Saturday, June 6, 2026

१९ वर्षीय जमुनाले भूकम्पमा श्रीमान् र गर्भको शिशु समेत गुमाइन्

0

कात्तिक २१,२०८०बाँके : जाजरकोटको नलगाड नगरपालिका–६ भारगाउँकी १९ वर्षीया जमुना बुढामगरले गत शुक्रबारको भूकम्पमा श्रीमान् र पेटमा हुर्किँदै गरेको आठ महिने शिशु गुमाइन्। नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत उनी श्रीमान् र शिशुको वियोगमा उनी एकसुरमा भित्ता कोट्याइरहन्छिन्।

अरु भूकम्पपीडितको व्यथा एउटै एउटै जस्तो देखिन्छ। तर जमुनालाई भने आफ्नो व्यथा अरुको भन्दा धेरै गहिरो लागेको छ। उनले आफ्नो जीवनसाथी र गर्भमा हुर्किँदै गरेको शिशुलाई गुमाएको चार दिन बितेको छ। बितेका चार दिनमा जमुनाको होश पूर्णरूपले फर्किएको छैन। श्रीमान् र गर्भमा रहेको शिशुलाई गुमाउँदाको पीडाले उनी अस्पतालको शय्यामा छटपटाइरहेकी छिन्।

जमुना कहिले एकसुरमा राम्रैसित बोल्छिन्। कतिबेला बोल्दै बोल्दिनन्। जतिबेला पनि पेट मुसारिरहन्छिन्। जमुनाको रेखदेख गर्न आएकी आमा पवित्रा छोरीले थाहा नपाउनेगरी वेलावेलामा पछ्यौराले मुख छोपेर भक्कानिन्छिन्।

‘छोरीलाई पेटको बच्चा नरहेको कुरा हामीले ऊ होशमा आएपछि सुनायौँ। उसलाई थाहा छ। तर पनि उसले आमा मेरो नानीलाई त ठिकै छ नि भन्दै सोधिरहन्छे’, आमा पवित्राले भनिन्, ‘एक्लै–एक्लै आफैँसँग कुरा गर्छे। कहिले राम्रै बोल्छे, कहिले बोल्दै बोल्दिन।’ भूकम्पको पीडाले बेहोश छोरीको होश फर्किए पनि सुरमा कुरा नगरेको देख्दा उनलाई चिन्ताले सताइरहेको छ।

शुक्रबार राति नै भूकम्पमा परी ज्वाइँ नवीन बुढाको घरले च्यापिएर मृत्यु भएको खबर सुनेपछि गर्भवती छोरीलाई उद्धार गर्न सानीभेरी गाउँपालिका–९ रुकुम पश्चिमबाट जमुनाकी आमा पवित्रा खड्का मगर र बुवा भागीराम जाजरकोट पुगे। घरमा पुग्दा जमुना बेहोश अवस्थामा भेटिएको बुबा भागीरामले बताए।

‘हामीले त ज्वाइँसँगै छोरी पनि गुमायौँ भन्ने सोचेका थियौँ। उसको पेटको नानीलाई बचाउन नसकिए पनि छोरीलाई भने केही भएको रहेनछ’, उनले भने। जमुनालाई जाजरकोटबाट नेपाली सेनाको हेलिकप्टरबाट चौरजहारीसम्म ल्याएको र त्यहाँबाट नेपालगञ्जसम्म जहाजमा ल्याएर आइतबार भेरी अस्पतालमा भर्ना गरिएको थियो। पेटभित्र मरेको शिशुलाई निकालिएको छ। शिशुको अन्तिम संस्कार नेपालगञ्जस्थित मसानघाटमा नै गरेको बुबा भागीरामले बताए।

जमुनाको उद्धार गर्न जाजरकोट पुगेका भागीराम र उनकी पत्नीलाई आफ्नै घर भूकम्पले चर्किएको खबर भारगाउँ पुगेपछि मात्र थाहा भयो। ‘हामीले त ज्वाइँ रहनुभएन भन्ने सुन्यौँ। गर्भवती छोरीको सास छ भन्ने थाहा पाउनासाथ हामी छोरी बचाउन जाजरकोट लाग्यौँ। त्यहाँ पुग्दै गर्दा बाटैमा थाहा पायौँ, भूकम्पले हाम्रो पनि घर चर्किएछ।’ दुवैजना शुक्रबार राति नै जमुनाको घर गएका थिए।

