Friday, June 5, 2026

प्रधानमन्त्रीले शनिबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्ने

0
फाइल फोटो

फागुन १९,२०८०काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार लुम्बिनी प्रदेश सभामा सम्बोधन गर्ने भएका छन्।

शुक्रबार शुरू भएको प्रदेश सभाको हिउँदे अधिवेशनअन्तर्गत शनिबारको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्रीले दिउँसो २ बजे सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

केही दिनअघि मुख्यमन्त्री डिल्लीबहादुर चौधरी काठमाडौँ आएका वेला प्रधानमन्त्रीले प्रदेश सभामा सम्बोधन गर्ने तय भएको थियो ।

 

लुम्बिनी प्रदेशसहितका प्रदेशमा आज सामान्यदेखि मध्यम वर्षाको सम्भावना

0

फागुन १९,२०८०काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भागमा शनिबार वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। कोशी तथाबागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहने महाशाखाले जनाएको छ। कोशी तथा बागमती प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम र प्रदेशसहित प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशका थोरै स्थानमा र देशका बाँकी पहाडी भूभागका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ।

यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिम, प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। बाँकी उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा पनि हल्का हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार राति देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेशका केही स्थान तथा बागमती र लुम्बिनी प्रदेशका पहाडी भागका थोरै स्थान तथा सुदूरपश्चिम, कर्णालीमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । बाँकी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

मगर दिवसमा शैक्षिक व्यक्तित्व थापासहित दुई डाक्टर सम्मानित

0

टोपलाल अर्याल
गुल्मी, १६ फागुन :गुल्मीमा ४२ औँ मगर संघ स्थापना एवं मगर एकता दिवसको अवसरमा तीन जना बिशेष व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।

 

नेपाल मगर महिला संघ गुल्मीले लामो समय शिक्षा क्षेत्रको विकास र सामाजिक क्षेत्रमा बिशेष योगदान पुराएका तिल बहादुर थापालाई सम्मान गरेको हो । सिद्ध बाबा मावि बिद्यालय व्यावस्थापन समिति अध्यक्ष समेत रहेका थापाले बिद्यालय स्थापनादेखि अहिलेको अवस्थासम्म ल्याउन ठुलो योगदान गरेका छन् ।

 

त्यस्तै गुल्मी अस्पताल तम्घासमा कार्यरत डाक्टर सोफिया थापा र गुल्मी मोडल अस्पताल एवं शुभलक्ष्मी क्लिनीकमा कार्यरत डाक्टर अमर पहराईलाई सम्मान गरिएको हो । यो बर्षको ४२ औँ मगर संघ स्थापना दिवस एवं मगर एकता दिवस मुल नारा ‘संस्कृति संरक्षण सम्बद्र्धनमा मगरहरूको मूलतन्त्र, मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने थियो ।

 

सदरमुकाम तम्घासमा आयोजना गरिएको नगर स्तरिय कार्यक्रममा मगर परिकारहरु बिरम्ला, हुरहुरे जाँड, सुँगुरको मासु, ढीडो, कोदोको रक्सी, सिस्नो, बटुक रोटी, सेलरोटी, आलुको अचार, कोदोको रोटी, मकैको आटो, फापरको फुरौला, कुखुराको मासु प्रर्दशनीमा राखिएको थियो । त्यस्तै धुर्कोट गाउँपालिका –१ स्थित जनजाती नौमती बाजा महिला समुहले नौमती बाजा, रेसुंगा नगरपालिका–११ को प्रख्यात कालिका नाँच, सोरठी, लाखे लगायत मगर संकृति झल्किने नृत्यहरु प्रस्तुत भएका थिए ।

 

नेपाल मगर महिला संघ गुल्मीका अध्यक्ष सीता थापाको अध्यक्षता रहेको कार्यक्रममा पुर्व संविधानसभा सदस्य दिलशोभा पुनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रेसुंगा नगरपालिका वडा नं ८ का वडाध्यक्ष निरञ्जन थापा, मगर संघका नेताहरु श्रीप्रसाद भलामी, रनमाया पुन, बालसिंह काउछा, अधिवक्ता बिष्णु बलाल, रेसुंगा नगरपालिकाका सामाजिक विकास समिति संयोजक लिलाधर आचार्य, उपप्रमुख अमृता देवि कुवंर र प्रमुख अतिथि पुनले आफ्नो भनाई राखेका थिए ।

