरुलाई खाडीमा नभई नेपालमै ब्यवसायीक रुपमा कृषि र पशुपालनमा लाग्न सुझाब दिनुभयो । पछिल्लो समय युवाहरु विदेश गएर उर्जावान समय खर्चिने गरेको बताउँदै उर्जावान युवा शक्तिलाई स्वदेशको माटोमै लगानी गरे सुन फलाउन सकिने उहाँको भनाई छ ।

आगामी एक वर्षमा उहाँले कृषि र पशुपालनको माध्यमबाट २० लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य रहेको बताउनुभयो । आफूले उत्पादन गरेको कृषि उपजको बजारीकरणको ब्यबस्था राज्यले गरिदिएमा उत्पादनमा समस्या नहुने र युवाहरुलाई दीर्घकालीन रुपमा सोही पेशामा टिकाई राख्न सहज हुने उहाँको भनाई छ ।

अहिले आफूलाई बजारीकरणको समस्या नभएको बताउँदै आफूले एक सय देखी पाँच सय रुपियाँसम्म अकवरे खुर्सानीका मूल्य पाएको बताउँदै ८६ रुपियाँ प्रति लिटरमा रिडीको एक दुध डेरीमा दुध बिक्री गर्दै आएको उहाँले बताउनुभयो ।
उहाँका १० वर्षीय छोरा र ६ वर्षीय छोरी छन् । कृषि पेशामा श्रीमतीको ठूलोसाथ रहेको बताउदै नियमित रुपमा दुई जनालाई रोजगारी दिएको पन्थले बताउनुभयो । यो संगै आवश्यकताको आधारमा दैनिक ज्यालादारीमा कामदारहरु प्रयोग गर्दै आएको उहाँको भनाई छ ।

यता कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीेले युवाहरुलाई ब्यवसायीक रुपमा कृषि र पशुपालनमा टिकाईराख्न प्राविधिक ज्ञान संगै अनुदानको ब्यबस्था गरेको बताउनुभयो । पन्थले संचालन गरेको लुम्बिनी कृषि तथा पशुपंछी फर्मलाई एक लाख रुपियाँ अनुदान प्रदान गरेको भण्डारीले जानकारी दिनुभयो ।

 

 

लुम्बिनी प्रदेश सहितका प्रदेशमाआज भारी वर्षा

0
फाइल फोटो

साउन २,२०८०काठमाडौं : कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा गण्डकी, लुम्बिनी, बागमती र कोशीका पहाडी भूभागका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा मंगलबार हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना जनाएको छ।

विभागका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली छ। गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका केही स्थान र मधेश प्रदेशका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश तथा गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

मंगलवार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका १–२ स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।