‘जसको भाग्यमा जे भोग्न लेखिएको हुन्छ उसले त्यही भोग्नैपर्छ। हाम्रो छोरीको भाग्यमा यस्तै दुःख भोग्न लेखिएको थियो होला’ पवित्राले भनिन्, ‘अब छोरी चाँडै निको भइदिए हुन्थ्यो।’ उनका अनुसार जमुनाको अरु सबै स्वास्थ्य अवस्था ठीक भए पनि कहिलेकाहीँ पेट र टाउको दुखिरहन्छ।

भूकम्प जाँदा जमुनासँगै श्रीमान्, सासू, नन्द र दुई आमाजुसँगै एउटै घरमा खाना खाएर सुतेका थिए। भूकम्पका कारण जमुनाका श्रीमान् र गर्भको शिशुको मृत्यु भए पनि परिवारका अरु सदस्यलाई भने सामान्य चोट लागेको छ। जमुनाका देवर र ससुरा भने मजदुरी गर्न भारत गएका छन्।

भेरी अस्पतालमा जाजरकोट भूकम्पका कारण घाइते ४४ जनाको उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए। उनका अनुसार भेरी अस्पतालमा भूकम्पमा परी घाइते भएका ४७ जनालाई ल्याइएको थियो।

दुईजना निको भई घर फर्किएका छन्। उपचार गर्न अस्पताल ल्याउँदै गर्दा बाटैमा एकजनाको मृत्यु भएको थियो। प्रजिअ पोखरेलले उपचाररत बिरामीको स्वास्थ्यावस्था खतरामुक्त रहेको जानकारी दिए।

भलिबल संघ गुल्मीको आयब्याय विवरण सार्वजनिक

0

कात्तिक २१,२०८०गुल्मी : जिल्ला भलिबल संघ गुल्मीले पालिकास्तरीय भलिबल प्रतियोगिताको आयव्याय विवरण सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी संघले प्रतियोगिता अवधिभर आठ लाख ७२ हजार ५१९ आम्दानी भएको जनाएको छ ।

जसमा प्रायोजक र सहयोग दाताबाट सात लाख ९० हजार १९ र टिम दर्ताबाट ८२ हजार पाँच सय संकलन भएको छ । प्रतियोगितामा कुल नौ लाख १३ हजार २७६ खर्च भएको छ । जसमा पुरस्कार राशितर्फ दुई लाख ६२ हजार ७७६, होटल खर्च र स्वयम् सेवकतर्फ दुई लाख ५० हजार, अफिसिलयल खर्च ९० हजार, विज्ञापनमा ५० हजार खर्च भएको छ ।

त्यसैगरी त्यसैगरी साउण्ड सिस्टममा २५ हजार, स्टेशनरीमा २० हजार, खेल सामग्रीमा ८२ हजार, स्वयम् सेवक पोशाखमा ४५ हजार र ८८ हजार पाँच सय विविध खर्च भएको संघका महासचिव नारायण आचार्यले जानकारी दिए । प्रतियोगिता संचालन गर्दा अहिलेसम्मको हिसाबअनुसार आयोजकले ४० हजार ७५७ व्यहोर्नेछ ।

तर गुल्मीदरबार गाउँपालिकाबाट भने संघलाई आर्थिक सहयोगको आश्वासन आएको आयोजकले जनाएको छ । जिल्ला भलिबल संघले संचालन गरेको जिल्लास्तरीय भलिबल प्रतियोगिताको महिला र पुरुष दुवैतर्फ सत्यवती प्रथम र कालिगण्डकी द्धितिय भएका थिए ।

त्यस्तै महिलातर्फ गुल्मीदरबार तृतिय एव्ं रुरुक्षेत्र सान्तवना र पुरुषतर्फ चन्द्रकोट तृतिय र मुसिकोट सान्त्वना भएका थिए ।
प्रतियोगिता कात्तिक १५ गतेदेखि १८ गतेसम्म सदरमुकाम तम्घासको चिदिचौरमा चलेको थियो ।

मुख्यमन्त्री कोहलपुर गोल्डकप : दुबैले टिमले उपाधि जित्ने दावी

0

कात्तिक २१,२०८०बाँके : बाँकेको कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० को उपाधिका लागि भोली भिड्ने भएका छन् ।

आज भएको पत्रकार सम्मेलन गर्दै कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा हुने त्रिभुवन आर्मी र चर्च व्वाईजका कप्तानले आफ्नो टिमलाई उपाधि दिलाउन आफुले जानको अनुभव र सिपको प्रयोग गरी उपाधि हात पर्ने दावी गरेका छन् ।