 

साथै कार्यक्रममा गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरे लगायत सुरक्षा निकायका प्रमुखहरु, विभिन्न वडाका प्रतिनिधिहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

 

कार्यक्रमको सञ्चालन शारदा मगर नेतृहरु मिना घर्ती र शारदा भलामीले गरेका थिए । मगर संघले दिवसकै पुर्व सन्ध्यामा बिहान गुल्मी अस्पताल तम्घासका बिरामीहरुलाई फलफुल वितरण गरेको थियो ।

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृति दिवस : फरक क्षमता भएका बिद्यार्थीको साथमा

0

फागुन १४,२०८० गुल्मीः जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा फरक क्षमता भएका विध्यार्थीहरूलाई शैक्षिक सामग्री र चुलो प्रदान गरिएको छ ।
दिवसको अवसरमा अनेरास्ववियु (क्रान्तिकारी) गुल्मी र प्रेस सेन्टर गुल्मीले रेसुङ्गा नगरपालिका –९ स्थित उपल्लो तम्घास माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई चुलो र शैक्षिक सामग्री प्रदान गरेको हो ।

माओवादी केन्द्रनिकट दुई संगठनले विध्यालयका ३० जना अपांगता एवं बहिरा विध्यार्थीहरूलाई १५ दर्जन कापि, पेन्सिल, कलम र एक थान चुलो वितरण गरेका हुन् । ०५२ साल फागुन १ गतेदेखि तत्कालिन माओवादीले सुरू गरेको जनयुद्धको क्रममा फागुन १४ गते गोरखाका दिल बहादुर रम्तेलले ज्यान गुमाएका थिए । उनैको स्मृतिमा माओवादीले प्रत्येक बर्ष फागुन १४ गते दिल बहादुर रम्तेल स्मृति दिवस मनाउने गर्दछ ।

ज्यान गुमाएका रम्तेललाई माओवादीले तत्कालै जनयुद्धका प्रथम सहिद भनी घोषणा गरेको थियो । उपल्लो तम्घास माविमा आवासीय विध्यार्थीहरूको लागि पकाउन सहज होस् भनेर चुलो र अध्ययनको लागि शैक्षिक सामग्री प्रदान गरिएको अखिल क्रान्तिकारी गुल्मीका इन्चार्ज भरत चन्दले जानकारी दिए ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य वीर बहादुर कार्कीले शैक्षिक सामग्री प्रदान गर्ने संगठनलाई धन्यवाद दिदैँ माओवादीले देशमा ल्याएको परिवर्तनबारे प्रकाश पारेका थिए । त्यसैगरी विध्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष लालमणी आचार्य र प्रधानाध्यापक मधुप्रसाद गौतमले विध्यायमा सहयोग गर्ने दुवै संगठनलाई धन्यवाद दिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य गीता थापा, लुम्बिनी परिषद् सदस्य घनश्याम पाण्डे, दलित मुक्ती मोर्चा गुल्मीका अध्यक्ष राजु विक, नेकपा माओवादी केन्द्र रेसुङ्गा नगरकमिटी उपाध्यक्ष पदम खत्री, लगायत नेकपा माओवादी केन्द्र, प्रेस सेन्टर, अखिल (क्रान्तिकारी) लगायतका विभिन्न कमिटीमा आवद्ध पदाधिकारी एवं सदस्यहरु, विद्यालयका शिक्षक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

प्रेस सेन्टर गुल्मीका अध्यक्ष तिलाचन पाण्डेले रम्तेलको स्मृति दिवसमा रचनात्मक कार्य गरिएको बताए । पाण्डेले आगामी दिहरुमा पनि यस्तै कार्यहरु गर्दै जाने र संगठनलाई चलायमान बनाउँदै लैजाने दाबी गरे ।
कार्यक्रम पाण्डेको अध्यक्षता, अखिल क्रान्तिकारी गुल्मीका अध्यक्ष राजन पोखरेलको स्वागत मन्तव्य एवं प्रेस सेन्टर गुल्मीका सचिव हुमाकान्त पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।

