
फागुन १२,२०८०काठमाडौं : थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरी गर्ने महिलासहित तीनजना पक्राउ परेका छन्।
बच्चा चोरीको आरोपमा दैलेख घर भएकी काठमाडौंको काँडाघारी बस्ने २४ वर्षीया मनकुमारी सिंह पक्राउ परेकी हुन्। उनका श्रीमान् र आफन्त एकजना पनि पक्राउ परेका छन्।
उनीहरूलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई गएराति काँडाघारीबाट पक्राउ गरेको हो। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार विवाह गरेको लामो समयसम्म सन्तान नभएपछि मनकुमारीले शिशु चोरी गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

उद्धार गरिएको शिशुलाई अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा राखिएको छ।
काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार दिउँसो प्रसूति गृहबाट आफ्नो २६ दिनको शिशु चोरी भएको भन्दै सूचना दिएपछि प्रहरीले खोजी शुरु गरेको थियो।
प्रहरीले सीसीटीभी फुटेजका आधारमा पछ्याउँदै काँडाघारीमा मनकुमारीलाई शिशुसहित फेला पारेको हो।