त्रिभुवन आर्मीका कप्तान भरत खवासले आफुले राष्ट्रिय खेलदेखि लिग हुँदै ‘ए’ डिभिजनका खेल खेलेको र आफ्नो टिमको कडा प्रदर्शन गर्ने बताए । आफ्नो टिममा २ जना राष्ट्रिय खेलाडी र अन्य स्थानिय खेलाडीहरु भएकोले उपाधि हात पार्ने खवास ढुक्क छन् ।
त्रिभुवन आर्मीका कोच आदर्श मल्ले आफ्नो पहिचान नभुल्ने बताए । ‘खेलमा रफ हुँदैन,’ उनले भने, ‘अनुशासनमा रहेर खेल हुन्छ ।’ मल्ले कोहलपुरमा आफ्नो टिम ल्याउन र खेलमा सहभागि हुन पाउँदा आयोजकसंगै व्यवस्थापक टिमलाई समेत धन्यवाद दिएका थिए ।
यस्तै चर्च व्वाईजका कप्तान विकु राई पनि उपाधि लिने ढुक्क छन् । राईले आफ्नो टिममा युवा खेलाडी छन्सबै एउटै उमेर समूहका खेलाडी छन् त्यसैले आफुले भनेजस्तो र सोचेजस्तो खेल हुने दावी गरे ।

चर्च व्वाईज कै कोच रुविन राईले प्रतियोगिताको उपाधि लिनकै लागि भने आएको होइन तर भाग्यले दिएसम्म आफ्नो टिमले फाइनलसम्म पु¥याउनु नै ठुलो उपलब्धि रहेको बताए । ‘अहिले सबै स्थानिय खेलाडीहरु छन्’ उनले भने, ‘बाहिरी खेलाडीहरु छैनन् ।’ अहिलेको पुरै नयाँ टिम रहेको र भविष्यमा यि टिमले नै देशकै उत्कृष्ट खेलाडि बनाउने मेरो सपना रहेको कोच राईले बताए । राईले कोहलपुरमा आफ्नो टिम ल्याउन र खेलमा सहभागि हुन पाउँदा आयोजकसंगै व्यवस्थापक टिमलाई समेत धन्यवाद दिएका थिए ।

प्रतियोगिता सुरु भएको पाँचौ दिनमा भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौले दुधौली स्पोर्ट क्लब सिन्धुलीलाई (४—१) गोलको अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी फाइनल पुगेको हो भने प्रतियोगिता सुरु भएको तेस्रो दिनमा भएको खेलमा चर्च व्वाईज यूनाईटेडले गोर्खा व्वाईजलाई (३—०) ले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी ८ टोलीको सहभागिता रहेको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिए । खेल संयोजक राम बहादुर मल्लका अनुसार किक अफ २ ः ३० बजे हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए । प्याराफिटमा १ सय रुपैया लाग्नेछ भने ग्राउण्डमा ५० रुपैया लाग्ने अध्यक्ष क्षेत्रीले बताए ।

 ट्याक्सी दुर्घटनामा दुईजनाको मृत्यु

0

कात्तिक २१,२०८०बागलुङ : बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गएराति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो।

दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको थियो। दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

गुल्मीमा किराना पसलमा आगलागी हुँदा ३५ लाखको क्षती

0
फाइल तस्बिर

कात्तिक २०,२०८० गुल्मीः गुल्मीमा किराना पसलमा आगलागी हुँदा ३५ लाखको क्षती भएको छ ।

जिल्लाको गुल्मीदरवार गाउँपालिका वडा नम्वर ७ चारपालामा टोपबहादुर बस्नेतको किराना पसलमा आगलागी हुँदा दुई वटा मोटरसाइकल सहित करिब ३५ लाख रुपैयाँ बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पसलमा एक्कासी आगलागी हुँदा जस्ताले छाएको दुई तले कच्ची घरसहित पार्किङ गरेर राखेका पल्सर मोटरसाइकल, हिरो होण्डाको मोटरसाइकल जलेर पूर्ण रुपमा क्षती भएको छ । यस्तै नगद दुई लाख रुपैयाँ ,तीन तोला जतिको गरगहना लगायत खाद्यन्न ,लत्ता कपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

आगोलाई स्थानीयको सहयोगमा दमकल र प्रहरीले नियन्त्रणमा लिएको छ ।

घमिरमा खुल्ला फुटबल प्रतियोगिता हुने

0
फाइल फोटो

कात्तिक २०,२०८० गुल्मी :गुल्मीको मालिका गाउँपालिका सात घमिरमा खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नाराका साथ सुमन स्मृति युवा क्लबको आयोजनामा पहिलो पटक घमिरमा खुल्ला फुटबल प्रतियोगिता हुन लागेको हो ।