सन्तान नभएपछि शिशु चोरी भएको प्रारम्भिक रहस्य खुल्यो

0

फागुन १२,२०८०काठमाडौं : थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरी गर्ने महिलासहित तीनजना पक्राउ परेका छन्।

बच्चा चोरीको आरोपमा दैलेख घर भएकी काठमाडौंको काँडाघारी बस्ने २४ वर्षीया मनकुमारी सिंह पक्राउ परेकी हुन्। उनका श्रीमान् र आफन्त एकजना पनि पक्राउ परेका छन्।

उनीहरूलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई गएराति काँडाघारीबाट पक्राउ गरेको हो। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार विवाह गरेको लामो समयसम्म सन्तान नभएपछि मनकुमारीले शिशु चोरी गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

उद्धार गरिएको शिशुलाई अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा राखिएको छ।

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार दिउँसो प्रसूति गृहबाट आफ्नो २६ दिनको शिशु चोरी भएको भन्दै सूचना दिएपछि प्रहरीले खोजी शुरु गरेको थियो।

प्रहरीले सीसीटीभी फुटेजका आधारमा पछ्याउँदै काँडाघारीमा मनकुमारीलाई शिशुसहित फेला पारेको हो।

कालीगण्डकी करिडोर खुलाउन एक साता लाग्ने

0

फागुन १२,२०८० बागलुङ : सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ(गुल्मी सडकखण्ड अवरुद्ध भएको छ। बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका(८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको हो।

पहिरोले बागलुङ(गृल्मीखण्डअन्तर्गत मालढुङ्गा(अर्वेनी सडक पूर्णरूपमा अवरुद्ध भएको छ। बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ। काम चलिरहेकै बेला गए राति पहिरो खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले जानकारी दिनुभयो।

‘दुवैतर्फ डोजर लगाउँदा पनि पहिरो पन्छाउन कम्तीमा एक साता लाग्ने र ढुङ्गा खसिरहेकाले पन्छाउने काम गर्न नसकिएको उहाँले बताउनुभयो। पहिरोको विषयमा कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पालाई जानकारी गराएको उहाँको भनाई छ ।

सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन्। सदरमुकाम बागलुङ बजार, जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवललगायतका ठाउँमा चल्ने सवारीसाधन बाटोमै रोकिएका छन्। भिरालो जमिन रहेको यो स्थानमा वेलावेला सुक्खा पहिरो गइरहन्छ।

गुल्मीमा नियम विपरीत चलेका दुई एग्रोभेट सिल

0

फागुन ६,२०८० गुल्मीः  गुल्मीमा नियमविपरीत सञ्चालनमा रहेका दुई एग्रोभेट पसललाई जिल्ला प्रशासन कार्यालय गुल्मीले सिल गरेको छ ।

आइतबार जिल्लाको सदरमुकाम तम्घासमा रहेका दुर्गा एग्रोभेट सेन्टर र मुसिकोट एग्रोभेट सेन्टरलाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए ।

 

औषधी व्यवस्था विभागले दुवै एग्रोभेट सेन्टरको अनुगमन गरेको र इजाजत पत्र लिन अनुरोध गरेको तर सञ्ंचालकले अटेरी गरेपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले सिल गरेको टोलीका नेतृत्वकर्ता दिनेश ज्ञवालीले बताए । जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत दिनेश ज्ञवालीको नेतृत्वमा खटिएको टोलीले एग्रोभेट सेन्टर सिल गरेको हो ।

 

रेसुंगा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष हीराबहादुर थापा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, प्रहरी र पत्रकार समेतको उपस्थितीमा एग्रोभेट सेन्टर सिल गरेको हो । एग्रोभेट सेन्टरको थप अनुसन्धानपछि थप निर्णय हुने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

स्वयंसेवी रक्तदाता समाज गुल्मीको अध्यक्षमा पाण्डे निर्वाचित

0

अनिल खत्री
फागुन ६,२०८०गुल्मी : नेपाल रक्तदाता स्वयंसेवी समाज जिल्ला शाखा गुल्मीको अध्यक्षमा भेषराज पाण्डे निर्वाचित भएका छन् । शनिवार जिल्ला सदरमुकाम तम्घासमा सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो जिल्ला अधिवेशनबाट पाण्डेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा कृष्णप्रसाद पाण्डे, सचिवमा बीरबहादुर कार्की, कोषाध्यक्षम विष्णुप्रसाद अधिकारी रहेका छन् । त्यस्तै सदस्यहरुमा देवरीराम पाण्डे, ढुण्डीराज पन्थी, झविलाल पाण्डे, जयप्रकाश भट्टराई, निर्मला पोखरेल, केशव अधिकारी र श्यम पन्थी रहेका छन् ।

ब्लड बैंक नभएको गुल्मीमा रगत अभावको परिपुर्ति नेपाल रक्तदाता स्वयंसेवी समाज गुल्मीले काम गर्दै आएको छ । नेपाल रक्तदाता स्वयंसेवी समाज जिल्ला शाखा गुल्मी २०७६ मा ३६ जना सदस्यबाट सुरु भएको थियो ।

हाल एक सय २० जना आजिवन सदस्य रहेको यस संस्थाले सहयोगी संस्थाको सहकार्यमा गुल्मीमा रगत अभावको परिपुर्ति गर्दै आएको छ ।

शनिबार तेस्रो साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशनको अवसरमा ब्लड बैंकको काम गरिरहेको संस्थाको विभिन्न सामाजिक संघसंस्थाले प्रशंसा गरेका थिए । कार्यक्रमको उद्धाटन सत्रमा नेपाल रक्तदाता स्वयंसेवी समाज नेपालका केन्द्रीय महासचिव कृष्ण चौहानले गुल्मी जिल्ला शाखाले गरिरहेको समाजिक कर्मको खुलेर प्रशंसा गर्नुभयो ।

उहाँले रगत अभावमा कुनै बिरामीको ज्यान नजायोस् भन्ने हेतुले गठित संस्थाले निःशुल्क रुपमा काम गर्दै आइरहेको बताउनुभयो । संस्थाले जिल्ला प्रहरी कार्यालय गुल्मी, सशस्त्र प्रहरी बल गुल्मी, संग्राम सार्दुल गुल्मी गुल्मी, नेपाल रेडकक्रस सोसाइटी, संचार माध्यम र अन्य क्रियाशील सामाजिक संघसंस्थाको सहयोगमा गुल्मी अस्पतालमा बिरामीलाई आवश्यक पर्ने रगतको व्यवस्था गर्दै आएको नेपाल रक्तदाता स्वयंसेवी समाज जिल्ला शाखा गुल्मीका संस्थापक अध्यक्ष नमाराज मरासिनीले बताउनुभयो ।

यसरी सामाजिक सेवा गर्दै आइरहको संथाको गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले शुभकामना ब्यक्त गर्नुभयो । उहाँले सबैको साझा सहयोगले मानव बचाउने कार्यमा हातेमालो गरेर अगाडी बढने उद्घोष गर्नुभयो ।

जिल्ला समन्वय समिति गुल्मीको एक कोठामा कार्यालय संचालन गर्दै आएको छ । नेपाल रक्तदाता स्वयंसेवी समाज नेपाल जिल्ला शाखा गुल्मीले आफूले रगत अभाव हुन नदिएपनि जिल्लामा ब्लड बैंक आवश्यक पर्ने मरासिनीले बताउनुभयो ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले संस्थाले आवश्यक गरेबमोजिम रगत थप आवश्यक पर्ने भएमा त्यसतर्फ छलफल गरेर अगाडी बढ्ने धारणा ब्यक्त गर्नुभयो । संस्थाले गुल्मीमा गत साउनदेखि यता १८० पोका रगत संकलन गरी गुल्मी अस्पतालमा खपत गरेको छ ।