कात्तिक २४ गते देखि २६ गते सम्म भानुपोखरा खेलमैदानमा प्रतियोगिताको आयोजना गरिएको क्लबका सदस्य सुनिल घिमिरेले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले १५ हजार नगद सहित मेडल र प्रमाणपत्र पाउने क्लबले जनाएको छ ।

फुटबल खेल र खेलाडीको विकास संगै फुटबल खेलाडी उत्पादन गर्ने र फुटबल खेल प्रती जनस्तरसम्मको चासो बढाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।

जिप दुर्घटनामा चार जनाको मृत्यु ,पाँच घाइते

0

कात्तिक १९,२०८० डोटी: कैलालीको धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको जिप डोटीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमा नै ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार के।आई सिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका– ६ अण्यौल स्थित सेती नदी जिप खस्दा बाजुरा जिल्ला हिमाली गाउँपालिका –५ बस्ने वर्ष २२ का राधिका मलाल, सोही ठाउँका वर्ष ३२ का धन शोभा बुढा, ८ महिनाका प्रार्थना मलाल र वर्ष ६ का कवीन्द्र बुढा रहेका छन् ।

 

आइतबार बिहान २ बजेर २८ मिनेट तिर ग २ च २७७६ नम्बरको बोलेरो जिप सडकबाट करिब ५० मिटर भन्दा तल सेती नदीमा खसेको छ ।

दुर्घटनामा परि घाइते भएकाहरुको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको बताइएको छ । बोलेरो चालक बाजुरा जिल्ला गौमुल गाउँपालिका –४ काँडा कोट बस्ने वर्ष २१ को महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राष्ट्रिय अनुसन्धान कार्यालय गुल्मीको भवन निर्माण हुँदै

0

कार्तिक १८,२०८० गुल्मी:राष्ट्रिय अनुसन्धान कार्यालय गुल्मीको निर्माणाधिन भवनको शिलन्यास गरिएको छ ।

 

राष्ट्रिय अनुसन्धान कार्यालय लुम्बिनी प्रदेशका प्रमुख निर्देशक ओम बहादुर खड्काले भवनको शिलन्यास गरेका थिए । सोहि अवसरमा बोल्दै खड्काले भवनको अभावमा कार्यसम्पादनमा हुने थुप्रै अप्ठ्याराहरुको अनुभव व्यक्त गर्दै समयमै काम सम्पन्न गर्न निर्माण व्यावसायीलाई आग्रह गरे । साथै कामको गुणस्तरियतामा चनाखो बन्न जिल्ला कार्यालय प्रमुख र सरोकारवालााई अनुरोध गरे । त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले जग्गा प्राप्ती र प्राविधिक पक्षका बारेमा जानकारी गराउँदै समयमै काम गर्न निर्माण व्यावसायीको ध्यानाकर्षण गराए ।

 

 

शिलन्यास कार्यक्रममा राष्ट्रिय अनुसन्धान प्रदेश प्रमुख खड्का, जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी गैरै, प्रहरी प्रमुख नविन किशोर प्रधान लगायत सुरक्षा निकाय प्रमुख, रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि अर्याल लगायतको उपस्थिती रहेको थियो । जग्गा नहुँदा अहिलेसम्म कार्यालयको आफ्नो भवन थिएन् । पछिल्लो समय जिल्ला प्रशासन कार्यालयको कोठाहरुबाट राष्ट्रिय अनुसन्धान कार्यालय गुल्मीले कार्यसम्पादन गरिरहेको छ ।

 

जिल्ला प्रशासन कार्यालय गुल्मी राष्ट्रिय अनुसन्धान कार्यालयलाई ०७८ साल कार्तिकमा चार आना जग्गा प्राप्ती भएको थियो । सोहि जग्गामा भवन निर्माणको लागि ०८० जेठ २९ गते बोलपत्र आव्हान भएको राष्ट्रिय अनुसन्धान कार्यालय गुल्मीका कार्यालय प्रमुख बरिष्ठ अनुसन्धान अधिकृत बिनय चर्तुवेदीले जानकारी दिए ।

 

उनका अनुसार पाँच निर्माण कम्पनीहरुको प्रस्तावमध्ये २२ प्रतिशत घटि जोग्मा एण्ड डिएण्डीले दुई करोड तीन लाख ५९ हजार पाँच सय २० रुपैयाँमा भवन निर्माणको जिम्मा पाएका छन् । ढाइ तले कार्यालय प्रमुखको आवास, गार्डरुमसहित १४ कोठे भवन निर्माण हुने बरिष्ठ अनुसन्धान अधिकृत चर्तुवेदीले बताए ।