जिल्लाबाट ३०० पोका रगत संकलन गरेर बुटवल पठाएको संस्थाका संस्थापक अध्यक्ष मरासिनीको भनाइ छ ।

नागरिकता बनाउन झुटो विवरण दिनेलाई ५० हजार जरिवाना

0

फागुन ५,२०८०इलाम : नागरिकता प्रमाणपत्र बनाउन झुटो विवरण दिने इलामका दुई जनालाई ५० हजारका दरले जरिवाना फैसला भएको छ ।

इलाम जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सूर्योदय नगरपालिका(५ का ५० वर्षीय भुवनसिंह गजमेर र २२ वर्षीय चेतन गजमेरलाई बिहीबार यो फैसला सुनाएको अदालतले जनाएको छ।

 

भुवनसिंहले भतिजो चेतनलाई ‘आफ्नै छोरो हो भन्दै झुटो विवरण दिइ नागरिकता बनाउन प्रयास गरेका थिए।

जन्मदर्ताका आधारमा चेतन भुवनसिंहको छोरो हो भनी सनाखत गर्ने स्थानीय लीला विश्वकर्मा, शिरबहादुर कामी, कुमारी तामाङ, ललिता विश्वकर्मा र चन्द्रबहादुर घलेले सफाइ पाएका छन्।

 

पृथ्वी माबिमा चार लाखको अक्षयकोष स्थापना

0

सूर्य सुनार
फागुन ५, २०८०गुल्मी : गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ मा अवस्थित पृथ्वी माध्यामिक विद्यालयमा ओमबहादुर थापाले चार लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । स्वर्गीय बुवा इन्द्रबहादुर थापाको स्मृतीमा अक्षयकोष स्थापना गर्नुभएको हो ।

मुसिकोट नगरपालिका ३ मैदान जन्म घर भई हाल वेल्जीयम कर्म स्थान गराउनुभएका विद्यालयका पूर्व विद्यार्थी ओमबहादुर थापाले अक्षयकोष स्थापना गर्नुभएको विद्यालयका प्रधानाध्यपक चन्द्रबहादुर पाण्डेले जानकारी दिनुभयो ।

थापाले स्थापना गरेको अक्षयकोष संचालन निर्देशिका अनुसार अक्षयकोष राष्ट्रिय वाणिज्य बैंकमा मुद्धति खातामा राखी वार्षिक आउने ब्याजको ८० प्रतिशत रकमबाट उत्कृष्ट हुने विद्यार्थीलाई प्रोत्साहन रकम उपलब्ध गरिने र २० प्रतिशत रकमबाट सोको व्यवस्थापनका लागि प्रयोग गर्ने प्रधानाध्यापक पाण्डेले बताउनुभयो ।

पृथ्वी माध्यामिक विद्यालयमा बुवा तथा थापा परिवारको शिक्षा प्रतिको मोह तथा शिक्षा क्षेत्रमा प्रेरित गर्ने गरेको सम्झनामा विद्यालयमा चार लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको ओमबहादुर थापाले बताउनुभयो । कक्षा आठ सम्म आफूले पनि सोही विद्यालयमा पढेका र पृथ्वी माध्यामिक विद्यालयमा थापा परिवारको सुरुवात देखी नै नजिकको सम्बन्ध रहेको समेत उहाँको भनाई छ ।
आफूले अध्ययन गरेको विद्यालयमा अक्षयकोष स्थापना गरी विपन्न, गरिब अभिभावक विहिन बालबालिकाहरुको साहरा बन्न पाउँदा धेरै खुशी लागेको  बताउनुभयो।

शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि गरिब, विपन्न, जेहेन्दार विद्यार्थीलाई प्रोत्साहित गर्न जरुरी भएको र त्यसका लागि कोषले महत्त्वपूर्ण भूमिका खेलेको प्रधानाध्यपक पाण्डेको भनाइ छ ।

अक्षयकोषबाट आउने व्याजबाट बार्षिक १० जना भन्दा बढि गरिब, विपन्न वा अभिभावक विहिन परिवारका विद्यार्थी लाभावित हुने विद्यालयका प्रधानाध्यपक पाण्डेले बताउनुभयो ।