 

उनले जग्गा प्रदान गर्ने जिल्ला प्रशासन कार्यालय र जग्गा प्राप्तिका लागि सहजीकरण गर्ने सवैलाई आभार प्रकट गरे । कार्यक्रममा निर्माण व्यावसायीको तर्फबाट भोज प्रसाद श्रेष्ठले तोकिएको मापदण्ड अनुसार समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएका थिए ।

भूकम्पमा मृत्यु हुनेको संख्या १२९ पुग्यो, कम्तीमा ३५० घाइते

0

कात्तिक १८,२०८०काठमाडौं : जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १२९ पुगेको छ। ३५० भन्दा धेरै घाइते भएका छन्।

जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ जनाको मृत्यु भएको हो। जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार नलगाढ नगरपालिकामा सबैभन्दा धेरै ४७ जनाको मृत्यु भएको छ।

भेरी नगरपालिकामा ३१, कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा एक जनाको मृत्यु भएको जानकारी आएको उनले जानकारी दिए। अहिलेसम्म साढे २ सयभन्दा धेरै घाइते अस्पताल पुगेको अनुमान गरिएको उनको भनाए छ।

केही उपचारपछि डिस्चार्ज भएका, केहीलाई अस्पताल लगिँदै गरेको र विकट ठाउँका केहीलाई अस्पताल पुर्‍याउनै बाँकी रहेकाले यकिन तथ्यांक प्राप्त गर्न कठिनाइ भएको शर्माले बताए। राति सुतेका बेला भूकम्प आएकाले घर भत्किएका ठाउँमा परिवारका सबैजसो सदस्यको मृत्यु भएको पाएको उनले जानकारी दिए।

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा १९ र सानीभेरी गाउँपालिकामा ९ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिनुभयो। उहाँका अनुसार १५० जना घाइते भएका छन्।

तीमध्ये ८ जनालाई सुर्खेत पठाइएको छ भने अरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्रबिन्दु भएर ६।४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु बारेकोट गाउँपालिकामा भने मानवीय क्षति नभएको गाउँपालिका अध्यक्ष बीरबहादुर गिरीले जानकारी दिए। ​घरमा क्षति भए पनि मानवीय क्षति हुनबाट जोगिएको उनको भनाइ छ।

मध्यरातको भूकम्पपछि लगातार परकम्प गइरहेको छ। गएरातिदेखि अहिलेसम्म ४ रेक्टर माथिका ४ वटा परकम्प गइसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

मुख्यमन्त्री कोहलपुर गोल्डकपः ३—० ले पराजित गर्दै चर्च व्वाईज फाइलनमा प्रवेश

0
फाइल फोटो

कात्तिक १७,२०८० बाँके : ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ प्रतियोगितामा चर्च व्वाईज यूनाईटेडले (३—०) गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । तेस्रो दिनमा भएको खेलमा चर्च व्वाईज यूनाईटेडले गोर्खा व्वाईजलाई (३—०) ले पराजित गर्दै फाइनलमा पुगेको हो ।

चर्च व्वाईज यूनाईटेडका खेलाडी सुशान श्रेष्ठ (३६ मिनेट), विशाल बस्नेत (४७ मिनेट) र आरुज सिंह (७६ मिनेट) मा गोल गरेका थिए । चर्च व्वाईज क्लबका खेलाडी विशाल बस्नेतले म्यान अफद म्याज घोषित भएका थिए भने उनलाई नगद रु ५ हजार रकम उपलब्ध गराइएको खेल संयोजक रामबहादुर मल्लले जानकारी दिए ।

प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी ८ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए । प्याराफिटमा १ सय रुपैया लाग्नेछ भने ग्राउण्डमा ५० रुपैया लाग्ने अध्यक्ष क्षेत्रीले बताए ।
‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ का मुख्य प्रयोजक नेपाल टेलिकम दुरसञ्चार रहेको छ भने मिडिया पाट्नर ‘द काठमाण्डांै पोष्ट’ र कोहलपुर टुडे डटकम रहेको छ ।

भोली नेपाल आर्मी र विएफसी चितवनबीच प्रतिस्पर्धा हुने

कोहलपुर नगरपालिका २ तेह्र विगाहमा सञ्चालनमा रहेको ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ प्रतियोगितामा भोली (शनिबार) त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं र वि.एफ.सी. चितवन क्लब चितवन विच खेल हुने खेल संयोजक राम बहादुर मल्ले जानकारी दिए । प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।